|
काठमाडौँ, वैशाख २२ गते। श्रीमान्ले श्रीमती कुटेको कुन श्रीमतीले मन पराउलान् र ? सहजै अनुमान गर्न सकिन्छ, सबै श्रीमतीहरू श्रीमान्ले कुटपिट गरेको मन पराउँदैनन्, श्रीमती कुट्ने श्रीमान्लाई धिक्कार्छन्। तर होइन, मध्य तथा सुदूरपश्चिमका अधिकांश महिलाले श्रीमान्ले श्रीमती कुट्नुलाई ठीक मान्ने गरेको एक अध्ययनले देखाएको छ।
श्रीमान्लाई नभनी बाहिर गएमा, छोराछोरीलाई बेवास्ता गरेमा, विवाद गरेमा, यौनसम्पर्क अस्वीकार गरेमा र खानेकुरा डढाएमा श्रीमती कुट्नु ठीक हो भन्ने मध्य तथा सुदूरपश्चिमाञ्चलका श्रीमतीहरूको बुझाइ छ।
केन्द्रीय तथ्याङ्क विभाग र युनिसेफ नेपालको संयुक्त प्रयासमा ती क्षेत्रका महिलामा हालै गरिएको सर्वेक्षणमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्नुलाई ठीक भन्नेको सङ्ख्या ४८ प्रतिशत रहेको छ।
१५ वर्ष उमेरदेखि ४९ वर्षसम्मका महिलामा गरिएको सर्वेक्षणका क्रममा उनीहरूले श्रीमान्ले श्रीमती कुट्नुलाई ठीक भनेका हुन्।
सन् २०१० मा छ हजार घरधुरीका १५ वर्षदेखि ४९ वर्ष उमेर समूहका सात हजार ३७२ जना महिलामा प्रश्नावली भराएर सर्वेक्षण गरिएको थियो। सर्वेक्षणकै क्रममा पाँच वर्षभन्दा मुनिका तीन हजार ५७४ जना बालबालिकाको छुट्टै सर्वेक्षण पनि गरिएको थियो।
उक्त सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभयो।
'मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका महिला, बालबालिका तथा घरपरिवारसम्बन्धी बहुसूचक सर्वेक्षण २०६७'मा शिक्षा, स्वास्थ्य र जनचेतनाको कमीले गर्दा महिला र बालबालिकाको अवस्थामा निकै सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यसैगरी, ६२ प्रतिशत महिलाले नभनी बाहिर गएमा, छोराछोरीलाई बेवास्ता गरेमा, विवाद गरेमा, भनेको नमानेमा, दाइजो नल्याएमा र समयमा काम नसकेमा आˆनो सासुले गाली गरेको वा धम्क्याएकोलाई ठीक भनेका छन्।
अहिलेको सूचना तथा प्रविधिको युगमा सुदूर तथा मध्यपश्चिमका महिलाको सूचना तथा प्रविधिसँगको पहुँच पनि एकदमै कम पाइएको छ। त्यहाँका पाँच प्रतिशत महिलाले मात्र तीनवटै सञ्चारमाध्यम रेडियो, टेलिभिजन र पत्रपत्रिका सुन्ने, हेर्ने र पढ्ने गरेको तथ्याङ्कमा उल्लेख छ। रेडियोमा मात्र ४९ प्रतिशत, टेलिभिजनमा २९ प्रतिशत र पत्रपत्रिकामा ८ प्रतिशत महिलाको पहँच रहेको पाइएको छ। प्रतिवेदनमा समग्रमा मध्य तथा सुदूरपश्चिममा दुईदेखि १४ वर्षका बालबालिकालाई आˆना आमा, स्याहारकर्ता वा घरपरिवारका अन्य सदस्यले मनोवैज्ञानिक वा शारीरिक दण्ड/सजाय दिने गरेकोसमेत उल्लेख छ।
यस्तै, त्यस क्षेत्रमा तीनदेखि पाँच वर्षका झन्ै ३२ प्रतिशत बालबालिकाले मात्र प्रारम्भिक बालशिक्षा प्राप्त गरेको पाइएको छ भने प्राथमिक विद्यालय जाने उमेरका झन्डै ७३ प्रतिशत बालबालिकाले प्राथमिक वा सोमाथिको शिक्षा लिइरहेको भए पनि माध्यमिक विद्यालय जाने उमेरका ५६ प्रतिशत बालबालिकाले मात्र माध्यमिक विद्यालय वा सोमाथिको शिक्षा लिने गरेको पाइएको छ।
सरकारले विगत दसकमा नेपालमा खोपको व्यापकतामा सुधार आएको भन्दै आए पनि मध्य र सुदूरपश्चिमाञ्चलका ५६ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमा सबै खोपको पूर्ण मात्रा लिने गरेको पाइएको तथ्याङ्कमा छ। उता, ३१ प्रतिशत बालबालिकालाई मात्र जापानी इन्सेफलाइटिसविरुद्धको खोप लगाइएको उल्लेख छ।
त्यस क्षेत्रका ५६ प्रतिशत घरधुरीमा चर्पीको सुविधा नभएको, ५१ प्रतिशतसँग मात्र हात धुने पानी र साबुन उपलब्ध रहेको, झन्डै १९ प्रतिशत महिलाले आˆनो महिनावारीको बेलामा अलग्गै घर/गोठ -छाउपडी)मा बस्ने गरेको सर्वेक्षणका क्रममा पाइएको प्रतिवेदनमा जनाइएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष क्षेत्रीले विकासका लागि छुट्याइएको रकमको सदुपयोग हुन नसक्दा धेरै समस्या भइरहेको बताउनुभयो।
|