|
काठमाडौँ, वैशाख २२ गते। राजनीतिक सहमतिको सरकार विस्तार र संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न शुक्रबार बसेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले शनिबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ।
प्रमुख दलहरूबीच बिहीबार वर्तर्मान प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा नेपाली काँग्रेस, नेकपा एमाले, मोर्चा र साना दलसमेतको सहभागितामा दुई दिनभित्र सहमतीय सरकार निर्माण गर्ने र तीन दिनभित्र संविधानका विवादित विषय टुङ्ग्याइनेलगायतको पाँचबुँदे सहमति भएको थियो।
सहमतिको पहिलो बुँदालगायतका विषय कार्यान्वयनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्षदलको बैठकमा नेपाली काँग्रेस र नेकपा एमालेले सरकारमा पठाउने व्यक्तिको नाम सिफारिस गर्न नसकेका कारण शनिबार साँझ मात्र सरकार विस्तार हुने भएको छ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेकाले सरकारमा पठाउने व्यक्तिको नाम सिफारिस गर्न नसकिएको बताइएको छ। "आन्तरिक छलफल गर्न नभ्याएका कारण आज सम्भव भएन एमाले वरिष्ठ नेता माधव नेपालले भन्नुभयो"- भोलि साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ। यस्तै नेपाली काँगे्रसले पनि गृहकार्य नपुगेको भन्दै नाम सिफारिस गर्न नसकेको जनाइएको छ। यद्यपि, शनिबार साँझसम्ममा सानै आकारको भए पनि मन्त्रिपरिषद् विस्तार हुने र शपथ गराइने बताइएको छ। बैठकमा सहभागी सबै दलले शनिबार साँझसम्ममा आ-आˆनो पार्टीबाट सरकारमा पठाइने व्यक्तिको नाम प्रधानमन्त्रीलाई दिने प्रतिबद्धता जनाएका छन्। बैठकमा छलफलका लागि अन्य विषयले प्रवेश पाए पनि सरकार विस्तारको विषयमै नेताहरू बढी केन्दि्रत बनेको सहभागी एक नेताले जानकारी दिनुभयो।
मन्त्रिपरिषद्मा प्रमुख तीन दल र मधेसी मोर्चाबाट चार-चारजना र साना दलबाट दुईजनाको सहभागिता गराउने विषयमा दलहरू सहमत भएका छन्।
सहमति अनुसार माओवादीले उपाध्यक्ष तथा निवर्तमान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सचिव एवं ऊर्जामन्त्री पोष्टबहादुर बोगटीलाई नै पुनः मन्त्रिपरिषद्मा पठाउने अनौपचारिक निर्णय गरे पनि अन्य दुईजनाको नाम सार्वजनिक गरेको छैन। स्रोतका अनुसार अन्य दुईजनामा उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेतालाई पठाउने पार्टीको आन्तरिक योजना रहेको र त्यसको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको छ तर वैद्य पक्ष भने भट्टराई नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ। उपाध्यक्ष मोहन वैद्य 'किरण' र महासचिव रामबहादुर थापा 'बादल'ले शुक्रबार संयुक्त विज्ञप्तिमार्फत भट्टराईको नेतृत्वमा बन्ने सरकारमा आˆनो पक्ष सहभागी नहुने स्पष्ट गर्नुभएको छ।
आजको बैठकमा दलहरूबीच राज्य पुनःसंरचना र शासकीय स्वरूपका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो। छलफल नटुङ्गिएपछि प्रमुख तीन दल र मोर्चाको संयुक्त बैठक शनिबार अपराहृन पुनः बस्ने गरी स्थगित भएको छ। |