दोलखा, वैशाख ३० गते। दोलखाको किर्नेस्थित खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको निर्वाचनमा विवाद पछि तनाव उत्पन्न भएको छ। नयाँ नेतृत्व चयनका लागि निर्वाचन भइरहेका बेला फुलासी बुथमा बाबुराम पुलामी उम्मेदवार पक्षधरले विवाद निकालेपछि तनाव उत्पन्न भएको बताइएको छ। झण्डै आधा मत खसिसकेपछि विवाद सुरु भएको थियो।
पुलामी पक्ष र अर्का उम्मेदवार भरत सिंह वाईवा पक्षबीच नाराबाजी भएको छ। फुलासी बुथमा विवाद उत्पन्न भएपछि अन्य ११ वटा बुथको निर्वाचन पनि प्रभावित भएको स्थानीयवासीले बताएका छन्।
किर्नेस्थित खिम्ती ग्रामीण सहकारी संस्थाको कार्यालय परिसरमा भएको निर्वाचनमा दोलखा र रामेछापका गरी करिब पाँच हजार चार सय सेर सदस्यले मतदान गर्छन्। सहकारी सञ्चालक समितिको सदस्यका लागि दोलखाका ४ र रामेछापका सात गाविसबाट ११ जना प्रतिनिधि चयन हुनेछन्।
निर्वाचित सदस्यहरू मध्येबाट एकजना अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ। आगामी दुई वर्षका लागि हुने निर्वाचनमा ४३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन स्थलको सुरक्षाका लागि दोलखा र रामेछापबाट जनपथ तथा रामेछापबाट सशस्त्र प्रहरी बल गरी ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।