काठमाडौँ, वैशाख ३० गते। अग्नि एयरले शनिवार यति एयरलाइन्सलाई सात विकेटले हराएर प्रथम वाईवाई कर्पोरेट पि्रमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने यति एयरलाइन्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १०३ रनको योगफल तयार पारेको थियो। अग्नि एयरले लक्ष्य १७.४ ओभरमा तीन विकेटको क्षतिमा १०४ रन बनाई हासिल गर्यो।
गौरव जैनले ४२ बलमा अविजित ६१ रनको पालि खेलेपछि अग्निले सहजै लक्ष्य पछ्यायो। गौरवको पालिमा दस चौका सामेल थियो। मोहम्मद राफीले प्रारम्भिक ब्याट्सम्यानद्वय नाजिर शेख -१२ रन) र प्रज्ज्वल श्रेष्ठ -११ रन) लाई सस्तोमै पभेलियन फर्काएपछि यति बलियो स्थितिमा देखिन्थ्यो तर म्यान अफ दि म्याच गौरवको पालीपछि यति निराश बन्यो। गौरव प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी पनि घोषित भए।
यसअघि, अग्निको तर्फबाट प्रयोग भएका पाँचै बलरले विकेट लिएका थिए। सौरभ केसीले सर्वाधिक तीन विकेट हात पारे। अविनास गिरी, गौरव, रविन्द्र सिंह र राहुल बन्सल भागमा दुई, दुई विकेट पर्यो।
प्रतियोगितामा यतिका रवि शर्मा सर्वश्रेष्ठ ब्याट्सम्यान घोषित भए। सर्वश्रेष्ठ बलरको पुरस्कार म्याक्स मिडियाका सरोज महर्जनले पाए।