काठमाडौँ, वैशाख ३० गते। एसीसी यू- १६ इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न नेपालको अगाडि आयोजक मलेसिया तगारोको रूपमा उभिएको छ। चालू प्रतियोगितामा नेपाल मात्र अपराजित टोली हो।
नेपाल लगातार दोस्रो पटक उत्कृष्ट फाइनलमा पुगेको हो। पछिल्लो संस्करणमा नेपाल फाइनलमा सिंगापुरसँग हारेको थियो। आइतवार उपाधि जितेमा नेपालले एसीसीअन्तर्गत उमेर समूहका प्रतियोगिता 'क्लिनस्वीप' गर्नेछ। नेपालले अहिलेसम्म जित्न नसकेको उमेर समूहको उपाधि यू-१६ मात्र हो।
नेपालले समूह चरणमा मलेसियालाई एक विकेटले हराएको थियो। यसैगरी, अहिलेसम्म मलेसियासँग सिनियर र उमेर समूहमा हार नव्यहोरेकोले पनि नेपाल उपाधि दाबेदार देखिन्छ। यद्यपि समूह चरणमा हारे पनि मलेसियाले नेपाललाई कडा टक्कर दिएको थियो। यसैगरी, फाइनल खेलिने केनेरा ओवलमा मलेसियाको प्रदर्शन राम्रो छ।
नेपाली टोलीका प्रशिक्षक पनि फाइनलमा बढी आत्मविश्वासी भएर जोखिम उठाउने पक्षमा छैनन्। यसैगरी, उनले खेलाडीलाई मानसिक तथा शरीरिक थकानबाट मुक्त राख्न आराम दिएका छन्। उनी भन्छन्- फाइनलअगाडि जोखिम लिनु हुँदैन। अभ्यासको क्रममा प्रमुख खेलाडी हल्का घाइते भएमा पनि त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसैगरी, फाइनलअघि खेलाडीहरूलाई आराम दिएको छु।
मलेसियाले भने फाइनलअगाडि नेटमा कडा अभ्यास गरेको छ। मलेसियाका प्रशिक्षक विलाल असाद यसपटक नेपाललाई हराउने दाउमा छन्। 'हामी जितप्रति ढुक्क छौँ- प्रशिक्षक असाद भन्छन्। चालू प्रतियोगितामा प्रदर्शन हेर्ने हो भने मलेसियाको तुलनामा नेपाली बलियो देखिन्छ। नेपालका पाँच ब्याट्सम्यानले अर्धशतकीय पाली खेलिसकेका छन्।
नेपालका प्रारम्भिक ब्याट्सम्यान नुरुध्वज सेनले पाँच खेलबाट सर्वाधिक १६७ रन बनाएका छन्। कप्तान दीपेन्द्र चन्द पनि र्फममा छन्। उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो स्थानमा छन्। अलराउन्डर तथा विस्फोटक ब्याट्सम्यान जगदीशले पनि दुई पटक अर्धशतक बनाएर मध्यक्रमलाई दरिलो बनाएका छन्। पुछारका आकाश विष्ट, रूपेश विष्ट तथा कालिचरण यादवले पनि तेजगतिमा ब्याटिङ गर्न सक्छन्।
नेपालका प्रशिक्षक खान पनि नेपालका एक/ दुई ब्याट्सम्यान मात्र चम्के पनि मलेसियालाई गाह्रो हुने बताउँछन्। 'हाम्रो ब्याटिङ बलियो छ, ब्याट्सम्यानको प्रदर्शन स्थिर पनि छ, यद्यपि मैले प्रारम्भिक जोडीबाट फाइनलमा धेरै आशा गरेको छु- प्रशिक्षक खानले भने।
मलेसियाका प्रशिक्षक असादले भने फाइनलमा नेपाली ब्याटिङ नचल्ने दावी गरे। हाम्रो बलिङ राम्रो छ, नेपाली ब्याट्सम्यानहरूविरुद्ध हामीले योजना बनाएका छौँ- उनले भने।