काठमाडौँ, जेठ १२ गते। राष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलका नेताहरूलाई संविधान निर्माणका लागि गम्भीर भई 'राष्ट्रिय सहमति' जुटाएर अघि बढ्न सुझाव दिनुभएको छ।
संविधान जारी गर्ने दुई दिन बाँकी रहेको अवस्थामा राष्ट्रपति डा. यादवले शुक्रबार दिउँसो प्रमुख दलका नेताहरूलाई यस्तो सुझाव दिनुभएको हो।
एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा -एमाले) अध्यक्ष झलनाथ खनाल र संयुक्त मेधसी लोकतान्त्रिक मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई राष्ट्रपति डा. यादवले राष्ट्रपति भवन शीतलनिवासमा भेट दिनुभयो।
भेटपछि नेपाली काँग्रेसका सभापति कोइरालाले सञ्चारकर्मीहरूसँग भन्नुभयो, "गम्भीरताका साथ सबै दल बसेर आजै राष्ट्रिय सहमति गर्न राष्ट्रपतिले सुझाव दिनुभयो। राष्ट्रपतिको यस कुराले दलहरूलाई थप गम्भीर बनाएको छ। यद्यपि दलहरूबीच राष्ट्रिय सहमति जुटाउन निकै गाह्रो छ।" एमालेका अध्यक्ष झलनाथ खनालका अनुसार राष्ट्रपतिले देशको पछिल्लो अवस्थाप्रति गम्भीर रूपमा चिन्ता व्यक्त गर्नुभएको छ।
अध्यक्ष खनालले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सञ्चारकर्मीहरूसँग भन्नुभयो, "दलहरू एक भएर जानुहोस्, राष्ट्रिय सहमतिको विकल्प राष्ट्रका सामु अरू केही छैन। आमजनताको मनोभावना सहमति नै भएकोले राष्ट्रपतिले पनि सहमतिमै जोड दिनुभयो।"