|
काठमाडौँ, जेठ ११ गते। प्रथम छ्यासीकोट इन्डो-नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिताको उपाधि नेपालको छ्यासीकोट तेक्वान्दो डोजाङ 'ए'ले बिहीबार जितेको छ। आयोजकसमेत रहेको छ्यासीकोटले चार स्वर्ण, तीन रजत र छ काँस्य पदक जित्दै उपाधि उचाल्यो।
चार स्वर्ण, तीन रजत र पाँच काँस्य पदक जितेको भारतको रायन इन्टरनेसनल स्कुल दोस्रो भयो। तेस्रो स्थानमा रहेको विशङ्खु तेक्वान्दो डोजाङले तीन स्वर्ण, एक रजत र एक काँस्य पदक प्राप्त गर्यो।
सिनियरतर्फ पुरुषमा नखिपोट तेक्वान्दो डोजाङका अमृत थापा तथा महिलामा आयोजक 'ए'की रेश्मा थापा उत्कृष्ट खेलाडी घोषित भए। जुनियरको पुरुषमा स्युचाटार तेक्वान्दो डोजाङका सन्तोष भित्रकोटी तथा महिलामा अनलज्योति स्कुलकी इच्छा राई उत्कृष्ट खेलाडी चुनिए।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन भएको पुरुषको ७८ केजीमुनि विशङ्खुका प्रकाश खत्री, २८ केजीमुनि विशङ्खुका प्रजित केसी, ६३ केजीमुनि रायनका गुशन वैसोया, ४१ केजीमुनि विशङ्खुका सुशान्त मगर, ५४ केजीमुनि रायनका सञ्जोय गुसैन, ४१ केजीमुनि आयोजक 'बी'का रविन थापामगर, ५८ केजीमुनि नखिपोटका अमृत थापा, २५ केजीमुनि सानोठिमी तेक्वान्दो डोजाङका विशाल राई तथा ३७ केजीमुनि सानोठिमीका पदम तामाङले स्वर्ण पदक जिते।
सैबुँको भैँसेपाटीस्थित आयोजक छ्यासीकोट तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताअन्तर्गत महिला ४९ केजीमुनि आयोजक 'ए'की रेश्मा थापा, ४५ केजीमुनि चुनदेवी तेक्वान्दो डोजाङकी पूजा श्रेष्ठ, ३० केजीमुनि अनलज्योतिकी इच्छा राई तथा ३७ केजीमुनि चुनदेवीकी बिना तामाङले शीर्ष स्थान कब्जा गरे। दुईदिने प्रतियोगितामा दुइ सय खेलाडीले २१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। |