काठमाडौँ, वैशाख ३० गते। करको प्रमुख स्रोत भएर पनि न्यूनरूपमा मात्र कर असुली भइरहेको घर बहाल कर सङ्कलनमा आन्तरिक राजस्व विभागले कडाइका साथ अभियान सुरु गरेको छ। त्यसका लागि विभागले घर बहाल कर निर्देशिका जारी गरी घर बहाल कर कार्ड वितरण गर्न सुरु गरेको छ।
घर बहाल कर असुलीलाई व्यवस्थित गर्न अब खाने पानी, टेलिफोन र विद्युत् प्राधिकरणको जस्तै कार्ड वितरण गरिने आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले बताउनुभयो। हाल करको दायरमा आउँदै नआएका नगर क्षेत्रका आवसीय घरहरूलाई करको दायरमा ल्याउन असार मसान्तसम्ममा २५ हजार पाँच सय कार्ड वितरण गरिने लक्ष्य विभागको रहेको छ। त्यसमा उपत्यकाभित्र २० हजार पाँच सय र उपत्यका बाहिरका नगर क्षेत्रमा पाँच हजार कार्डहरू वितरण गरिने महानिर्देशक शर्माले बताउनुभयो।
अहिलेसम्म नगर क्षेत्रका व्यवसायिक घरहरू करको दायरमा आए पनि आवासीय घरहरूलाई भने विभागले करको दायरमा ल्याउन सकेको छैन। दायरमा आएका व्यावसायिक घरहरूले पनि आम्दानीअनुसार कर नतिरेको पाइएको विभागका अधिकारीहरू बताउँछन्।
उपत्यकाभित्रमा १३ वटा सेवा कार्यालय, काठमाडौँ महानगरपालिका ३५ वटा वडा कार्यालय, ललितपुर र भक्तपुरका आन्तरिक राजस्व कार्यालयसमेतबाट कर सङ्कलनलाई तीव्रता दिइनेछ।
उपत्यकाभित्र मात्र झण्डै पाँच लाख र चक्रपथभित्र मात्र दुई लाख ५० आवासीय घरहरू करको दायरमा आउने अनुमान गरिएको छ। त्यस्तै, उपत्यका बाहिरका नगर क्षेत्रमा पनि करको दायरमा आउने आवासीय घरहरू थुप्रै रहेको विभागले जनाएको छ। यी सबै आवासीय घरहरूलाई करको दायरमा ल्याउन सके वाषिर्क १० अर्ब रुपियाँभन्दा बढी थप कर असुली हुन सक्ने अनुमान छ।
बहाल करलाई व्यवस्थित गर्न पहिलो चरणमा विभागले सूचनामार्फत अनुरोध गरेको र यो प्रभावकारी नभए महानगर र नगरपालिकाबाट घर धनीहरूको नामावली लिएर सबैलाई चिठी पठाइने योजना विभागको रहेको छ। यो आफैँले घोषणा गरेर तिर्नुपर्ने कर भए पनि अहिलेसम्म त्यो कार्यान्वयनमा नआएकाले विभागको ध्यानाकर्षण भएको शर्माको भनाइ छ।