काठमाडौँ, जेठ १ गते। नेपाल कुवेत उद्योग वाणिज्य सङ्घले नेपालको चारदिने भ्रमणमा आउनु भएका कुवेती विदेश मन्त्रालयका उच्च अधिकारीहरूको सम्मानमा यहाँ स्वागत समारोहको आयोजना गर्यो।
कुवेती प्रतिनिधि मण्डलका प्रमुख महमद अहमद अल-मुजि्रम अल-रुमीसहितको टोलीको स्वागतमा आयोजित कार्यक्रममा अल-रुमीले नेपालसँग आर्थिक र तथा व्यापारिक सम्बन्ध बढाउन आफूहरू इच्छुक रहेको भन्दै दुई देशबीच सन् १९७२ देखिको सम्बन्ध विस्तार गर्न आर्थिक सम्बन्धलाई बढाउनु जरुरी रहेको बताउनुभयो।
उहाँले नेपालमा लगानी तथा पर्यटन विकासको राम्रो संभावना रहेको भन्दै सुन्दर मुलुक भएकाले पर्यटक आकर्षण गर्न नेपालसमक्ष हुने विश्वास व्यक्त गर्नुभयो। कुवेतमा कार्यरत ५० हजार नेपाली कामदार मेहनती रहेको भन्दै नेपाली कामदारहरूले कुनै पनि समस्या सिर्जना नगर्ने गरेको बताउनुभयो।
कुवेतमा नेपाली दूतावास स्थापना भएको दुई वर्ष भइसकेको र नेपालमा पनि चाँडै नै कुवेती दूतावास खोलिने अल-रुमीले स्पष्ट पार्नुभयो।
सङ्घका अध्यक्ष सुरेन्द्रवीर मालाकारले नेपालबाट हस्तकला, पश्मिना, गरगहना, चिया, कफी, कृषिकजन्य वस्तु कुवेत निर्यातको संभावना रहेको र नेपालमा पर्यटन, कृषि, जलस्रोत जस्ता क्षेत्रमा कुवेतसँग संयुक्त लगानी गर्न सक्ने भन्दै नेपालमा कुवेती पर्यटक वृद्धिका लागि सहयोग गर्न आग्रह पनि गर्नुभयो। उहाँले नेपालले सन् २०१२/१३ लाई लगानी वर्ष घोषणा गरेको भन्दै बाहृय लगानीलाई प्रोत्साहन गर्ने कुरामा नेपालको निजी क्षेत्र सहयोगी भएर काम गर्ने बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले नेपाल शान्ति प्रक्रिया र संविधान निर्माण कार्य टुङ्ग्याउने क्रममा रहेकाले लगानीका लागि आह््वान गर्नुभयो।
महासङ्घकी उपाध्यक्ष भवानी राणाले बाहृय लगानी प्रवर्द्धन गर्न र लगानी वर्ष सफल बनाउने कार्यमा महासङ्घ क्रियाशील रहेको भन्दै नेपाल कुवेती लगानीकर्ताका लागि राम्रो स्थान हुनसक्ने बताउनुभयो। एकतीस ३१ करोड रुपियाँ व्यापार घाटा रहेको कुवेतले नेपालमा जलविद्युत् आयोजना निर्माण, सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सहयोग गर्दै आएको छ।