काठमाडौँ, वैशाख २५ गते। नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको कारोबारमा नेप्सेमा २४.१९ अङ्कको बढोत्तरीसहित नेप्से ४२८.४३ को बिन्दूमा बन्द भएको छ। नेप्सेमा कारोबार सुरु हुने बित्तिकै शेयर खरिदकर्ताको चापका कारण दुई पटक सक्रिर्ट ब्रेकरसहित नेप्से पूरा समय कारोबार नै नभई बन्द भएको हो।
राजनीतिक अस्थिरता समाप्त हुने दिशामा सहमतीय सरकारको गठन भएको सकारात्मक असर बजारमा परेको बताइएको छ। नेप्सेमा सोमबार कुल ६१ कम्पनीका ४०५ वटा कारोबारबाट आठ लाख ४४ हजार ६३० कित्ता शेयर कारोबार भई १४ करोड ४८ लाख ३३ हजार ६९६ रुपियाँ बराबरको शेयर खरिद बिक्री भएका छन्।
बजारमा छोटो समय मात्र कारोबार भएका बखत पनि कारोबार भने १४ करोड रुपियाँभन्दा माथि हुनुलाई सन्तोषजनक रूपमा लिइएको छ।
शेयर बजारमा खरिदकर्ताको चाप अझै उच्च रहनुले आगामी दिनमा शेयर बजार उकालो लाग्ने क्रम जारी रहने निश्चित भएको र त्यस्तो उछाल पाँच सयको हाराहारीमा पुग्ने अनुमान विज्ञहरूले गरेका छन्।
सोमबारको कारोबारमा प्रभुत्व कमाउने कम्पनीहरूमा स्ट्याडर्ड चार्टर बैङ्क एक सय १८, नेपाल टेलिकम ४०, एनआईसी बैङ्क ६१, एनआईबी बैङ्क ५८, नविल बैङ्क १३८, हिमालय बैङ्क ७४, एभरेष्ट बैङ्क ५९ रुपियाँ रहेका छन्।