काठमाडौँ, वैशाख २५ गते। सरकारले सुदूरपश्चिममा भइरहेको आन्दोलन बन्द गरी वार्तामा आउन आग्रह गर्दै उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको छ।
एकीकृत नेकपा -माओवादी)ले सुदूरपश्चिमलाई विभाजित गर्ने गरी राज्य पुनःसंरचनाका लागि अघि सारेको १० प्रदेशको अवधारणाप्रति विरोध जनाउँदै गत ११ दिनदेखि जारी राखेको सुदूरपश्चिम बन्दलाई सम्बोधन गर्न र निकास खोज्न सो वार्ताटोली गठन गरिएको छ।
मन्त्री वर्षमान पुन र सिँचाइमन्त्री महेन्द्र यादव रहेको तीन सदस्यीय समिति गठन गरी सुदूरपश्चिम बन्दमा उत्रिएका राजनीतिक दल, नागरिक समाज र अधिकारकर्मीसँग वार्ता गर्ने जिम्मेवारी दिइएको छ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनमा उत्रिएकालाई बन्द फिर्ता लिई वार्तामा आउन प्रमुख दल एनेकपा -माओवादी), नेपाली काँगे्रस र नेकपा
-एमाले)का शीर्ष नेताहरूले आग्रह गरे पनि त्यसले आफूहरूका माग सम्बोधन हुन नसक्ने भन्दै उनीहरूले थप आन्दोलन चर्काएका छन्।
बन्दका कारण सुदूरपश्चिममा यातायात, शिक्षण संस्था, पसलकबल बन्द हुँदा स्थानीयवासीको दैनिकीसमेत प्रभावित हुँदै आइरहेको छ भने अस्पतालहरूमा औषधिसमेत पाइन छाडेको
बताइएको छ।
बन्द फिर्ता लिई वार्तामा आउन प्रमुख दल एनेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँगे्रसका सभापति सुशील कोइराला र नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले गत शुक्रबार आहृवान गरे पनि बन्द फिर्ता नभएपछि सोमबारै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बन्द फिर्ता लिई वार्तामा आउन आग्रह गर्नुभयो।
यसैबीच अखण्ड सुदूरपश्चिमको माग राख्दै विगत ११ दिनदेखि सुदूरपश्चिममा थालिएको आन्दोलन सोमबार स्थगित गरिएको छ।
सरकारले उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेपछि अखण्ड सुदूरपश्चिमको माग राख्दै सुदूरपश्चिम जागरण मञ्चले थालेको आन्दोलन बन्द फिर्ता लिइएको हो।
सुदूरपश्चिम जागरण मञ्चले सोमबारै एक विज्ञप्ति जारी गरी आन्दोलन स्थगित गरिएको जनाएको छ।
मञ्चले प्रशासन गेटअगाडि थालेको रिले अनशन र विरोधका कार्यक्रम भने जारी राख्ने भएको छ।
मञ्चका अध्यक्ष पुष्करराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आमजनताको मर्कालाई ध्यानमा राखी आन्दोलन स्थगित गरिएको उल्लेख छ।
सरकारले आन्दोलनप्रति देखाएको चासोले आफूहरूले आन्दोलन फिर्ता लिएको जनाइएको छ।
सरकारले मागबारे बेवास्ता गरे फेरि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ। ११ दिनदेखि सुदूरपश्चिम बन्दका कारण यस क्षेत्रको जनजीवन निकै कष्टकर बनेको थियो। आन्दोलन फिर्ता भएपछि यस क्षेत्रका जनताले राहत पाउने भएका छन्। रासस