नेपालमा राणाहरूले १०४ वर्षसम्म जहानियाँ एकतन्त्रीय शासन व्यवस्था चलाए पनि उनीहरूले नेपालमा अत्यन्त महत्त्वपूर्ण उपलब्धिहरू छोडेर गए, जुन अहिले पनि नासोका रूपमा रहेको पाइन्छ। ती नासोका रूपमा रहेका गोरखापत्र र जनकपुर जयनगर रेल सेवा हुन्। गोरखापत्रले ११२ वर्षको वृद्ध हुने अवसर पाएको छ भने जनकपुर जयनगर रेल सेवाले ७३ वर्षदेखि नेपाली र भारतीय जनतालाई निरन्तर सेवा दिंदै आएको छ।
राणा प्रधानमन्त्री देवशम्सेर र जुद्ध शम्सेरले क्रमशः १९५८ सालमा र १९९४ सालमा स्थापना गरी हालसम्म सञ्चालनमा आइरहेको गोरखापत्र र जनकपुर जयनगर रेल सेवाको इतिहास हेर्ने हो भने दुवै संस्थाले सञ्चार र यातायातका क्षेत्रमा ठूलो योगदान गरेको कुरालाई पनि बिर्सन सक्दैनौं। मुलुकका लागि विकासको पूर्वाधार भनेको सञ्चार र यातायात भएकाले त्यतिबेलाको अन्धकारको समयमा सञ्चार र यातायातको विकास हुनु भनेको निकै ठूलो उपलब्धि मान्न सकिन्छ। राणाकालीन यी दुई उपलब्धिमध्ये गोरखापत्रले ११२ वर्षको उमेरलाई यौवनावस्थाको उमेर झैं मानेर निजी क्षेत्रका सञ्चार माध्यमहरूसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ भने करिब ३६ वर्षपछि जन्मिएको जनकपुर रेल्वेको अवस्था दिनप्रतिदिन बिग्रदै गएर कुन दिन थला पर्ने हो ठेगान छैन।
नेपालमा सञ्चार क्षेत्रको कुरा गर्नुपर्दा वि. सं. १९५८ सालदेखि प्रकाशन प्रारम्भ भएको गोरखापत्रले २०५० साल फागुनसम्म एकलौटी रूपले आˆनो प्रभुत्व नेपाली सञ्चार क्षेत्रमा कायम गर्यो भन्दा कुनै अत्युक्ति हुन्न। किनभने त्यतिबेलासम्म नेपालमा दैनिक पत्रिकाका रूपमा कुनै पनि पत्रिकाले प्रकाशन सुरु गरेका थिएनन्। थिए भने राजनीतिक पार्टीहरू प्रतिबन्धित भए पनि राजनीतिक चेतना जगाउनका लागि केही साप्ताहिक पत्रिका भने प्रकाशनमा थिए। ती पत्रिका पनि तत्कालीन सरकारको आँखामा परेका कारणले गर्दा लुकीछिपी प्रकाशनमा आउने गरेको कुरा सर्व विदितै छ। यस्तो अवस्थामा एउटा गोरखापत्रले मात्र नेपालमा सञ्चार क्षेत्रको भूमिका निर्वाह गरेको थियो।
एउटा महत्त्वपूर्ण कुरा के हो भने गोरखापत्रले हालसम्म हजारौँ पत्रकार र लेखकहरू जन्माएको कुरालाई भने हामी कहिल्यै बिर्सन सक्दैनांै। भनौं पत्रकारितामा गोरखापत्रले न्यूज बेसिकको संवाददातादेखि लिएर प्रधानसम्पादकसम्म जन्माएको छ। धेरैलाई पत्रकारिता सिकाएको छ भने धेरै गुम्सिएर बसेका प्रतिभाहरूलाई सर्जकका रूपमा मुलुकमा चिनाएको छ जुन गोरखापत्रले गरेको एउटा महत्त्वपूर्ण योगदान हो भन्दा कुनै अत्युक्ति हुँदैन।
राणाहरूले खासगरी आˆनो स्वार्थका लागि र सन्तान दरसन्तानका लागि गरेका कामहरू नै २००७ सालपछि गएर जनताले उपभोग गर्ने अवसर पाएका हुन्। जनकपुर जयनगर रेलसेवा वास्तवमा भन्ने हो भने राणा प्रधानमन्त्री जुद्ध शम्सेरले तत्कालीन अवस्थामा धनुषा र महोत्तरी जिल्लाको सखुवा जातको काठ भारत निकासी गरी आˆनो आर्थिक हैसियतलाई बलियो पार्ने उद्देश्यले सञ्चालनमा ल्याएका थिए। तर पछि गएर सो रेलसेवाले मालसामान ओसार्ने काम सँगसँगै भनौं वा स्थानीय जनताको माग अनुसार यातायातको साधनका रूपमा समेत उपयोग गर्न थालेको पाइन्छ।
यो रेलसेवाले सुरुमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको जयनगरदेखि नेपाली भूमि धनुषाको जनकपुर हुँदै महोत्तरी जिल्लाको बिजलपुरा सम्मको करिब ५३ किलोमिटर दूरीमा सञ्चालन भए पनि वि.संं. २०५९ सालमा विग्ही नदीमा आएको बाढीले सो खोलाको पुल बगाएपछि दूरी छोटिएर हाल २९ किलोमिटरसम्म मात्र सेवा सञ्चालन भइरहेको छ। जसका कारण महोत्तरी जिल्लाका करिब डेढ दर्जन गाउँ विकास समितिका जनता सेवाबाट वञ्चित भएका छन्।
जनकपुर रेल्वेसँगै सञ्चालनमा आएको जापान र बेलायतको रेल सेवाले विद्युतीय प्रविधिबाट सेवा सञ्चालन गर्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ। त्यहाँको रेल प्रतिघण्टा करिब ४५० किलोमिटरका दरले दौडन्छ भने नेपालको एक मात्र र हाल नमुनाकै रूपमा रहेको रेलसेवा लाई २९ किलोमिटरको दूरी पार गर्न दुई घण्टाभन्दा पनि बढी समय लाग्छ। तर जे होस् हामी नेपालीलाई एउटा कुरामा भने ठूलो गौरव छ, त्यो गौरव भनेको कछुवा गतिकै भए पनि नेपालमा पनि रेल सेवा 'न्यारो गेज' मा भए पनि सञ्चालनमा छ भन्दा अत्यन्त खुशी लागेर आउँछ।
भारतमा तत्कालीन अवस्थामा इस्ट इन्डिया कम्पनीले शासन गरिरहेको थियो र राणाहरूलाई खुशी पारेर नेपालबाट केही फाइदा लिन सो रेल सेवा सञ्चालन गरेको थियो। जुन रेलसेवाको इन्जिन बेलायतबाट र सामान ढुवानी गर्ने बोगी भनौं वा यात्रुबाहक डिब्बा चाहिं भारतबाट ल्याएर सञ्चालनमा आएको र सुरुमा कोइलाले सञ्चालित रेल सेवा अत्यधिक खर्चका कारण घाटामा गएकाले वि.सं. २०५० सालदेखि डिजेलबाट रेल सेवा सञ्चालनमा ल्याएपछि भने रेल्वेले केही नाफामा चल्ने अवसर पाएको थियो। अर्को महत्त्वपूर्ण कुरा के हो भने नेपालको एकमात्र जयनगर जनकपुर रेल्वेसँग विश्वमै दुर्लभ मानिएको इस्टिम -वाष्प) इन्जिन रहेको छ। सो इन्जिन हालसम्म दुईवटा मात्र रहेको र एउटा नेपालमा छ। सो इन्जिन नेपालको रेलसेवाले हाल जनकपुरस्थित ग्यारेजमा राखेको छ भने अर्को इन्जिन अस्टे्रलियामा रहेको कुरा सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
पटकपटक दुर्घटनामा परे पनि, सयौं हण्डर खाएर बाँच्न विवश यो रेल्वेले अरूभन्दा पनि नमुनाकै रूपमा नेपालमा पनि रेल सेवा छ भन्ने साइनोमा पारेको छ। यसको विकास र विस्तारका लागि नेपालमा केही महिनाअघि रेल विभाग गठन भएकाले नेपालमा अब रेल सेवाको विकास हुन्छ कि भन्ने झिनो आशा पलाएको छ। हुन त नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै र काठमाडौँ, पोखरा, रक्सौल अमलेखगन्ज, जोगबनी, धरान, लगायतका ठाउँमा रेलसेवा सञ्चालन गर्ने भन्ने मौखिक योजना धेरैपटक सरकारले अघि सारेको भए पनि हालसम्म पूरा हुन भने सकेको छैन। जयनगर जनकपुर बिजलपुरा हुँदै बर्दिबाससम्मको करिब ७० किलोमिटर दूरीमा भारत सरकारको सहयोगमा रेलसेवा सञ्चालन गर्ने योजना अनुरूप सर्भेक्षण भएको छ तर काम कहिले सुरु हुने हो अन्योल रहेकाले राणाकालीन नासो मासिने सङ्केत हामी सबैका सामु प्रष्ट रूपले देखिएको छ।
सरकारले रेल्वेको सुदृढीकरण तथा विकास, मर्मत सम्भारका लागि भनेर पटकपटक गरी करोडाँै रुपियाँ खर्च गरिसकेको भए पनि सो लगानी वास्तवमा भन्ने हो भने हालसम्मको परिणाम हेर्दा बालुवामा पानी हालेसरह नै भएको छ भन्दा अत्युक्ति हुँदैन। जब रेल्वेमा राजनीतिक रूपमा नियुक्ति गर्न थालियो त्यो समयदेखि नै रेल्वेले घाटा बेहोर्नुपर्यो र सो क्रम हालसम्म पनि चलि नै रहेको छ। राजनीतिक दलका कार्यकर्ता पाल्ने संस्थाका रूपमा सरकारी संस्थानहरूको उपयोग गर्न थालेपछि भने नेपालमा धेरै संस्थानहरूले विघटन हुनुपरेको र त्यहाँ कार्यरत कर्मचारीको हविगतबाट विरलै अनभिज्ञ छन्।
हुन त नेपालमा राणा कालमै वि.सं. १९६८ सालमा फर्पिङ जलविद्युत् गृहका नामले नेपालकै पहिलो विद्युत् उत्पादक संस्थाको स्थापना भएको थियो। जसले सयवर्ष पार गरिसकेको छ। यो पनि राणाहरूकै नासोका रूपमा रहेको छ। काठमाडौँका जनताले मात्र उपभोग गर्ने सो विद्युत् गृहभन्दा अगाडि नेपालमा विद्युत्को विकास भएको थिएन। जे होस् नेपालमा राणाहरूले आˆनो स्वार्थका लागि जे जति गरे ती पछि गएर सर्वसाधारण जनताले पनि उपभोग गर्ने अवसर पाए। आजको सन्दर्भमा यी सबै कुरा नेपालीको मन मस्तिष्कमा बसिरहेको छ भने यसलाई अहिलेका राजनीतिक दलहरूले सम्झन पनि सक्दैनन्। एकोहोरो रूपले राणाहरूलाई हेर्ने र गाली गर्ने प्रवृत्तिले गाँजिएका छन्। यसो भन्दैमा मैले राणाहरूको पक्षमा वकालत भने गरेको होइन कि उनीहरूले पनि नेपालमा केही राम्रा काम गरेका थिए र आज हामीले उनीहरूले गरेको कामको नासो देख्न पाएका छौँ मात्र भन्न खोजेको हुँ।