युनिभर्सिटी अफ म्यासाच्युसेट्स र हार्बर्ड विश्वविद्यालयका दुई नेपालीसहितका अनुसन्धानकर्ताको एक अध्ययनले हिमालय क्षेत्रको तापक्रम विश्वका अन्य भूभागभन्दा तीन गुणा बढेको देखाएको छ। यसबाट वनस्पतिमा चाँँडै फूल लाग्न थाल्ोको लगायत धेरै किसिमका प्रभाव देखिएको उनीहरूको ठम्याइ छ। अनुसन्धान नतिजाले हिमालय क्षेत्रको जलवायु परिवर्तन विश्वका अन्य भागभन्दा द्रुतगतिमा भइरहेको पुष्टि गरेको छ। अनुसन्धाताहरूले हिमालय क्षेत्रको २५ वर्षको तापक्रम, वषर्ा चक्र, वनस्पतिको फूल फुल्ने र हरियोपनालाई समेत अध्ययनमा समेटेका छन्। उनीहरूका अनुसार हिमालय क्षेत्रमा वनस्पतिको फूल फुल्ने क्रम वर्षमा सरदर पाँच दिनले अगाडि सरेको छ। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिप्रति विश्वकै चासो बढिरहेको बेला हालैमात्र यस्तो तथ्याङ्क सार्वजनिक भएको हो।
जैविक विविधताको प्रमुख क्षेत्र मानिने हिमाली क्षेत्रमा अहिले अन्य क्षेत्रभन्दा तीव्र रूपमा तापक्रम वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ। एक अध्ययन अनुसार यस क्षेत्रको तापक्रम सन १९८२ देखि २००६ को अवधिमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढ्यो। अझ गजबको तथ्याङ्क त के छ भने अनुसन्धानकर्ताका अनुसार अन्य क्षेत्रको तुलनामा हिमालीक्षेत्रको तापक्रम तीन गुना बढी दरले वृद्धि भइरहेको छ। यसको असर तत्कालका लागि त्यसक्षेत्रका जीवजन्तु, वनस्पति र जैविक विविधतामा परे पनि त्यसले सबैतर्फ प्रभावित पार्दै जाने अनुसन्धानकर्ताको दाबी छ।
नेपाल हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधतायुक्त मुलुक हो। भूबनोटका कारण नेपाल जैविक विधिताको दृष्टिकोणले अत्यन्त सम्पन्न छ तर जलवायु परिवर्तनको सबै क्षेत्रमा प्रभाव पर्न थालेको छ। यहाँँका हिमाल एवं उच्च पहाडी भेगमा पनि विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका विभिन्न किसिमका प्रभाव देखिएका छन्। बाजुराको सदरमुकाम मार्तडीलगायतका उच्च क्षेत्रमा गत वैशाख महिनामा दिनहुँ झरी, हिमपात र हावाहुरी बढेपछि जनजीवन प्रभावित भएको थियो। त्यहाँ मध्य वैशाखमा पनि न्यानो कपडा लगाउनुपर्ने बाध्यता रहेको समाचार आएको थियो। चिसो याममा पनि हिउँ नजम्ने हिमाल र पाखाहरू हिउँले सेताम्मे भएका जनाइएको थियो।
समय अगावै लालिगुराँस फुल्ने, विभिन्न फलफूलमा फूल, कोपिला लाग्ने क्रम केही वर्षदेखि बढेको छ। गतवर्ष माथिल्लो मुस्ताङमा बाढी र पहिरो आएको थियो जुन सबैका लागि आश्चर्यको विषय भएको थियो। सेती नदीमा हालै आएको बेमौसमी बाढीका कारण करिब पाँच करोड रुपियाँको भौतिक क्षति भयो। जिल्ला दैवीप्रकोप उद्धार समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार घर, पुलपुलेसा, सवारीसाधन, पशुधनलगायत गरी चार करोड ९६ लाख २८ हजार रुपियाँँ बराबरको क्षति भएको अनुमान गरिएको छ। त्योभन्दा बढी मानवीय क्षति भएको छ। स्मरणीय छ, बाढीमा परी हराउनेको सङ्ख्या झन्डै ७० रहेकोमा ३२ जनाको शव भेटिए पनि अन्य अझै बेपत्ता छन्।
सेतीमा गएको बाढीको विषयमा स्थलगत अनुगमनमा गएको भूगोलविद्हरूको टोलीले अन्नपूर्ण चौथोको काखमा ठूलो पहिरो गएको जनायो। टोलीले अन्नपूर्ण चौथो हिमालको छहजार २०० देखि छहजार ५०० मिटर अग्लो हिमनदी नजिकै हिउँको ढिस्को खसी चारहजार २०० देखि चारहजार ५०० मिटर उचाइमा रहेको ठूलो माटोको ढिस्को खसेको तथा सामान्य हिमपहिरोका कारण तल आएर ठूलो पहिरो गएको बताएको छ जसको कारण नदी थुनिएको र एकैपटक भत्कँदा बाढी आएको बताइएको छ तर यसलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेर्नेहरूको कमी छैन।
यस्तै मौसम अनुसार ऋतु परिवर्तन हुनुपर्नेमा अचेल त्यसो पनि हुँदैन। यसो हुनुलाई जानकारहरू जलवायु परिवर्तनको प्रभावका रूपमा लिने गर्छन्। जलवायु परिवर्तन्ाकै कारण पछिल्ला वर्षमा समयमा पानी नपर्ने, हिमपात नहुने र मौसमविपरीत हावापानी परिवर्तन हुने गरेको अनुभव छ। जसले गर्दा कृषि उत्पादनसमेत प्रभावित भएको छ।
जलवायु परिवर्तनको असरकै कारण हिमनदी सुक्दै गएका छन् भने उच्च पहाडी तथा हिमाली भेगमा पाइने जडीबुटी तथा जलसम्पदाको स्रोतमा समेत असर परेको छ तर यसको न्यूनीकरणका लागि हालसम्म कुनै योजना छैनन् न त हामी त्यसप्रति गम्भीर नै छौँ। जलवायु परिवर्तनको असर हामीले आफ्नै घर आँगनमा पनि देख्न थालेका छौँ।
बेमौसममै फूलहरू फुल्नु, फलहरू ढिलो वा चाँडो गरी फल्नु, फलहरू चाँडो पाक्नु, तिनका स्वाद र रङमा समेत भिन्नता देखिनु जलवायु परिवर्तनका प्रभाव हुन् तर हामी यसप्रति पनि संवेदनशील छैनौँ। जलवायु परिवर्तनको असर हिमाली तथा उच्च पहाडी क्षेत्रमा बढ्ता परेको अध्ययनले देखाएको भए पनि यसको प्रभाव कुनै न कुनै रूपमा सबैतिर परिरहेको छ।
बेमौसमी बाढी प्राकृतिक सन्तुलन खल्बलिँदाको परिणाम हो। यस्तो प्रभावबाट जोगिन प्रकृतिको दोहन तथा अन्धरूपमा प्रकृतिमाथि प्रभाव पर्ने खालका प्रविधि र रसायनको प्रयोगमा नियन्त्रण गर्नु तथा वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु आवश्यक छ।
जलवायु परिवर्तनका कारण जीवजन्तु र वनस्पति प्रभावित भइरहेको प्रति चासो पुग्नु तथा यसबाट प्राकृतिक सन्तुलनमा पर्न सक्ने प्रतिकूल प्रभावका बारे गम्भीर हुनु नितान्त जरुरी छ।
विकसित मुलुकमा औद्योगिक-रासायनिक प्रदूषणको कारण वा यन्त्र उपकरणले निकाल्ने धुवाँ, धूलो र विभिन्न रासायनिक तत्वहरूको उपयोग आदिका कारण वातावरण खल्बलिन पुगेको छ भने विकासोन्मुख मुलुकमा केही हदसम्म औद्योगिक र यान्त्रिक गतिविधिले वातावरणीय ह्रासमा सघाउ पुर्याए पनि गरिबी, अशिक्षा र जनसङ्ख्याको अनियन्त्रित वृद्धि, जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा आश्रति रहेका कारणले पनि प्राकृतिक सम्पदामाथि ठूलो दबाब परिरहेको हुन्छ जसले वातावरणीय सन्तुलनमा प्रभाव पार्दछ जसले जलवायु परिवर्तन र अनपेक्षित प्राकृतिक विपत्ति निम्त्याउन सहयोग गर्दछ।
त्यस्तै मानव उत्पन्न फोहरमैलाको समुचित व्यवस्थापनको अभावमा पनि वातावरणीय प्रदूषण बढाउन सहयोग पुगिरहेको हुन्छ। विकासोन्मुख मुलुकमा चाहे घाँस दाउराको आवश्यकता पूर्तिका लागि होस् वा बस्तुभाउको चरिचरनका लागि नै विशेषतः वनजङ्गलको दोहन गरिन्छ जसका कारण पनि वातावरणीय सन्तुलन खल्बलिन्छ। यसैगरी बढ्दो सहरीकरण र अव्यवस्थित बसाइँसराइ जस्ता कारक पनि प्राकृतिक सन्तुलन खल्बल्याउन सहयोगी बनेका हुन्छन् जसले अन्ततः जलवायु परिवर्तन र तापमान वृद्धिमा सघाउ पुर्याइरहेका हुन्छन्।
यसबाहेक राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टता तथा इमान्ादारीको अभावमा समेत वनसम्पदाको विनाश तीव्र हुनगई प्राकृतिक सन्तुलन खल्बलिन जाने र त्यसले विभिन्न किसिमका विपद् निम्त्याउने हुँदा जलवायु परिवर्तन चुनौतीपूर्ण हुँदै जाने सन्दर्भमा वातावरणीय सन्तुलन कायम राख्दै जैविक विविधता संरक्षण गर्नेतर्फ सबैको ध्यान जानु वाञ्छनीय छ।