हेटौँडा, जेठ ६ गते। क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रका रूपमा परिचित हेटौँडा औद्योगिक क्षेत्र विस्तारको तयारी गरिएको छ।
औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएपछि औद्योगिक क्षेत्र विस्तारको तयारी गरिएको हो। मकवानपुर उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ हेटौँडा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योगसम्बद्ध सरोकारवालाहरूको पहलमा औद्योगिक क्षेत्र विस्तारका लागि नयाँ जग्गा खोज्ने काम अघि बढेको छ। नयाँ क्षेत्र विस्तारका लागि हेटौँडा नगरपालिकासँग जोडिएको चुरियामाई गाविसका सामुदायिक वन क्षेत्रतर्फ सरकोरवालाहरूले ध्यान केन्दि्रत गरेका छन्।
नयाँ जग्गा खोजीका लागि गठित समितिले औद्योगिक क्षेत्रबाट दक्षिणतर्फ रहेको महिला सिर्जना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ७० रोपनी जग्गा उपयुक्त रहेको भन्दै त्यसतर्फ पहल अघि बढाएको छ।
समितिका संयोजकसमेत रहनुभएका मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भुवनलाल श्रेष्ठले वन क्षेत्रको खेर गइरहेको जग्गालाई सदुपयोग गर्न सके नयाँ उद्योगहरू भित्र्याउन सकिने बताउनुभयो। समितिले चुरियामाई गाविसका अन्य दुईवटा सामुदायिक वन क्षेत्रमा पर्ने करिब एक सय बिघा क्षेत्रफलको अर्काे प्लटलाई पनि औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सकिने भन्दै पहल अघि बढाएको छ।
चुरियामाई गाविसमा रहेको चित्रेपानी सामुदायिक वन र सिमानामा पर्ने अर्काे एक सामुदायिक वन क्षेत्रमा आफूहरूले अध्ययन गरिरहेको श्रेष्ठले बताउनुभयो। "औद्योगिक क्षेत्रसँगै जोडिएको पनि छ-अध्यक्ष श्रेष्ठले भन्नभुयो- सबै हिसाबले वन क्षेत्रका जग्गा उपयुक्त हुने देखिएकाले हामीले सरोकारवालाहरूसँगको छलफललाई तीव्रता दिएका छाँै।" सम्भावित दुवै स्थानको जग्गा प्राप्तिका लागि वन समूहका पदाधिकारी, उपभोक्ता, स्थानीय राजनीतिक दललगायतसँग छलफल गरिरहेको उहाँको भनाइ छ।
नयाँ उद्योग स्थापनाका लागि हाल औद्योगिक क्षेत्रमा दर्जनौँ निवेदन आए पनि जग्गा उपलब्ध गराउन नसकेको आद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक राजकुमार मण्डलले जानकारी दिनुभयो। दुई हजार ८२९ रोपनी क्षेत्रफल ओगटेको औद्योगिक क्षेत्रका थुप्रै ठाउँ बन्द उद्योगले ओगटिरहेका कारण पनि जग्गाको अभाव भएको हो।
उद्योग स्थापना गर्न नपाएर उद्योगीहरू फर्किनु परेपछि हेटौँडा नगरपालिका, जिल्ला विकास समितिसहितका उद्योगसम्बद्ध संस्थाहरूले औद्योगिक क्षेत्रलाई थप जग्गा खोज्नका लागि मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा समिति बनाइएको हो। औद्योगिक क्षेत्रभित्र अहिले साना, ठूला स्वदेशी तथा बहुराष्ट्रिय गरी ५७ वटा उद्योगहरू चालु अवस्थामा छन्।