काठमाडौँ, जेठ २ गते। मुलुकमा लामो समयदेखि रहँदै आएको राजनीतिक अस्थिरतालाई चिर्दै प्रमुख राजनीतिक दलहरूबीच मुलुकको शासकीय स्वरूप र सङ्घीयतालगायतका विषयमा भएको सहमतिको असर पुँजी बजारमा सकारात्मक असर देखिएको छ। सोमबार राति नै दलहरूबीच सहमति बन्ने आशा पलाएको र मङ्गलबार बैठकमा सहमति हुने समाचारले गर्दा सेयर खरिदकर्ताको माग हृवात्तै बढेको र बिक्री गर्नेको सङ्ख्या ज्यादै न्यून भएका कारण नेप्सेमा दुईपटक सक्रिर्ट ब्रेकरसहित झन्डै दुई घण्टा मात्र कारोबार सम्भव भएको हो।
नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार भएको कारोबारमा नेप्से १८.७१ अङ्कको बढोत्तरीसहित नेप्से ३९१.८९ को अङ्क बन्द भएको छ।
साताको दुई दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको भए पनि मङ्गलबार भएको वृद्धिले नेप्से चार सयको नजिक पुगेको र त्यस्तो बढोत्तरी आगामी दिनमा पनि जारी रहने विश्वास विज्ञहरूले गरेका छन्।
दलहरूबीच भएको सहमतिले गर्दा एमालेसमेत सरकारमा सहभागी हुने निर्णयले राजनीतिक अस्थिरता कम हुने दिशामा थप बल मिलेको र लामो समयपछि सहमतीय सरकारमा प्रमुख दलहरू एकैठाउँमा आएकाले त्यसको सकारात्मक असर बजारमा पर्ने निश्चित देखिएको छ।
नेप्सेमा मङ्गलबार कुल ६५ कम्पनीको पाँच सय ६७ वटा कारोबारबाट एक लाख ३५ हजार ९२ कित्ता सेयरको कारोबार भई चार करोड सात लाख ५० रुपियाँ बराबरको सेयर खरिदबिक्री भएका छन्। नेप्सेमा कारोबार सुरु हुने बित्तिकै खरिदकर्ताको उच्च माग भए तापनि बिक्री गर्नेको सङ्ख्या ज्यादै न्यून मात्र भएकाले स-सानो कित्ताको कारोबारबाट नै बजार मूल्य बढाउने प्रयास भएकाले कुल कारोबार भने निकै कम भएको हो।
नेप्सेमा आगामी दिनमा निरन्तर बढोत्तरी हुने निश्चित भएकाले पनि धेरै लगानीकर्ताले सेयरको उचित मूल्य आएपछि मात्र बेच्ने जोहोमा अहिले सेयर बेच्न तयार नभएका कारण पनि आगामी केही दिन नेप्सेमा उच्च बढोत्तरी हुने तर कारोबार भने उच्च नहुने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।
नेप्सेमा कमाउने प्रमुख कम्पनीहरूमा स्ट्यान्डर्ड चार्टर बैङ्क १७४, नबिल बैङ्क १२१, एभरेस्ट बैङ्क ९०, चिलिमे हाइड्रो पावर ७६ रुपियाँ, बैङ्क अफ काठमाण्डू ५८, एसबीआई बैङ्क ५७ र एनआईसी बैङ्क ५१ रुपियाँ प्रमुख रहेका छन्।