|
काठमाडौँ, वैशाख २२ गते। नेपाल पुलिस क्लबले चिरपरिचित प्रतिद्वन्द्वी र्डोडोइ डाइनामोसँग प्रतिस्पर्धा गर्दै शनिबार आठौँ एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताको सुरुवात गर्दैछ।
राष्ट्रिय लिग विजेता पुलिसको एएफसी प्रेसिडेन्ट्स कपमा पछिल्ला छ वर्षमा यो पाँचौँ सहभागिता हो। पुलिस र डोर्डोइ डाइनामो यसअघि तीन पटक आमने-सामने भइसकेका छन्। तीनपटक किर्गिस्तानी लिग विजेता डोर्डोइ डाइनामोसँग नेपाली टिम पराजित भएको थियो।
सन् २००७ मा प्रेसिडेन्ट्स कपमा पदार्पण गर्दा पुलिस टिम समूह चरण र फाइनलमा डोर्डोइसँग हारेको थियो। समूह चरणमा ३-० ले हारे पनि पुलिस टिमले डोर्डोइसँग फाइनलमा बदला लिने मौका पाएको थियो तर उपाधि भिडन्तमा पुलिस उत्कृष्ट प्रदर्शन गर्दागर्दै डोर्डाेइसँग २-१ ले हार्यो। अर्को वर्ष सोही प्रतिद्वन्द्वीसँग ३-१ ले हारेपछि पुलिसको यात्रा सेमिफाइनलमा सकिएको थियो। त्यसपछि, पुलिस टिम समूह चरणबाट पाखा लाग्दै आएको छ।
पुलिस टिमले फेरि एकपटक चार वर्षपछि डोर्डाेइ डाइनामोलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ। दुईपटक प्रेसिडेन्ट्स कप जितिसकेको डोर्डाेइ डाइनामो पछिल्लो संस्करणबाहेक अन्य सबै संस्करणमा फाइनल खेलेको टिम पनि हो। त्यसैले यसपालि पनि पुलिस टिम डोर्डोइविरुद्ध 'अन्डरडग'का रूपमा नै रहेको छ।
घरेलु फुटबल सत्रको पहिलो प्रतियोगिता बि्रटिस गोर्खा कपको उपाधि जित्ने पुलिस विजयी यात्रामा रहेको छ तर स्ट्राइकर भरत खवासबिना कम्बोडिया पुगेको पुलिसका अर्का फरवार्ड जुमानु राई पनि घाइते हुँदा पुलिसलाई डोर्डोइविरुद्धको खेल कठिन हुने पक्का छ। जुमानुलाई चिकित्सकले दुई साता आराम गर्न सल्लाह दिएको छ। समूह चरणअन्तर्गत पुलिसले सोमबार नोम पेन क्राउन एफसी -कम्बोडिया) र अन्तिम खेल बुधबार यडजिन एफसी -भुटान) सँग खेल्नेछ।
|