काठमाडौँ, जेठ १३ गते। राजनीतिक परिस्थिति अनुकूल नभएको भन्दै उपत्यकाका निजी विद्यालयहरू आइतबार बन्द हुने भएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन काठमाडौँ शाखाले आइतबार विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। ललितपुर र भक्तपुर प्याब्सनले विद्यालय बन्दको घोषणा नगरे पनि सञ्चालकले चाहेमा बन्द गर्नसक्ने निर्णय गरेको छ। काठमाडौँ प्याब्सनका अध्यक्ष गोपाल आचार्यले संविधान घोषणासम्बन्धी अन्योलका कारण आइतबार विद्यालय सञ्चालनको वातावरणमा समेत प्रभाव पार्नसक्ने भन्दै अभिभावक तथा विद्यार्थी तनावमा नपरून् भनेर विद्यालय बन्दको निर्णय गरिएको बताउनुभयो।
ललितपुर प्याब्सनका उपाध्यक्ष शिव कार्कीले आइतबार बन्द गर्ने भन्ने निर्णय नगरिए पनि अधिकांश विद्यालयमा पठनपाठन नहुने बताउनुभयो। भक्तपुर प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले आइतबार नेवार जातिको पर्व सिटीनख परेकाले पनि विद्यालय बन्द हुनसक्ने बताउनुभयो।