मिथिला राज्य सङ्घर्ष समितिको आहृवानमा शान्तिपूर्ण धर्नामा बसेकाहरूलाई लक्षित गरी जनकपुरको रामानन्द चोकमा सोमबार भएको बम विस्फोटमा चारजनाको मृत्यु भइस्ाकेको छ। झन्डै डेढ दर्जन घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्त चिन्ताजनक छ। यो विस्फोट मानवता र विचारविरोधी हो। लोकतन्त्रमा अरूका विचारसँग असहमति रहे पनि ती विचारलाई सम्मान गर्नुपर्दछ। तर असहमति भए पनि असहमति पोख्न यो तरिका कदापि मान्य हुन सक्दैन। मुलुकमा राज्यको पुनःसंरचना र शासकीयस्वरूपजस्ता नयाँ दिशाको खोजीमा भएकाले, "वादेवादे जायते तìववोध" अर्थात् निष्कर्ष आउनुअघि हुने वादविवादलाई स्वाभाविक रूपमा लिन नसक्ने आतङ्ककारी मानसिकताका दासहरूले गराएको यस्तो विस्फोटलाई राजनीतिको कुनै पनि रङ दिइनु हुँदैन। यो विशुद्ध आतङ्ककारी गतिविधि र कायरता हो। अपराधबाट बच्न कोही कसैले यस्ता घटनालाई राजनीतिक माग र दृष्टिकोणसँग जोडेर उन्मुक्तिको खेती गर्न सक्दछन्। यसको सर्वत्र विरोध र प्रतिकार गरेर मुलुकले लिन चाहेको अग्रगमनको मार्गप्रशस्त गर्न सबै राजनीतिक शक्तिहरू एकै ठाँउमा उभिएर अपराधलाई पराजित गर्नुपर्दछ। केही महिनायता गृह प्रशासन र शान्ति सुरक्षाको स्थिति निकै कमजोर देखिएको छ। बम राखिएको मोटरसाइकल धर्नाकारीको नजिकै राखिनु सुरक्षात्मक दृष्टिले संवेदनशील कुरा हो। सुरक्षा संयन्त्र सचेत हुन सकेको भए ठूलो मानवीय क्षति नहुन सक्दथ्ाो। केही समयअघि काठमाडौको बबरमहलमा भएको विस्फोटमा पनि सुरुमा मोटरसाइकल प्रयोग गरिएको आशङ्का सन्दर्भलाई हेर्ने हो भने यसपटक जनकपुरको धर्ना नजिक मोटरसाइकल अनावश्यक रोकाइलाई विशेष ध्यान दिइनु सुरक्षात्मक चातुर्य हुनसक्दथ्यो।
शान्तिपूर्ण भेला जुलुस गर्न पाउनु नैसर्गिक मानवअधिकार भएकाले उनीहरूलाई गृह प्रशासनले सुरक्षा दिनै पर्दछ। साथै, अबका दिनमा आयोजकहरूले पनि सुरक्षाका लागि विशेष ध्यान दिनुपर्दछ भन्ने पाठ जनकपुर घटनाले दिएको छ। जनकपुरमा विस्फोट भएपछि काठमाडौको सुरक्षामा कडाइ अपनाइएको छ भन्ने समाचार प्रवाहित गरेर घटनालाई सामान्यकृत गर्नु हुँदैन तर नेपाली गृह प्रशासन भने सुरक्षा रणनीतिलाई पनि यदाकदा "समाचार" बनाएर काम गरेको देखिन्छ। सुरक्षा निकायले यस्ता दुःखदायी घटनाहरूबाट पाठ लिनुपर्ने हुन्छ, जसको कमी जनकपुरमा देखियो।
नेपालमा सङ्घीयतालाई विकासको पूर्वाधार वा बाहकभन्दा पनि हारजितको राजनीतिसँग गाँसिएकोले सङ्घीयतामा आफ्नो स्थान र हैसियत के हुने भन्ने चिन्ता मुलुकवासीमा छ। नयाँ राजनीतिक अभ्यासको तयारीमा लागिरहँदा यस्ता विवाद र बहसलाई आधार बनाएर अपराधीहरूले परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरिरहेका हुन सक्दछन्। सङ्घीयता र गणतन्त्रजस्ता परिवतर्नललाई स्वाभाविक रूपमा नलिएका र आफ्ना बाहेक अरूको अस्तित्व नस्वीकार्ने मानसिकताले पनि यी र यस्ता घटना हुनसक्नेमा होसियारी अपनाउनु पर्दछ। जनतान्त्रिक तराई मुक्ति मोर्चाले राजन समूहले घटनाको जिम्मा लिएर तराई घटनालाई "मुक्ति" सँग जोड्ने प्रयास गरेका छन् यद्यपि अन्य समूहले पनि पहिचानका लागि यस्ता घटना गराएको दाबी गर्ने गर्दछन्। सत्य के हो छानबिनपछि मात्र स्पष्ट हुनेछ तर हाम्रा यस्तै माग र दृष्टिकोणमा आपराधिक गतिविधि गर्न रुचाउनेहरूले खेल्न सक्दछन् भन्नेमा राजनीतिक वृत्त पनि चनाखो हुनुपर्दछ। यद्यपि यो दर्दनाक घटनामा सबै राजनीतिक दल एकजुट भएर यस कुकृत्यको कडा शब्दमा निन्दा गरेका छन्। तापनि यस्ता घटनालाई निरुत्साहित पार्न गृह प्रशासनका साथै राजनीतिक वृत्त पनि उत्तिकै जिम्मेवार र संवेदनशील हुनुपर्दछ। विस्फोटले निर्दोष नागरिकको ज्यान लिएको छ भने मिथिलाको सहिष्णुतावादी संस्कृति र सभ्यतालाई आहत र आतङ्कित पार्न खोजेको छ। निधन भएकाहरूको परिवारको भरणपोषण र घाइतेको उपचारमा सरकारले प्रभावकारिता देखाओस् र भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर कडा सुरक्षात्मक र राजनीतिक प्रयास तीव्र गर्नुपर्ने आवश्यकता बोध गरोस्।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्र पङ्क्तिमा रहेको मिथिला र गौरवमय मैथिल बलिदानीहरूलाई यस्ता कायर घटनाले दिग्भ्रमित गर्न सक्दैन। मिथिलावासीले संयम र धैर्य गुमाउने छैनन्। मुलुकलाई अग्रगमन दिन यो शोकलाई शक्तिमा बदल्ने छन्।