कास्की, वैशाख २४ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेती नदीमा आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ।
प्रधानमन्त्री भट्टराईसहित एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, उप्रप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, माओवादी पोलिटब्युरो सदस्य हिसिला यमी तथा सुरक्षा एवं प्रशासनिक निकायका उच्च अधिकारी सम्मिलित टोलीले आइतबार बाढी प्रभावित क्षेत्रको हवाई तथा स्थल निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा प्रधानमन्त्री डा. भट्टराईले घटनाका पीडित परिवारहरूसँग भेट गर्दै स्थानीय प्रशासनलाई उद्धारमा कुनै कमी र ढिलाइ नगर्नसमेत निर्देशन दिनुभयो।
घटनाका पीडितहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सरकारको तर्फबाट मृतकका परिवारलाई तत्काल किरिया खर्चस्वरूप २५ हजार रुपियाँ उपलब्ध गराउने र प्रधानमन्त्री उद्धार कोषबाट मृतक परिवारलाई एक लाख रुपियाँका दरले राहत रकम उपलब्ध गराउने बताउनुभयो। बाढीबाट घरबारविहीन भएकाहरूका लागि अस्थायी आवासका लागि तत्काल २५ हजार रुपियाँ उपलब्ध गराउनेसमेत जानकारी दिनुभयो। उहाँले घटनाका घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुनस्र्थापनाका लागि सरकारले विशेष योजना ल्याउने पनि बताउनुभयो।
प्रधानमन्त्रीले जीवित रहेकाहरूको तत्काल उद्धारका लागि पहिलो प्राथमिकता दिन निर्देशन दिँदै तत्काल २० वटा एक्साभेटर ल्याएर पुरिएकाहरूको खोजी गर्न निर्देशन दिनुभयो। उहाँले बाढीले क्षति पुर्याएका खानेपानी, पुलजस्ता अत्यावश्यक संरचनाको पुनःनिर्माण तत्काल थाल्ने पनि बताउनुभयो। उद्धार र पुनःनिर्माणका लागि कुनै पनि स्रोतसाधनको कमी हुन नदिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
अकल्पनीय घटना घटेको बताउँदै प्रधानमन्त्रीले के कारणले गर्दा यस्तो भएको हो भन्नेबारे छानबिन गरिने पनि बताउनुभयो। वातावरणीय परिवर्तनले हिमाली क्षेत्रमा विपत्ति आउने खतरा बढेको बताउँदै उहाँले सचेत हुनुपर्नेमा जोड दिनुभयो। राहत र उद्धारका लागि निजीक्षेत्रलाई समेत आग्रह गर्नुभयो।
शनिबार अन्नपूर्ण हिमशृङ्खलामा आएको पहिरोका कारण कास्कीको माछापुच्छे्रे, सार्दिखोलाको खारापानीलगायतका क्षेत्रमा क्षति भएको थियो। घटनास्थलको निरीक्षण अगाडि पश्चिम पृतनाका पृतनापति भिक्टर जङ्गबहादुर राणाले घटनाको प्रकृति, क्षति र उद्धारमा भइरहेको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो।
कास्कीको माछापुच्छे्र गाविसस्थित सेती नदीको मुहान पहिरोले थुनिँदा शनिबार आएको बाढीले ठूलो जनधनको क्षति भएको थियो।