काठमाडौँ, जेठ १२ गते। संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले संविधान निमार्ण कार्य निर्धारित समयमै सम्पन्न गर्न नेपालका राजनीतिक दल तथा अन्य सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ।
संविधानसभाको कार्यकाल अन्त्यतिर आइरहेको समयमा महासचिव बानका प्रवक्ताद्वारा बिहीबार राति जारी गरिएको विज्ञप्तिमा बानले यस्तो चासो देखाउनुभएको हो।
विज्ञप्तिमा वानले नयाँ संविधान जारी नहुँदै संविधानसभाको म्याद सकिने हो कि भन्ने विषयले आफूलाई चिन्तित बनाएको उल्लेख गरिएको छ। उहाँले हालसम्म हासिल भएका उपलब्धिलाई संस्थागत गर्न र जेठ १४ को समय सीमाभित्रै संविधान निर्माणमा सहमति बनाउन दलहरूलाई दलगत स्व्ाार्थभन्दा माथि उठ्न आग्रह गर्नुभएको छ।
महासचिव बानले संविधानसभा र विस्तृत शान्ति सम्झौताको परिधिभित्र रहेर वर्तमान समस्याको निकास निकाल्न दलहरूलाई आग्रह गर्दै सबै नेपालीलाई शान्त र संयमित रहन अनुरोध गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।