काठमाडौँ, जेठ १ गते। नेकपा एमाले स्थायी कमिटी बैठकले असहमतिका विषयलाई थाती राखेर जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने निर्णय गरेको छ। नेकपा एमाले संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले प्रदेशको नामाङ्कन र सीमाङ्कनलगायत अन्य असहमतिका विषयलाई रूपान्तरित संसद्ले टुङ्ग्याउने गरी संविधान जारी गर्नुपर्ने निर्णय गरेको हो।
बैठकपछि नेकपा -एमाले)का उपाध्यक्ष वामदेव गौतमले सहमतिलाई समेटेर जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने बताउनुभयो। "संविधानसभाको म्याद अब थप्न सकिन्न", असहमतिका विषयलाई रूपान्तरित संसद्मा पठाउने गरी दलहरूबीच सहमति जुट्नसक्ने भन्दै उपाध्यक्ष गौतमले भन्नुभयो, "संविधानसभाले तयार गरेको विधिअनुसार प्रदेशको नाम र सीमाङ्कनलाई संसद्ले टुङ्गो लगाउनेछ।"
त्यस्तै एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनजाति सभासद् एवं क्षेत्रीय इन्चार्जहरूसँगको छलफलमा जेठ १४ भित्र जसरी पनि संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ।