अखण्ड सुदूरपश्चिमको माग गर्दै गरिएको बन्द आन्दोलन लगातार २० दिनसम्म जारी रही जेठ ३ मा खुल्यो। एमाओवादी, काङ्ग्रेस, एमाले तीन ठूला दलका शीर्षस्थ नेताले आवश्यक परे कैलाली, कञ्चनपुरमा जनमत सङ्कलन गर्ने प्रतिबद्धता गरेपछि बन्द फिर्ता लिएको जनाइएको छ।
यता कैलाली, कञ्चनपुरलाई जुनसुकै हालतमा थरूहट प्रदेशमै राख्नुपर्ने लगायतको मागसहित थरूहट संयुक्त सङ्घर्षसमितिले जेठ १ देखि ५ सम्म गरेको तराई बन्दको कार्यक्रमलाई जेठ नौ गतेसम्म थप गरेको छ। अर्को घटक संयुक्त लोकतान्त्रिक थारू मोर्चाले अखण्ड सुदूरपश्चिमको वार्ता टोलीसँग सरकारले संझौता गरेकै दिन तराईलाई टुक्रा टुक्रा गरी विभाजित गरिएको तथा कैलाली, कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा गाभिएको बिरोधस्वरूप अनिश्चितकालीन तराई बन्दको आहृवान गरिसकेको छ।
संयुक्त मधेसी मोर्चाको उपेन्द्र यादव समूहले मघेस स्वायत्त प्रदेशमा सरकारले धावा बोलेकोले अनिश्चितकालीन तराई बन्दको आहृवान गरेका छन्। थरूहट संयुक्त सङ्घर्षसमिति तथा सरकारबीच वार्ता चलिरहेको छ, तर यो लेख तयार पार्दासम्म कुनै संझौता हुन सकिरहेको छैन।
संविधानसभाको पुनसर्ंरचना समिति तथा राज्य पुनसर्ंरचना आयोग दुवैले पहाड र तराई/मघेस जोडेर प्रदेशको खाका पेश गरेका छैनन् तर एकाएक अखण्ड सुदुरपश्चिमको वेमौसमको नारा बजेको छ। त्यसको पछि पछि अखण्ड मध्यपश्चिमको नारा पनि उर्लिन थालेको छ। सङ्घीयता नचाहनेहरूले अखण्ड सुदूर तथा मध्यपश्चिमको आवाज उठाएको आरोप थरूहट/तराई/मघेसका नेताहरूले लगाएका छन्।
प्रधानमंत्री डा बाबुराम भट्टराईलाई जेठ ४ गते थरूहट संयुक्त सङ्घर्षसमितिको ज्ञापन पत्र बुझाउने क्रममा एमाओवादीका सभासद इन्द्रजित थारूले प्रहरी, प्रशासन अखण्ड सुदूरपश्चिमकारीसँग मिलेर थरूहट कार्यकर्ता उपर आतङ्क मच्चाएको बताउँदै यस्तो क्रियाकलाप नरोकिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।
कैलाली, कञ्चनपुरमा जनमत सङ्कलन गर्ने सरकारको प्रतिबद्धता आफूहरूले नमान्ने पनि जनाउ दिए। प्रधानमन्त्री भट्टराईले आवश्यक परेमा मात्रै जनमत सङ्कलन गरिने भएकोले यसलाई अन्यथा नलिन टोली समक्ष आग्रह गरे। सभासद थारूले प्रशासनको दमन नरोकिए लडेर भए पनि कैलाली र कञ्चनपुरलाई थरूहट प्रदेशमै राख्ने अड्डी प्रधानमन्त्री सामु राखेका थिए।
बन्दको मारमा पारेका अखण्डकारी तथा कैलाली र कञ्चनपुरलाई थरूहट प्रदेशमै राख्ने थरूहट आन्दोलन्ाकारीबीच बीच बीचमा छिटफुट अपि्रय घटना भइरहेको छ । झडपमा दर्जनौ घाइते भएका छन्। जसमा प्रायः थरूहटका कार्यकर्ता हताहत भएका छन्। बैशाख २९ गते डा कृष्ण भट्टचन, ओम गुरुङ, राजकुमार लेखीलगायत जनजाति अगुवा धनगढीमा थिए। जेठ ३ मा अनिज र लाहुर्निपले राजधानीमा गरेको ११ प्रदेशको विरोध तथा थरूहट आन्दोलनमा भएको दमन विषयक पत्रकार सम्मेनमा तिनले थरूहट आन्दोलन दबाउन प्रहरी, प्रशासन आफै अखण्ड सुदूरपश्चिमकारीलाई साथ दिइरहेको आरोप लगाए। ओम गुरुङले आदिवासी जनजाति महासङ्घ कैलालीको कार्यालयमा छलफल गरिरहँदा अखण्ड सुदूरपश्चिमका कार्यकर्तासँग प्रहरी आई हतियार राखेको आशङ्कामा झोला, कोठा खानतलासी गरी अनावश्यक टर्चर गर्दा आफूलाई अर्कै मुलुकमा आइएछ कि भन्ने भान परेको बताए।
डा कृष्ण भट्टचनले भने-'थारूलाई आफूसँग भिड्न अखण्ड सुदूरपश्चिमकारीले उक्साइरहेका छन्। थारू जाग्यो भने ठूलो बिद्रोह हुन्छ, उसले गुमाउनुपर्ने केही छैन। कमैया कमलरी भएर सबै जग्गा गुमाइसक्यो। अब गुमाउने पालो शासक वर्गकै हो।'
थरूहट आन्दोलनकारीहरू संयमित देखिएका छन्। तिनलाई उल्काउन वैशाख ३० गते बेस, कैलालीको कार्यालयमा आगजनी गरियो । बेस थरूहट आन्दोलनको एक अगुवा डिल्लीबहादुर चौधरीको संस्था हो। वैशाख २६ गते बुटवलमा बाह्रमण, क्षत्री, दशनामीको आमसभामा भाग लिन जादैँ गरेको टोलीले नवलपरासीको डण्डाबजारस्थित थारू सङ्ग्रहालयमा तोडफोड तथा आगजानी समेत गर्यो।
थरूहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित भन्छन्- प्रशासन तथा अखण्डकारीहरूको व्यवहारप्रति थरूहट कार्यकर्ता रुष्ट छन्। तिनलाई हामीले नसम्हालेको भए सुदूरपश्चिममा सद्भाव नराम्ररी विथोलिने अवस्था थियो, छ। हामी भिडन्त चाँहदैनौ। समयमा पहिचान सहितको संविधान चाहन्छौं। उता डा भट्टचन थारूलाई अझै कमैया, कमलरी बनाउन उद्दत शासकहरू नै अखण्ड सुदूरपश्चिमको नारा लगाउन उक्साएको आरोप लगाउँछन्।
पहिचान विनाको प्रदेश नस्वीकार्ने भन्दै आदिवासी जनजाति -ककस) तथा संयुक्त मधेसी मोर्चाबीच पार्टी हृवीप नमान्ने निर्णय गरेपछि एक प्रकारको तरङ्ग ल्याइदिएको छ। वैशाख १५ र १६ गते संयुक्त लोकतान्त्रिक थारू मोर्चाले राष्ट्रिय राजनीतिक थारू सम्मेलन गरी अखण्ड थरूहट तराई भूमिका लागि सम्पूर्ण थारू धर्ती पुत्र आदिवासी जनजातिलाई एक हुन आहृवान गरेको थियो। जुन सम्मेलनमा नेपाली काङ्ग्रेसका उमाकान्त चौधरीले पनि ठूलो स्वरले समर्थन जनाएका थिए। 'तपाईको पार्टी काङ्ग्रेस तराईमा बहु प्रदेशको पक्षमा छ, तपाई एक थरूहटको अडानमा कसरी बस्नुहुन्छ ?' भन्ने पंक्तिकारको प्रश्नमा काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले थरूहट तराई भूमिलाई एक प्रदेश नगरिए आफू पार्टीको हृवीप नमान्ने बताएका थिए तर विडम्बना ७ जेठको एक दैनिकमा काङ्ग्रेसका मघेस केन्दि्रत सभासदहरूद्वारा तराईमा पाँच प्रदेश बनाउन माग पर्छ भन्ने शीर्षक समाचारमा समर्थन जनाउने सभासदमा पहिलो नम्बरमा उमाकान्त चौधरीकै नाम देखियो। उनी कति छिटो पार्टीको हृवीप मान्न बाध्य भए भन्ने छलङ्गियो। यसले थरूहट, तराई/मघेसको नाममा राजनीति गर्नेको वास्तविक मुकुण्डो त देखाएको छ , साथै तीन प्रमुख दलले पहिचान विनाको राज्यका लागि आफ्ना सभासदलाई फकाउन थालेको आभास समेत मिलेको छ। त्यसो त अखण्ड सुदूरपश्चिमको विरोध गर्नेले अखण्ड थरूहट/तराई/मघेसको नारा फलाक्नु पनि उचित देखिदैन। किनभने यी दुवै नारा सङ्घीयता विरोधी लाग्छन्।