पहिरोले थुनिएको सेती नदीको पानी एक्कासि अवरोध फोडेर बग्नथालेपछि झण्डै डेढ दर्जन नागरिकले दुखद् मुत्युवरण गर्नपुगे, ठूलो जनधनको क्षति भयो र वरपरको जनजीवन भयग्रस्त बनेको छ। नेपालमा मनसुन पनि लागेको छैन। यतिखेर बाढी, पहिरोले यत्रो जनधनको क्षति हुनु अकल्पनीय र असाययिक घटना हो। कास्की जिल्लाको उत्तरी माछापुच्छ्रे गाविस-९ सालदमा शनिवार गएको पहिरोले थुनिएको सेती नदीको अवरोध छिचोल्दै बहेको पानीको तीव्र र पाँगो मिश्रति बहाबले यस्तो अकल्पनीय क्षति गरेको छ। बाढीले गाँउ नै बगाएकाले सम्पूर्ण मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको नभए पनि सुरक्षा निकाय र स्थानीयहरूका अनुसार घटनामा लगभग ५० जनाले ज्यान गुमाएको हुनसक्ने अनु्मान गरिएको छ। भस्तुभाउ, लत्ता कपडा, खेतीयोग्य जमिनको क्षयीकरणको मूल्याङ्कन गर्ने हो भने यो घटना भयावह लाग्दो छ। सेतीमा अतिबृष्टिका कारण बाढी आएको नभई पहिरोले नदी थुनेपछि भएको एक्कासि तीव्र जलप्रवाहका कारण उत्पन्न समस्या हो। सही र उचित उपयोग तथा व्यवस्थापन गर्नसक्दा अपार सम्पत्तिका स्रोत नेपालका वन, जङ्गल र नदीनाला यसको अभावमा समस्या हुँदारहेछन् भन्ने पुष्टि यो घटनाले गरेको छ। नेपालको भूबनोटअनुसार मानव बसोबास क्षेत्र निर्धारण र त्यसको मापदण्ड नबनाइएकाले बर्सेनी पहिरो र बाढीका घटनाले सयौंले ज्यान गुमाउनु परेकोछ। छिमेकी मित्रराष्ट्र चीनमा निश्चित उचाइ र भिरालो जग्गाामा मानव बसोबास गर्न रोकेर स्थानको सम्भाव्यताका आधारमा जडीबुुटी/खेती गर्न उत्साहित गरिन्छ। नेपालका डाँडा, टाकुरामा रहेका बस्तीमा पानी, बत्ती, सडकजस्ता विकासका भौतिक पूर्वाधार पुर्याउन त्यतिकै खर्चिलो हुने अवस्थालाई ध्यानमा राखी गरी बसोबासको राष्ट्रिय मापदण्ड बनाउने हो भने यस्ता विपद्को क्षतिलाई केही हदसम्म न्यूनीकरण गर्नसकिन्छ। बाढी, पहिरो, भूकम्प, खडेरी, अतिबृष्टि, हिमपात आदि यी सबै सामान्य प्राकृतिक गतिविधि हुन्। ब्रम्हाण्डको उद्विकासलाई हेर्ने हो भने यस्ता लाखौं गतिविधि पार गर्दै पृथ्वी अहिलेको चरणमा आइपुगेको छ। जबसम्म्ा यी घटनाहरू मानवसँग सम्बन्धित हुँदैनन् तवसम्म यस्ता घटनालाई स्वभाविकरूपमा लिनुपर्दछ। मानवसँग जोडिएपछि मात्र यस्ता स्वाभाविक घटनाहरू दुर्घटना ठहरिन पुग्दछन्। यस्तै महाघटनाका कारण आज हामीले देखेका पहाड विगत लामो समयअघि समुद्र र समुद्रहरू पडाडमा परिणत भएका थिए। यस्ता परिवर्तनलाई रोक्नसकिँदैन तर फेरि यी घटनालाई दैवीप्रकोप भनेर नियन्त्रण बाहिरको 'सुपर पावर' भन्न पनि हुँदैन। बाढी, पहिरोलाई एक्काइसौ शताब्दीको मानवले न्यूनीकरण गर्ने उपाय जानिसकेको छ। वर्तमान मानवले भूकम्प रोक्न सक्दैन तर त्यसका क्षतिलाई न्यूनीकरण गर्न ऊ सफल भएको छ। सचेत छ। यो वैज्ञानिक युगमा नेपालले पनि आफ्ना नदीनालाका बारेमा यथेष्ट जानकारी लिनु र सम्भावित खतराविरुद्ध उभिने प्रयास थाल्नु पर्दछ। जानकारहरूका अनुसार नेपालका झण्डै आधा दर्जन हिमताल फुट्ने खतरामा छन्, कतिपय जिल्लाका सदरमुकाम नै नदीबाट केही मिटरमात्र अग्लाइमा रहेकाले सानो परिवर्तनले पनि यस्ता मानवैबस्तीमा अकल्पनीय क्षति पुग्नसक्दछ। प्रकृतिसँग जति हामीले ज्यादती गरिरहेका छौँ त्यसलाई दृष्टिगत गर्दा प्राकृतिक प्रकोपको जोखिमबाट पूर्णतः मुक्त हुन हामीलाई गाह्रो छ तर पनि विभिन्न प्रयासमार्फत यस्ता विनाशको परिणामलाई न्यून गर्न सक्छौँ, सक्नुपर्दछ।
विगतमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै दिन कोशी नदीको बाँध फुटेर ठूलो जनधनको क्षति भएको थियो। त्यसबेला पनि नयाँ सरकारले आफ्नो ठाउँबाट समस्याको समाधान र पीडितप्रति सक्दो सहयोग गरेको थियो। यद्यपि कोशी पीडितका लागि अहिले पनि यस्तो सहयोगको खाँचो छ तर त्यतिखेर नयाँसरकारले कत्ति ढिलो नगरी सुरक्षात्मक र राहतका कार्यक्रम सञ्चालन गरेको थियो। यो शनिबार प्रधानमन्त्री डा. भट्टराईले सरकार पुनर्गठन गर्ने तरखर गरिरहँदा यस्तो विपत्ति आयो। सरकार र सरोकारवाला मन्त्रीहरूले घटनाको जानकारी लिएर मृतकका परिवारको भरणपोषण, घाइतेको उपचार, विस्थापितका लागि वैकल्पिक बसोबास, पुनःस्थापना, र भविष्यमा त्यसलगायत मुलुकका अन्य क्षेत्रमा पनि यस्ता घटना दोहरिन नपाउन भन्नेमा विशेष रणनीतिक बनाउनु पर्ने भएको छ। डा. भट्टराईले घटनाको जानकारी लिएर सक्दो सहयोग गर्ने बताउनु भएको अवस्थामा सरकार, सम्बन्धित मन्त्रालय, सरोकार मन्त्रालय र निकायले तत्कालै पीडितको सहयोगमा आफूलाई केन्दि्रत गरिहाल्नु पर्दछ। यस्ता विपद्मा सत्ता र प्रतिपक्षको भावना त्यागेर मानवीय संवेदनामा सहयोग गर्न कोही चुक्ने छैनन् भन्ने अपेक्षा गरौँ।