नयाँदिल्ली, जेठ २ गते। वेस्टइन्डिजका ड्वायन ब्राभोले अन्तिम बलमा छक्का प्रहार गरेपछि मङ्गलबार राति चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएको छ।
यस जितसँगै गतविजेता चेन्नई १७ अङ्कसहित चौथो स्थानमा उक्लेको छ। कोलकाता पनि समान १७ अङ्कमा छ तर राम्रो रन औसतले कोलकाताको तेस्रो स्थान कायम छ।
पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। गतिका तेजबलर रजत भाटियाले फालेको अन्तिम ओभरको अन्तिम बलमा ब्राभोले -११)ले मध्यम छक्का प्रहार गरेपछि चेन्नईले पाँच विकेटको क्षतिमा १६० रन बनाई जित हासिल गर्यो।
प्रारम्भिक ब्याट्सम्यानद्वय माइक हसी -५६) र मुरली विजय -३६)ले ९७ रनको साझेदारी गरेपछि चेन्नईले जवाफ दिने क्रममा राम्रो सुरुवात गरेको थियो। अफस्पिनर सुनील नरिनले दुवै ब्याट्सम्यानलाई तीन बलको अन्तरमा आउट गरे।
चेन्नईलाई खेल जित्न अन्तिम बलमा पाँच रन बनाउन आवश्यक थियो। भाटियाले दबाबमा 'फुलटस' फाले र ब्राभोलाई छक्का प्रहार गर्न सजिलो भयो। यसअघि भाटियाले सुरेश रैनालाई गरेको रनआउटसमेत तीन विकेट लिएर चेन्नईलाई दबाबमा पारेका थिए। उनले रैनालाई रनआउट गरेपछि फाफ डु प्लेसिस -१३ रन) र कप्तान महेन्द्रसिंह धोनी -२८ रन)लाई अन्तिम ओभरमा आउट गरेका थिए।
यसअघि कोलकाताले राम्रो सुरुवातको फाइदा उठाउन सकेको थिएन। प्रारम्भिक ब्याट्सम्यानद्वय कप्तान गौतम गम्भीर -६२) र ब्रेन्डन म्याककुलम
-३७)ले पहिलो विकेटका लागि ९९ रन बनाए पनि कोलकाता मध्यम योगफलमा सीमित बनेको थियो। एजेन्सी