काठमाडौँ, वैशाख २० गते। ठूलो अन्योल र तनावबीच अन्ततः प्रमुख तीन दलसहित संयुक्त मधेसी मोर्चाको बैठकले संविधान निर्माणका विवादित विषयलाई टुङ्ग्ाोमा पुर्याउने सहमति गरेको छ। सहमति अनुसार सम्भवतः बिहीबार नै प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने र विवादित विषयलाई केही दिनभित्रै टुङ्ग्याइने छ।
बुधबार बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको प्रमुख राजनीतिक दलहरूको बैठकले प्रधानमन्त्री भट्टराईको नेतृत्वमै नेपाली काँगेस, नेकपा -एमाले) लगायतका दललाई समेटेर राष्ट्रिय सहमतिको सरकार गठन
गर्ने निर्णय गरेको जनाइएको छ।
"सम्भवतः भोलि नै राष्ट्रिय सहमतिको सरकार बन्छ" बैठकपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो- भोलि दिउँसोको बैठकमा आज भएको सहमतिमा हस्ताक्षर हुन्छ। यद्यपि, विवादित विषयमा कसरी सहमति गरिएको छ भन्ने विषयमा भने स्पष्ट पारिएको छैन।
एकीकृत माओवादीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'का अनुसार जेठ १४ सम्म भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार रहने र उक्त सरकारले संविधान जारी गरेपछि काँग्रेसको नेतृत्वमा पुनः अर्काे राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय भएको छ।
"भोलि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र एक-दुई दिनभित्र विवादित विषयमा सहमति गर्ने निर्णय भएको छ" गोरखापत्रसँग कुराकानी गर्दै उपप्रधानमन्त्री प्रकाशले भन्नुभयो- जेठ १४ भित्रै संविधान जारी गर्ने र त्यसपछि बन्ने सरकारले निर्वाचन गराउने दलहरूबीच सहमति भएको छ। यसको ठोस निर्णय भने बिहीबार १ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ। दलहरूबीच तत्काल नयाँ सरकार गठन गर्ने सहमति जुटे पनि मन्त्रालय बाँडफाँट टुङ्गिन बाँकी नै छ। शीर्ष नेताबीच छलफल गरेर यस विषयमा निष्कर्षमा पुग्ने बताइएको छ। नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले पनि दलहरूबीच अहिलेसम्म भएका छलफलमध्ये बुधबारको बैठक हालसम्मकै सकारात्मक रहेको बताउनुभएको छ।
"हात्तीवनको बैठकपछि आजको बैठक सबैभन्दा सकारात्मक भयो", बैठकमा संविधान निर्माणका मूलभूत मुद्दामा सहमति गरेर अगाडि बढ्ने निर्णय भएको जानकारी गराउँदै सिटौलाले भन्नुभयो -अब दलहरूबीच कुनै शङ्का उपशङ्का छैन, गत कात्तिक १४ मा भएको सातबुँदे सहमति जस्तै यो पनि ऐतिहासिक बनेको छ।
संविधान निर्माणको समयसीमा नजिकिँदै गएपछि प्रमुख राजनीतिक दलहरूबीच निकै तीव्र गतिमा छलफल र बैठक जारी रहे पनि सहमति जुट्न सकेको थिएन। यद्यपि पछिल्लो समयमा आएर दलहरूले आ-आˆना अडानमा केही लचकता अपनाउने गरी सहमति भएको स्रोतको दाबी छ। विभिन्न चरणमा करिब तीन घण्टा चलेको बुधबारको बैठकमा पहिले काँग्रेस-एमाले बसेका थिए। त्यसपछि ती दुई दलसँग माओवादीको अलग्गै बैठक भयो। त्यसपछि तीन प्रमुख दलबीचको बैठक सकिएपछि संयुक्त मोर्चासहितको बैठक बस्यो। सहमति अनुसार प्रधानमन्त्री भट्टराईले बिहीबार वर्तमान मन्त्रिपरिषद् आˆनै नेतृत्वमा पुनः गठन गर्नुहुने बताइएको छ।