काठमाडौँ, जेठ १० गते। उपभोक्ता मुद्रास्फीती गतवर्षको प्रथम नौ महिनाको तुलनामा कम भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
राष्ट्र बैङ्कले आर्थिक वर्ष ०६८-६९ को नौ महिनासम्मको तथ्याङ्कलाई आधार मानेर सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव पाँच प्रतिशत रहेको छ।
त्यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.६ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा वाषिर्क बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क ४.६ प्रतिशतले र गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क १०.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य सूचकाङ्कको वृद्धिदर क्रमशः १७.३ प्रतिशत र पाँच दशमलव तीन प्रतिशत रहेको बताइएको छ।
समीक्षा अवधिमा थोक मूल्य सूचकाङ्कको वाषिर्क बिन्दुगत वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ११.५ प्रतिशत रहेको बताइएको छ।
आन्तरिक कर्जातर्फ वर्ष २०६८/६९ को नौ महिनासम्ममा कुल आन्तरिक कर्जा ३.० प्रतिशतले बढेको छ त्यस्तो अघिल्लो वर्षर्को सोही अवधिमा उक्त कर्जा सात दशमलव छ प्रतिशतले बढेको थियो।
बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १३.५ प्रतिशत -रु. ११० अर्ब ७३ करोड) ले बढेको छ। अघिल्ल्ाो वर्षको सोही अवधिमा निक्षेप परिचालन सात दशमलव पाँच प्रतिशत -रु. ५४ अर्ब ६२ करोड) ले मात्र बढेको थियो।
बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहको स्थिति सन्तोषजनक नै रहेको छ। जसअनुसार आर्थिक वर्ष २०६८/६९ को नौ महिनासम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा तथा लगानी १०.१ प्रतिशत -रु. ८६ अर्ब ४९ करोड) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा कर्जा तथा लगानी ११.३ प्रतिशत -रु. ८४ अर्ब २० करोड) ले बढेको थियो।
तरलता व्यवस्थापनतर्फ चालु आर्थिक वर्षको नौ महिनासम्ममा खुला बजार कारोबारअन्तर्गत रिपो बोलकबोलमार्फत रु. ७४ करोड ३७ लाख तरलता प्रवाह भएको छ भने सोझै बिक्री बोलकबोलमार्फत रु. आठ अर्ब ४० करोडको तरलता प्रशोचन भई खुद रु. सात अर्ब ६५ करोड ६३ लाख तरलता प्रशोचन भएको छ।
अन्तर-बैङ्क कारोबार आर्थिक वर्ष २०६८/६९ को नौ महिनासम्ममा वाणिज्य बैङ्कहरूले कुल रु. एक सय ४५ अर्ब ५५ करोड बराबरको अन्तर-बैङ्क कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा कुल रु. २७१ अर्ब ६९ करोड बराबरको यस्तो कारोबार भएको थियो।
अघिल्लो वर्षकोे तुलनामा चालु आर्थिक वर्षको चैत महिनामा अल्पकालीन ब्याजदरहरूमा उल्लेख्य कमी आएको छ। सो अनुसार, ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर अघिल्लो वर्षको चैत महिनामा ९.०६ प्रतिशत रहेकोमा २०६८ चैतमा एक दशमलव ०९ प्रतिशत रहृयो। त्यसैगरी, भारित औसत अन्तर-बैङ्क ब्याजदर अघिल्लो वर्षको चैतमा नौ दशमलव ५४ प्रतिशत रहेकोमा २०६८ चैतमा शून्य दशमलव ६९ प्रतिशत रहेको छ।
सरकारी वित्त स्थितितर्फ चालु आर्थिकको प्रथम नौ महिनासम्ममा सरकारी बजेट रु. २४ अर्ब ६० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. छ अर्ब ४७ करोड रहेको थियो। स्रोत परिचालनको तुलनामा कुल सरकारी खर्च न्यून रहेको कारण सरकारी बजेट बचतमा रहेको बताइएको छ।
सरकारी खर्चमा भने वृद्धि भएर कुल सरकारी खर्च समीक्षा अवधिमा १९.१ प्रतिशतले वृद्धि भई रु. १८७ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सरकारी खर्च १२.२ प्रतिशतले वृद्धि भएको थियो।
वैदेशिक नगद ऋण र अनुदानतर्फ आर्थिक वर्ष २०६८/६९ को नौ महिनासम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋणबापत रु. तीन अर्ब ६१ करोड र वैदेशिक नगद अनुदानबापत रु. ३१ अर्ब ८१ करोड प्राप्त भएको बताइएको छ।
वैदेशिक व्यापारमा आर्थिक वर्ष २०६८/६९ को नौ महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ५.० प्रतिशतले वृद्धि भई रु. ४७ अर्ब ६६ करोड पुगेको थियो।
प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा २८.३ प्रतिशतले वढेको थियो। त्यस्तै, अघिल्लो वर्षको नौ महिनासम्ममा २८.३ प्रतिशतले घटेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा ३१.९ प्रतिशतले वृद्धि भएको छ।
आयात व्यापारमा भएको वृद्धिको कारण समीक्षा अवधिमा निर्यात-आयात अनुपात १६.३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १६.६ प्रतिशत रहेको थियो।
शोधनान्तर स्थिति आर्थिक वर्ष २०६८/६९ को नौ महिनासम्ममा समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च रु. ९१ अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा रु. १४ अर्ब ९४ करोडले शोधनान्तर घाटामा रहेको थियो।
विदेशी विनिमय सञ्चितितर्फ २०६८ चैत मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०६८ असार मसान्तको रु. २७२ अर्ब १५ करोडको तुलनामा ४२.२ प्रतिशतले बढी रु. ३८६ अर्ब ९६ करोड पुगेको छ। २०६७ चैत मसान्तमा यस्तो सञ्चिति २०६७ असार मसान्तको तुलनामा ५.८ प्रतिशतले घटेर रु. २५३ अर्ब ३७ करोड रहन गएको जनाइएको छ।