|
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको देख्नु भएको सत्ता -राष्ट्र) लाई खण्डखण्ड गरिएपछिको कुरूपतातिर हाम्रो यात्रा बढ्दैछ जसमा जातीय र क्षेत्रीय द्वन्द्वको छनक देखिन थालेको छ। मिथिला राज्य सङ्घर्ष समितिको आहृवानमा शान्तिपूर्ण धर्नामा बसेकाहरूलाई लक्षित गरी जनकपुरको रामानन्द चोकमा यसै हप्ता सोमबार गरिएको बम विस्फोटमा चारजनाको मृत्यु भइस्ाकेको छ। सहिद वर्गीकरणको सूचीमा सम्भवतः उहाँहरू 'प्रथम सङ्घीय' सहिद हुनुहुनेछ। यो लेख तयार गर्दासम्म झण्डै डेढ दर्जन घाइतेमध्ये दुईजनाको अवस्था अत्यन्त चिन्ताजनक भएकाले सहिदको सङ्ख्या थपिनेछ। मिथिला विरोधीहरूको यस्तो उद्दण्डताको जति विरोध गरे पनि पुग्दैन। उता अखण्ड सुदूरपश्चिमको माग गर्दै भएको त्यस क्षेत्रको आमहड्ताल झण्डै एक हप्तासम्म पनि टुङ्गिएको छैन। अखण्ड सुदूरपश्चिमलाई टुक्र्याएर छुट्टै थरुहट राज्य हुनुपर्ने माग पनि छँदैछ। विभिन्न जातीय सङ्गठन, सरकारमा सहभागी दल र तिनका नेता आ-आफ्ना जातीय/क्षेत्रीय राज्य नबने संविधान जलाउने भन्दै आएका छन् भने केही जाति कुनै पनि जातिका नामबाट प्रदेशको नामकरण गरिनुहुँदैन भनिरहेका छन्। अब चाहिँ एउटा निष्कर्षमा पुगिएको छ-जस्तोसुकै प्रदेश वा संविधान बनाए पनि त्यसलाई कसै न कसैले जलाउनेछ। संविधान निर्विवाद हुनेछैन। अब नेपालले यस्तै विग्रहविरुद्ध लड्नुपर्नेछ। त्यो धेरै टाढा छैन। प्रत्यक्ष, निर्वाचित, कार्यकारी, शक्तिशाली, प्रतिभाशाली, बुद्धिशाली, भाग्यशाली, बलशाली, पौरखशाली, गौरवशाली राष्ट्रपति हुने सौदाबाजीमा मुलुकलाई खण्डखण्डमा विभाजन गर्ने प्रयास गरिएको छ। विकासप्रक्रिया वा शासकीय शक्तिलाई केन्द्रबाट तल्ला निकायमा लैजान सङ्घीयता आवश्यकता परेको हो भने मुलुकको जातीय कित्ताकाट र रजिष्ट्रेशन पास किन आवश्यक पर्यो भन्ने प्रश्नका अगाडि र पछाडि भिन्नभिन्न उत्तर पाउन सकिन्छ। अगाडि भनिने उत्तर जनतालाई शक्तिशाली बनाउन यसो गरिएको हो भन्ने हुनसक्छ तर यसका पछाडि चुनाव र व्यक्तिलाई केन्दि्रत गरिएको छ। सत्ताका लागि मुलुकको भविष्यमाथि झेली खेल खेल्ने 'महान्' खेलाडी नेपालले जन्माएको रहेछ सायद उनीहरूको जन्मकुण्डली मुलुकका लागि मुल्याहा परेको छ। लाचार काँग्रेस र लोभी एमालेजस्ता कर्मकाण्डीले अब कुनै पनि मुल्याहा राशीको ग्रहशान्ति गर्नसक्ने अवस्थामा छैन भन्छन् नेपालको सम्भावित कोसोभीकरण देख्नेहरू। काँग्रेस-एमाले समर्पण हुनका लागि सहमति गर्छन्। बेरिनका लागि वार्ता गर्छन्। यस्ता झारफुकले नेपालको कोसोभो वा चेकोस्लाभीकरणलाई रोक्न सक्ने देखिंदैन पनि।
सोझो कुरा छ, नेपाली काँग्रेस वा एमालेले कुनै पनि जातिको विकास र उन्न्ातिलाई अस्वीकारेका छैनन्। तर उनीहरू जातीय विरोधी भएका छन्। आफैंभित्रको अस्पष्टता र देखेको कुरो बोल्न डराउने प्रवृत्तिले उनीहरू जातीयताविरोधी जस्ता भएका छन्। यिनीहरूलेे सबै जातिको सम्मान हुनुपर्दछ भनिरहेका छन् तर यिनीहरू नै जातीय विरोधी तर कसैले केही निश्चित जातिलाई मात्र काखी च्यापेर 'अन्य'लाई उपेक्षा गरिरहेका छन् उनीहरू जातीय प्रेमी ? जातीय सहिष्णु ? यस्तो झुटको हाटमा भएको पिठोको व्यापारमा काँग्रेस र एमालेले चामल बिकाउन सकेका छैनन्। एमालेलाई त सजिलो छ भोलि मदननगर बल्खुबाट एउटा विज्ञप्ति जारी गरेर १२ प्रदेश भए पनि हुन्छ त्यसको आधा ६ प्रदेश भए पनि हुन्छ भनेर आफूलाई सत्ताको म्युजिकल चियर वरिपरी राख्न सक्छ। उसले आज भएको पिठोको व्यापारलाई पिठो भनेको पनि आधाउधी चामल नै हो भन्न सक्छ। शाहीकालीन इतिहासको उत्तरार्धमा 'आधा' र एमालेबीच निकै राम्रो सम्बन्ध देख्ने लेखकहरूको सङ्ख्या त्यतिसाह्रो घटेको छैन नेपाली राजनीतिमा।
प्रदेशको नाम प्रदेशले नै राख्न सक्ने प्रावधान के जनमतको कदर होइन ? सुदूरपश्चिमवासीका थातथलोको नाम काठमाडौंको होटलमा बसेर कोर्न पाउने अधिकार कसले दियो यी गैरसुदूरपश्चिमवासीलाई ? पूर्वमा पनि जनता छन् जनताले नै आफ्नो प्रदेशको नाम राखुन् भन्नु कुन अधिनायकवाद हो र ? तर अहिले त सङ्घीयताको पम्प्लेटमा राष्ट्रपतिको चुनाव प्रचार गर्नेहरूका अगाडि सत्य बोल्नेहरूले आफ्नो पराजय स्वीकर गरेका छन्। आफूले बोलेका राम्रा कुरा पनि जनतासम्म्ा प्रभावकारी तरिकाले पुर्याउन सकेका छैनन्। यस्तो निरीहताको पोस्टर अनुहारमा टाँसेर हिंडेको पार्टी देख्नु भो भने मान्नुस् त्यो काँग्रेस हो, पात्र देख्नुभयो भने त्यो काँग्रेसी हो। उसलाई जनतामा विश्वास छ छने मुलुकलाई सङ्घीयता वा जातीय सङ्घीयता आवश्यक छ कि छैन भनेर जनमत सङ्ग्रहमा जाने हिम्मत गर्नुपर्दछ। यस्तो माग गर्ने आँट गर्नुपर्दछ। जनतालाई शक्तिशाली बनाउने भाषणमा आधाउधी जिन्दगी खर्चेकाहरू जनताले नै प्रदेशको नाम राखुन् भन्ने प्रस्तावमा किन सहमत हुँदैनन् ? यस्तो प्रश्न काँग्रेसले गाँउगाउँसम्म पुर्याउनु पर्दछ। यसको एउटै उत्तर हो, जो राजनीतिमा जनतालाई भक्तिशाली र आफूलाई शक्तिशाली बनाउने अभीष्टमा लागेका छन् उनीहरू नै काठमाडौंबाट दक्षिणतिर रहेको गोदावरीको दक्षिणतिरको खोपीमा बसेर प्रदेशको नाम हाँकिदिन्छन्। कसैले त्यसमा प्रतिवाद गर्न सक्दैन, मानौं तथास्तु हो उनीहरूको बोली। दक्षिण र दक्षिणा प्रेमीहरूलाई यो अवस्थामा चिनैपर्दछ।
नेपालको अबको बाटो जातीय र क्षेत्रीय नै हो। अब कुनै पनि व्यक्ति पहिले जात, क्षेत्र र अनिमात्र पार्टीको सदस्य हुने भएको छ। नेपाल सद्भावना पार्टी एकमधेस एक प्रदेश भन्दछ उही दलका कञ्चनपुर अध्यक्ष भगवानदास गुप्ता सुदूरपश्चिमलाई खण्डित गरियो भने आत्महत्या गर्दछु भन्दछन्। माओवादीले केन्द्रमा सुदूरपश्चिमलाई खण्डित गर्दछ उसका कार्यकर्ता अखण्ड सुदूरपश्चिमको आन्दोलनको अग्रपङ्क्तिमा उभिन्छन्। एक मधेस प्रदेश मात्र होइन छुट्टै मिथिला प्रदेशको माग गर्दा सहादत पाएका छन्। अब उनीहरूले कसरी छोड्लान त्यो माग ? एमालेभन्दा पृथ्वी सुब्बा गुरुङ छुट्टै छन्। उनलाई एमालेको विधि पनि लाग्दैन विधान पनि लाग्दैन। मागभित्र माग प्रदेशभित्र प्रदेश, जब नीतिले पार्टी र कार्यकर्तालाई बाँध्न सक्दैन त्यो दिन पार्टीको अस्तित्व समाप्त हुन्छ। त्यही समाप्तिको भासबाट अराजकता र विध्वंसको जन्म हुनेछ। भारतमा नेताहरूले केन्द्रीय राजनीति र नीति र जनतालाई आश्वस्त गर्न नसकेका भए आजको विशाल भारत कति जातीय टुक्रामा टुक्रने थियो अनुमान मात्र लगाउन सकिन्छ। जनताको सेवा प्रदेशले गर्ने हो तर त्यस्तो नीति र स्वप्निल कल्पनाले जनतालाई एउटै सूत्रमा बाँध्ने काम केन्द्रले गर्न सकेन भने मुलुकको भविष्य अन्धकार हुन्छ। यहाँ त ३८५ सदस्यीय केन्द्रीय संसद् वा कार्यकारी राष्ट्रपति भनेर केन्द्रलाई बलियो बनाउने काम भएको छ। त्यसैले जातीय प्रदेशका प्यासीहरूले जातीय नामलेभन्दा प्रदेशले कति अधिकार पाउँछ भन्ने बुझ्नुपर्दछ । अखण्ड सुदूरपश्चिम वा एक मधेस जे भनिए पनि हाम्रो माग अखण्ड नेपालमा केन्दि्रत रहनुपर्दछ। नेपाल अखण्ड रहेमात्र सुदूरपश्चिम र मधेस सग्लो रहन सक्छन्। तराई, पहाड हिमालवासीको यो सुन्दर फूलका प्रत्येक पत्रलाई सुरक्षित र संवर्द्धित गर्न सकियो भने मात्र यसको शोभा रहन्छ भन्ने बिर्सन हुँदैन।
थुतिन्छ पत्ता जब खातखात
सिद्धिन्छ शोभा अनि फूलबाट |