"ऐया आमा दुख्यो" "डाक्टरसाब मलाई यहाँ दुख्छ।' यस्ता शब्दहरूले दुःखाइको भाव जनाउने भए पनि अरूलाई त्यो पीडा अनुभव गराउन सक्दैनन्। दुःखाइ अरूलाई देखाउन सकिन्न। अझ, घाउ, चोटपटक वा रोग विशेषसँग सम्बन्धित दुःखाइ बिरामी स्वयंले अनुभव गर्ने कुरा हो, अरूलाई बुझाउन पनि सकिन्न। हुन त, दुःखाइ जस्तो भए पनि सामान्य अर्थमा दुखिरहेको अवस्था मात्र हो तर चिकित्सकीय प्रयोजनमा भने दुःखाइ एक सम्पूर्ण शब्द होइन। दुःखाइलाई पनि विभिन्न प्रकारमा बाँडिएको छ जसको आ-आˆनै महत्त्व छ। दुख्ने छोडने फेरि दुख्ने, पोलेको जस्तो घोचेको जस्तो, थिचेको जस्तो, चिरेको जस्तो वा अरू कुनै सबैले छुट्टाछुट्टै किसिमका रोगको पहिचान राख्दछ।
कुनै पनि शारीरिक दुःखाइको कारण उमेर, लिङ्ग पेसा आदिको कारणले फरक पर्न सक्दछ। कुनै पुरुषलाई मिर्गौलाको पत्थरीको कारणले कोखामा दुखिरहेको छ भने महिलालाई पनि कोखामा दुख्नुको कारण पत्थरी नै हुनुपर्छ भन्ने जरुरी छैन। त्यो समस्या उनको पाठेघर वा डिम्बाशय सम्बन्धी समस्याले पनि हुन सक्छ। त्यस्तै बच्चाहरूमा जुका पेट दुख्नुको एक प्रमुख कारण हो भने उमेर ढल्केका हरूमा क्यान्सरलाई बिर्सन मिल्दैन।
बिरामी दुख्यो भन्ने समस्या लिएर आयो भने उक्त दुःखाइसँग जोडिएका ५-७ प्रश्नको उत्तरको मात्र के कारणले गर्दा दुखेको हो अनुमान गर्न सकिन्छ। जसलाई अरू थप जाँचले पुष्टि गर्न सकिन्छ। कहाँ दुख्यो ? दुखेको कति भयो ? कस्तो खालको दुःखाइ छ। दुःखाइ त्यही ठाउँमा छ कि अन्त पनि सर्छ ? के गर्दा दुःखाइ झन् बढ्छ वा घट्छ ? कुन बेला बढी दुख्छ ? कत्तिको सहन सकिने खालकेा दुख्छ ? यी दुःखाइसँगै कत्तिको सहन सकिने खालको दुख्छ ? यी दुःखाइसँगै जोडिएका सात प्रश्न हरेक डाक्टरले आफ्ना बिरामीसँग सोध्छन् र सोध्नु पनि पर्छ, जसको सही उत्तरले सही रोग पत्ता लगाउन ठूलो भूमिका खेल्छ।
कहाँ दुख्यो ?
बिरामीले इङ्िगत गरेको क्षेत्र वरपरका अङ्गहरू नै दुःखाइको प्रमुख कारण हुने गर्दछ। छाती दुख्ने समस्या मुटृ, फोक्सो, श्वास नली र खाना नलीको कारणले नभएर मिर्गौलाको कारणले हुने सम्भावना धेरै न्यून छ। कति भयो दुखेको ? आन्द्रा बटारिने, गाठो पर्ने , 'फुड प्वाइजनिङ, र एपेन्डिसाइटिस जस्ता समस्यामा पेट दुख्न थालेको केही घण्टा वा एक -दुई दिनको अवधि हुन्छ। तर आन्द्राको अल्सर हेपाटाइटिस वा कुनै क्यान्सरको दुःखाइको अवधि हप्ताँै वा महिनौ लामो हुन्छ। त्यो बीचमा निरन्तर दुख्ने वा केही समय दुःखाइ हराउने पनि हुन सक्छ।
कस्तो प्रकारको दुःखाइ ?
आन्द्रा, मिर्गौलाबाट पिसाब थैलीसम्म जोड्ने पिसाब नली वा पित्तथैलीदेखि आन्द्रासम्म जोडने पित्त नली
जस्ता 'पाइप' आकारका अङ्गहरूको दुःखाइ फेरि छोडने खालको हुन्छ। यस्तो 'कोलिकि' दुःखाइ आन्द्रा गाँठो परेमा, पिसाब, नली र पित्तनलीमा पत्थरी भएमा हुन्छ। पेटको अल्सरले गर्दा हुने दुःखाइ पोलकेा जस्तो हुन्छ भनेकुनै अङ्गको सङ्क्रमण भएर सुन्नियो भने त्यहाँ टनटन दुख्छ। अपेन्डिसाइटिसको दुःखाइ दिक्कलाग्दो हुन्छ।
दुःखाइ सर्छ ?
सुरुमा नाइटो वरिपरि दुख्यो तर ५-६ घण्टापछि त्यो दुःखाइ सरेर दाहिने कोखामा पुग्यो भने त्यो एपेन्डिसाइटिसले गर्दा भएको हेा। मिर्गौला र पिसाब नलीका पत्थरी छ भने दुःखाइ कोखादेखि सर्दै गएर तिघ्राको भित्री भाग र लिङ्गको टुप्पोसम्म पुग्छ। पित्त नलीको सङ्क्रमण भएका बिरामीमा दुःखाइ दाहिने कोखाबाट सरेर दाहिने कुमको पछाडि भागसम्म पुग्छ। त्यस्तै हृदयघात हुँदाको मुटु दुःखाई सर्दै गएर देब्रे पाखुरा घाटिको देब्रे भाग र देब्रे बङ्गारासम्म पुग्छ। त्यस्तै पाचन ग्रन्थीको सङ्क्रमण भएमा सुरुमा अगाडि छातीमा दुख्छ र पछि त्यो सर्दै गएर पछाडि ढाडसम्म पुग्दछ।
के गर्दा दुःखाइ घटछ वा बढ्छ ?
पित्तथैलीको सङ्क्रमण भएको बेला चिल्लो खानेकारा खाँदा झन् बढी दुख्छ भने चिल्लो नखाँदा दखाई कम हुन्छ। त्यस्तै आमाशयको अल्सर छ भने खाना खाएपछि त्यो खानाले घाउमा गएर हुन्छ। र झन दुखाउँछ। खाना खाने बित्तिकै दुख्ने भएकाले यस्ता बिरामी खानलाई डराउँछन्। तर आन्द्राको अल्सर भएका बिरामीमा भने ठ्याक्कै उल्टो हुन्छ। खाना नखाँदा आमाशयमा जम्मा भएका एसिड आन्द्रामा पुग्छन् र घाउलाई झन् दुखाउँछन्। भोको बस्दा झन् दुख्ने भएकाले यस्ता बिरामी २-३ घण्टामा खाइरहन्छन्। त्यस्तै पेटसम्बन्धी धेरे समस्यामा बान्ता गरेपछि दुःखाइ कम हुन्छ।
कुन बेला बढी दुख्छ ?
पिनासका कारणले हुने टाउको दुःखाइ बिहानदेखि दिउँसोसम्म बढ्दै जान्छ र साझ परेपछि कम हुन्छ। मिर्गौला र पिसाव नलीको पत्थरी भएकाहरूमा पिसाब गर्ने बेलामा दुःखाइ बढेर जान्छ, अरू बेला अलिक कम हुन्छ। वाथको कारणले हुने जोर्नीको दुःखाइ बिहान उठ्दा अत्यधिक हुन्छ र बिस्तारै काम गर्दै गएपछि कम हुन्छ।
सहन सकिन्छ ?
सामान्य झाडापखाला लाग्दा पेट पनि सामान्य मात्र दुख्छ। पत्थरी हुँदा पनि दुःखाइ सहन सकिन्छ तर बाथको जोर्नी दुःखाइ हृदयघातको मुटु दुःखाइ र कुनै पनि क्यान्सरको दुःखाइ सहनै नसकिने किसिमको हुन्छ। हुन त सबै दुःखाइ कष्टप्रद हुन्छ। कति दुख्यो भनेर नाप्ने कुनै यन्त्र भने छैन तर प्रसव अवस्थाको दुःखाइ सबैभन्दा अत्यधिक हुन्छ भनेर चिकित्सकहरूले पनि भन्ने गरेका छन्।
दुःखाइसँगै आउने अरू समस्या जस्तै वान्ता आउने, ज्वरो आउने, पखाला चल्ने, चिटचिट पसिना आउने, रिँगटा लाग्ने जस्ता कुराले पनि शारीरिक दुःखका कारण केलाउन मद्दत गर्छन्। बिरामीसँग कुरा गरेर मात्रै पनि रोग अनुमान गर्नसकिने भए पनि विस्तृत जाँच वा प्रयोगशाला परीक्षण नगरिकन रोग यही हो भनेर उभ्याइहाल्न भने सकिँदैन।