काठमाडौँ, वैशाख २९ गते। निजीक्षेत्रको रेमिट्यान्स कम्पनी एक्सप्रेस मनीले एसियन ट्रेकिङसँगको सहकार्यमा इको-एभरेस्ट एक्सपिडिसन २०१२ सुरु गरेको छ। कम्पनीद्वारा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत अभियान अन्तर्गत सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्पदेखि चुचुरोसम्मको क्षेत्रमा जम्मा भएको फोहरलाई हटाई सफाइ गरिने जानकारी गराइएको छ।
अभियानको नेतृत्व एसियन ट्रेकिङका निर्देशक दावा स्टिभन शेर्पा र सगरमाथाको २१ पटक आरोहण गरी कीर्तिमान कायम गर्न सफल आरोही आप्पा शेर्पाले गर्ने सो अवसरमा बताइएको छ। पत्रकार सम्मेलनमा बोल्दै एक्सप्रेस मनीका ग्लोबल मार्केटिङ र कम्युनिकेसनका उपाध्याक्ष भिनेश नायरले हिमालय क्षेत्रको जैविक विविधता र पर्यावरण संरक्षणको महìवलाई बुझेर उक्त अभियानमा लागेको बताउनुभयो।
सगरमाथा क्षेत्रका लागि यो अभियान पर्यावरण संरक्षणलगायत आसपासमा बसोबास गर्ने सबैका लागि फलदायी हुने विश्वास लिँदै अभियानले पुनः एकपटक हिमाली क्षेत्रको सौन्दर्यलाई पुरानै अवस्थामा पुर्याउन मद्दत पुग्ने अपेक्षा लिनुभयो।
त्यस अवसरमा एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले विश्वभरबाट तथा नेपालभित्रैबाट पर्यटकहरू उत्तम, सफा र दिव्य सर्वोच्च शिखर सगरमाथा हेर्ने आसा लिएर आउने भएकाले यो क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिनुभयो।