|
अत्यासलाग्दो बन्द हड्ताल सकिएको मौका छोपेर राजधानीमा बुधबार निस्केको सद्भाव र्यालीले बहुसङ्ख्यक नेपाली अहिले पनि जातीय सद्भाव, सहअस्तित्व र सामाजिक अमनचैनका पक्षमा छन् भन्ने देखाएको छ।
सयौं सङ्घसंस्थाका हजारौं प्रदर्शनकारीले पहिले हामी नेपाली अनि विभिन्न जातजाति, हिमाल पहाड तराई कोही छैन पराईजस्ता नारा लगाउँदै राष्ट्रिय झण्डा फर्फराउँदा एकता र सद्भावका लागि तड्पिएका यी स्वर हालैका दिनमा उत्पन्न हुँदैगरेका सामाजिक द्वेष र द्वन्द्वका रापबाट कति प्रताडित रहेछन् भन्ने अनुमान लगाउन सकिन्छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र यसअघि नेपाली काङ्ग्रेस तथा एमालेका भ्रातृसङ्गठन जस्ता संस्थाको आयोजनामा भएका सद्भाव कार्यक्रममा को मालिक को मजदुर, को जात को जाति सबैको मिश्रति उपस्थितिले फेरि पनि पुष्टि गरेको छ, नेपाल बहुसांस्कृतिक, बहुजातीय तथा बहुविशेषतायुक्त देश हो।
सबैले प्रतिष्ठित भएर बाँच्न सबैमा आपसी सद्भाव चाहिन्छ भन्ने सन्देश दिएको छ सद्भाव र्यालीले। पछिल्ला दिनमा आफ्ना माग पूरा गराउन देशलाई सजाय र नागरिकलाई कष्ट दिनेगरी भएका बन्द, बढ्दै गरेको जातीय द्वेष र जितहारको मानसिकताबीच सबै नेपालीको प्रतीकात्मक प्रतिनिधित्व हुनेगरी भएको यस्तो र्यालीले बुझ्नेलाई पर्याप्त सन्देश दिएको छ। नबुझ्ने र नबुझेझैं गर्नेलाई समयले कुनै सन्देश दिनसक्दैन। राजधानीबाहिर पनि सामाजिक सद्भावको सन्देश दिनेगरी विभिन्न स्थानमा र्याली निस्किएका छन्।
यो कुनै एकपक्षको समर्थन वा विरोधमा आयोतिज कार्यक्रम होइन । राजनीतिक द्वन्द्व क्षणिक हुनेभएकाले एउटा निर्णय वा परिवर्तनले यस्ता द्वन्द्व व्यवस्थापन गर्न सकिन्छ तर सामाजिक द्वन्द्व त्योभन्दा धेरै जटिल हुन्छ। अहिले हामीले होस पुर्याएनौं भने सामाजिक द्वन्द्वले हाम्रो राजनीतिलाई पनि द्वन्द्वग्रस्त बनाउन सक्छ। हामीबीच केही समस्या, केही संशय छन् तर तीभन्दा धेरै सम्भावना पनि छन्। यी सम्भावना भनेका अन्ततः नेपालको समृद्धि हो। हाल जेजस्ता उतारचढाव देखिएका छन् ती सबैलाई राष्ट्रिय समृद्धि प्राप्त गर्ने अवसर वा साधनका रूपमा प्रयोग गर्न सकियो भने आम नेपालीको चाहना पूरा गर्न सकिन्छ। चाहे सद्भाव र्यालीमार्फत होस् वा अन्य विभिन्न माध्यमबाट आएका आम जनचाहनालाई प्राथमिकीकरण गर्ने हो भने आज अधिकांश नेपाली शान्ति, संविधान र समृद्धिका लागि प्रतीक्षारत छन्। उनीहरूको चाहनाभन्दा ठूलो कुनै पनि शासन वा तन्त्र हुँदैन। राजनीतिक दलले सद्भाव कायम राख्दै जनताका चाहनालाई सुरक्षित गर्न प्रमुख ध्यान दिनुपर्ने हो तर पछिल्ला दिनमा यस्तो हुनसकेन, जनता बिस्तारै दलका क्रियाकलापले नै सद्भाव कमजोर भएका हुन् कि भन्ने मानसिकतामा पुगेका अवस्थामा चाहे जोसुकैले गर्ने सद्भावको आग्रहले मुलुकवासीलाई सही बाटो लिन प्रेरित गर्नेछ। सहअस्तित्व र सद्भावबाट मात्रै शान्ति कायम हुनेभएकाले नै सम्पूर्ण नेपाली सहअस्तित्व र सद्भावका लागि क्रियाशील हुनु आवश्यक छ।
बुझ्नुपर्दछ-अपमानको खेती गरेर अपनत्वको अन्न भित्र्याउन सकिंदैन। अहिलेको सबैभन्दा प्राथमिकता संविधान हो। संविधानबाट हामीले चाहेको परिणाम पाउन त्यसको निर्माणमा कुनै पनि बहानामा अवरोध गरिनुहुँदैन। संविधानसभाको म्याद थपिएन भने अब मुस्किलले ६०/७० घण्टा पनि बाँकी छैन संविधान जारी हुन। यी घण्टा नेपालीका लागि उत्सुकतापूर्ण प्रतीक्षा हुने भएका छन्। यसरी समय घर्कदैगर्दा पनि मूलविषयलाई ओझेलमा पार्नेगरी सबैखाले सद्भाव खल्बल्याउने काम भयो भने नेपालीका लागि त्यो दुभाग्यपूर्ण हुनेछ। त्यसैले सबै नेपाली सद्भाव र सहिष्णुता कायम राख्न विशेष चनाखो रहनुपर्दछ।
राष्ट्रपति डा. रामवरण यादवले बुधवार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भवन उद्घाटन गर्दै नेपाली हुँ भन्ने भावना जागृत गराउन हिमालजस्तो अटल, पहाडजस्तो सदाबहार र तराईजस्तो उर्वर राजनीतिक शक्तिको खाँचो छ भनेर जुन राष्ट्रिय भावना व्यक्त गर्नुभएको छ त्यसलाई सबै नेपालीले आत्मबोध गर्ने हो भने 'पहिले हामी नेपाली अनि विभिन्न जातजाति'को मन्त्र थप मननयोग्य हुनेछ। |