काठमाडौँ, वैशाख २४ गते गोरखापत्र प्रकाशनको एक सय १२ औं वाषिर्कोत्सव तथा गोरखापत्र संस्थानको स्वर्ण महोत्सवमा आर्थिक वर्ष २०६७/६८ मा बढी विज्ञापन उपलब्ध गराउने विज्ञापन एजेन्सीहरू सम्मान गरिएको छ।
सम्मानित एजेन्सीहरूमा भेराइटिज कन्सल्टिङ नेटवर्क प्राली त्रिपुरेश्वर, कलश एडभर्टाइजिङ सर्भिस प्राली अनामनगर, एनसी एडभर्टाइजिङ सर्भिसेज प्राली ललितपुर छन्। उनीहरूलाई सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपहार प्रदान गर्नुभएको थियो।
गत आर्थिक वर्षमा भेराइटिजले सर्वाधिक रु. चार करोड ११ लाख ९५ हजार, कलशले रु. एक करोड ५६ लाख १३ हजार, एनसीले एक करोड ३२ लाख १० हजार रुपियाँ विज्ञापन गोरखापत्र संस्थानलाई उपलब्ध गराएका थिए।
भेराइटिज कन्सल्टिङका प्रमुख धर्मेन्द्रकाजी श्रेष्ठ गोरखापत्रले अपेक्षा गरेअनुसार विज्ञापन वृद्धि गर्न विज्ञापन एजेन्सीहरूसँग सहकार्य र मित्रता कायम गर्न सक्नुपर्ने बताउनु हुन्छ। उहाँले गोरखापत्र व्यवस्थापन कमजोरी र विज्ञापन शाखामा काम गर्नेहरूको सानो चित्तका कारण एजेन्सीहरूले उपलब्ध गराउँदै आएको विज्ञापन पनि कटौती हुने अवस्था सिर्जना भएको भन्दै आन्तरिक सुधार गर्न नसके त्यो गोरखापत्रलाई ठूलो घाटा हुने बताउनु हुन्छ।
गोरखापत्रसँगको कुराकानीमा श्रेष्ठले दर्जनौँ विज्ञापन एजेन्सीले गोरखापत्रलाई विज्ञापन उपलब्ध गराउँदै आए पनि यसको वाषिर्कोत्सवमा केही एजेन्सी मात्र सहभागी हुनु विज्ञापनमा काम गर्नेहरूको अव्यवसायिक चरित्र र सानो चित्त हो भन्दै सरकार परिवर्तन हुनासाथ विज्ञापन शाखामा मान्छे फेरिने, उसलाई एजेन्सीले चाकडी गरिदिनु पर्ने, भनेजस्तो नभए त्यही एजेन्सीलाई विज्ञापन नदेउ सोही संस्थालाई देउ भन्दै हिँडने गरेको गुनासो गर्नुभयो।
आफ्नो चाकडी गरेन भनेर शाखाका केही कर्मचारी आफ्नो एजेन्सीले सम्झौता गरेको संस्थाहरूमा गएर विज्ञापन सोही गोरखापत्रलाई देउ भन्दै हिँडेको उदाहरण दिँदै उहाँले धरौटी राखेर करोडौं रुपियाँको कारोबार गर्दै आएका एजेन्सीहरूसँग संस्थानका कर्मचारीहरूबाट हुने व्यवहार, पत्रिका उपलब्ध गराउने, भुलसुधार छाप्नेदेखि सुविधा दिने कुरामा संस्थानले गरेको कन्जुस्याइँ ठीक छैन भन्नुहुन्छ। विज्ञापन बढाउन विभिन्न एजेन्सीको भ्रमण गरी आफूसँग करोबार गर म सक्दो सहयोग र सुविधा दिन्छु भन्न सके गोरखापत्रले राम्रो विज्ञापन पाउनसक्ने श्रेष्ठको भनाइ थियो।