पोखरा, वैशाख २५ गते। कास्कीको माछापुच्छ्रे गाविसस्थित सेती नदीको मुहान पहिरोले थुनिएपछि आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। बेपत्ताको यकिन विवरण अझै प्राप्त हुन नसके पनि ४४ जना हराइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। फेला परेका २१ शवमध्ये १८ जनाको सनाखत भएको र तीनजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
सनाखत भएकाहरूमा अर्चना श्रेष्ठ, गोपाल ताम्राकार, पूर्णशोभा तामाङ, मीनबहादुर भुजेल, जङ्गबहादुर मगर, प्रेम घले गुरुङ, अनिल विक, तीर्थकुमारी छन्त्याल, उममाया तामाङ, दले पुन, कुन्जा तामाङ, हरिकला छन्त्याल, कृष्णकुमारी मगर, जमुना गुरुङ, तीलसरी पुन, राजन विक, रमा परियार, कल्पना राई रहेका छन्। नदी किनारमा पुरिएका व्यक्तिको उद्धारका लागि सोमबार बिहानैबाट संयुक्त सुरक्षा फौजसहित तालिमप्राप्त कुकुरहरू परिचालित गरिएको छ।
उद्धारका लागि सोमबार तीनवटा स्काभेटर र एउटा डोजरले उत्खनन कार्य जारी राखेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो। नदी किनारमा बाक्लो माटोको लेदो जमेकाले उद्धारमा कठिनाइ भइरहेको छ।
यसैगरी कास्कीको धिताल गाविसस्थित भेडाबारीमा आइतबार बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरूको सोमबार सामूहिक दाहसंस्कार गरिएको छ। कास्कीको ल्वाङघलेलबाट हेम्जा मिलनचोकतर्फ आउँदै गरेको ग. १ च ३२४८ नम्बरको जिप आइतबार बिहान ९ बजेतिर भेडाबारी भन्ने ठाउँको भीरबाट पल्ँिटदा १२ जनाको मृत्यु भएको थियो। जिप भीरबाट करिब तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। मृत्यु भएकाको पोखराको रामघाटस्थित सेती नदीमा सामूहिक दाहसंस्कार गरिएको हो।