नेपाली सेयर बजारमा लगभग दुई हप्ताको अवधिमा नै एक सय २० अङ्कभन्दा माथिको उछाल आएको अवस्था छ। बजार एक्कासि बढ्नुलाई केहीले स्वाभाविक र केहीले ठूला लगानीकर्ताको चलखेलको संज्ञा दिएका छन्। वर्तमान सेयर बजारको गति र त्यसमा हुने कारोबारको अवस्थालाई हेर्दा बजारलाई ठूला लगानीकर्ताले आˆनो वशमा पार्न सक्ने वा चलखेल गर्न सक्ने सम्भावना निकै न्यून छ। हालको बजार बढ्नुको मुख्य कारण नै शान्ति प्रक्रियाको मुख्य अवरोधको रूपमा रहँदै आएको सेना समायोजनमा भएको प्रगति र हाल मुलुकले नयाँ लोकतान्त्रिक संविधान पाउने कुराको सुनिश्चितताको संकेत नै प्रमुख हो। हालको बजार बढोत्तरीमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका संस्थाको आर्थिक स्वास्थ्यसँग खासै सम्बन्ध रहेको देखिँदैन। विशेष गरी बैङ्क तथा वित्तीय संस्थाको सेयरको बजारमूल्यमा एकाएक बढोत्तरी हुनु र हाल आएर बिमा समूहको सेयरमा समेत बढती हुनमा संस्थाहरूको आर्थिक प्रगतिले भूमिका खेलेको छैन भन्ने कुराको उदाहरण संस्थाहरूले प्रकाशित गरेको त्रैमासिक विवरणहरूले स्पस्ट गरेको छ। कतिपय बैङ्क तथा वित्तीय संस्थाको प्रकाशित आर्थिक वर्ष ०६८-६९ को प्रथम नौ महिनाको प्रगति विवरणमा गत वर्षको भन्दा खुद मुनाफा कम भेटिनु र चुक्ता पुँजी भने गत वर्षको नाफाबाट बोनस सेयर तथा हकप्रद सेयर वितरण गरेकोले बढेका पाइनुले समग्रमा प्रतिसेयर आम्दानी -इपीएस) निकै कम भएको पाइएको छ।
यस्तो अवस्थामा त्यस्ता कम्पनीको सेयर मूल्यमा भने करिब ३५ देखि ६० प्रतिशतसम्मको बढोत्तरी भएको पाइएको छ। सेयर बजारमा कुनै निश्चित कम्पनीको सेयरमा भएको लगानीको प्रतिफललाई हाल प्रचलित बैङ्क ब्याजदरसँग दाँजेर हेर्ने कुरा नेपाली लगानीकर्तामा ज्यादै पाइन्छ । तर बजारमा बैङ्कका प्रचलित ब्याजदरको झण्डै आधा अर्थात् पाँच-छ प्रतिशतको मात्र प्रतिफल सुनिश्चित भएको अवस्थामा पनि सेयर बजारमा राम्रो कम्पनीमा लगानी गर्दा उपयुक्त ठहरिन्छ। सेयर बजारमा पैसा लगाउने भन्ने कुरा निश्चित दरको ब्याज प्राप्त गर्न मात्र नभएर पुँजीगत लाभ हासिल गर्नु नै प्रमुख कुरा भएकोले पनि बैङ्कमा जम्मा रकम सेयर बजारमा लगानी गर्न धेरैले रुचाउने हो।
नेप्सेमा हाल भएको कारोबारमा भएको बढोत्तरीको सकारात्मक पक्ष भनेको चाहिँ एकै दिनमा २७ करोडभन्दा बढीसम्मको पनि कारोबार सम्भव हुनु त्यसमा पनि ठूला लगानीकर्ताले एकै पटक ठूलो मात्रामा सेयर खरिद गरेको नभेटिनु नै हो। नेप्सेमा लगातार बढोत्तरी पश्चात् सोमबारको कारोबारमा भने नेप्सेमा १८ दशमलब २६ अङ्कको गिरावट सहित नेप्से पुनः चारसय चारको नजिक पुगेको छ। नेप्सेमा सोमबार गिरावट देखिए पनि कारोबार भने दश करोडभन्दा बढी हुनलाई भने सकारात्मक रूपमा लिन सकिन्छ जसले बजार अझ धेरै गिर्नबाट रोक्न मद्दत पुग्नसक्छ। स-सान लगानीकर्ताले बढ्दो सेयर बजारमा खरिद गरेको सेयर उसले आफूले खरिद गरेको मूल्यभन्दा तल झरेर बेच्न नचाहने निश्चित भएकाले पनि बजार चारसय पचासको अङ्कभन्दा बढ्न नसके पनि धेरै घटेर पुनः पुरानो न्यून बिन्दुमा पुग्ने सम्भावना कम देखिएको छ। बजार घट्न नदिन हालको मूल्यमा सेयर खरिद गरेको लगानीकर्ताको भूमिका प्रमुख रहने निश्चित छ।
हालै मात्र नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका तथ्याङ्कमा ४१ अर्बको बचत लगायत समग्र मुलुकको आर्थिक परिसूचकाङ्कलाई हेर्ने हो भने सकारात्मक देखिएको र त्यसको अनुपातमा सेयर बजार ज्यादै न्यून बिन्दुमा पुगेको विश्लेषण केही अर्थविद्हरूले गर्दै आएको सन्दर्भमा भने चार सय पचाससम्मको नेप्सेलाई सकारात्मक नै मान्न सकिन्छ। त्यसै गरी सेयर बजारमा सुधारका लागि सरकारले विभिन्न मितिमा चालेको कदमको सही परिणाम बजारमा देखिन थालेको दाबी पनि गरिएको छ। सेयर बजारको आगामी दिनको दिशा भने मुलुकको राजनीतिले कस्तो मोड लिने हो त्यस विषयले भूमिका खेल्ने देखिन्छ। राजनीतिक अस्थिरताको अन्त्यतिर मुलुक जाने हो भने लगानीकर्ता केही समय प्रतिफल न्यून लिएरै भए पनि २०७० देखि ७२ भित्रमा नेप्से पुनः बुलिस हुन्छ भन्ने आशामा लगानी गर्न तयार देखिएका छन् तर राजनीतिक अस्थिरता कायमै रहेको अवस्थामा भने लगानीकर्ता बजारमा अब धेरै पैसा खन्याउन तयार नहुने निश्चित छ। राजनीतिक अस्थिरताकै बीचमा पनि नयाँ संविधान मुलुकले पाउने अवस्थामा भने त्यसमा जनताको समर्थन र विरोधको स्तर हेरेर बजारले आˆनो गति लिने देखिन्छ। सेयर बजारमा अहिले लगानी गर्ने वा हाल बढेको मूल्यमा सेयर बेच्ने भन्ने कुरा चाहिँ निकै महìवपूर्ण र अनुमान गर्न गार्हो विषय हो। बजार बढ्ने क्रमसँगै कतिपय लगानीकर्ताले सस्तोमा खरिद गरेर छोटो समयमा नै राम्रो मुनाफा हासिल गर्न सफल भएका छन् भने कतिपय लगानीकर्ता बजार अबका दिनमा उकालो लाग्छ भन्ने आशामा अझै लगानी गर्दैछन्। सेयर बजारका लगानीकर्ताले सुझाव र सल्लाह अरुबाट लिने गरे पनि आˆनो घाटा वा नाफाको अवस्था हेरेर अन्तिम र छिटो निर्णय भने आफै लिनु बेस हुन्छ। á