काठमाडौँ, जेठ १३ गते। शनिबार दिनभरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन दलबीच भएको बैठकले कुनै सहमति नभएपछि एमाओवादी र मधेसी मोर्चाले संविधानसभा सम्पूर्ण सदस्यको दुई तिहाई सभासद्को हस्ताक्षर सङ्कलन गरेको छ।
एमाओवादी र मधेसी मोर्चा र अन्य दलका आदिवासी जनजाति सभासद्हरू संविधान निर्माणका पक्षमा रहेको देखाउनका लागि भए पनि दुई तिहाई सभासद्को हस्ताक्षर गरेर सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाइने भएको छ। सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सङ्घीयतासहितको संविधान निर्माणको पक्षमा दुई तिहाई सभासद् हुँदाहुँदै काँग्रेस र एमालेको व्यवधानका कारण संविधान निर्माण हुन नसकेको भनी हस्ताक्षरसहितको जानकारी संविधानसभाका सभाध्यक्ष नेम्वाङलाई बुझाइने जानकारी दिनुभयो।
यसअघि जातीय पहिचानसहितको प्रदेश निर्माण गर्ने मुद्दामा काँग्रेस र एमालेलगायतका आदिवासी जनजाति गरी ३२० जना सभासद्ले हस्ताक्षर गरिसकेका र बाँकी सभासद्ले आज -शनिबार) हस्ताक्षर गरेको दाबी गर्नुभयो।
एमाओवादीका नेताहरूले बृहत् मधेसी मोर्चालाई समेत हस्ताक्षर गर्न आग्रह गरेका थिए तर यही र यस्तै अवस्थामा आफूहरूले हस्ताक्षर नगर्ने भन्दै नेताहरूलाई फर्काएका थिए। एमाओवादीका नेताद्वय कृष्णबहादुर महरा र अमिक शेरचनले मधेसी जनअधिकार फोरम नेपाल संसदीय दलको कार्यालयमा गएर बृहत् मधेसी मोर्चाका नेता उपेन्द्र यादव, शरत्सिंह भण्डारी, सरिता गिरी, विश्वेन्द्र पासवानलगायतका नेतालाई भेटी हस्ताक्षर गर्न आग्रह गरेका थिए। आग्रहपछि बृहत् मोर्चाका नेताहरूले संविधान निर्माणको खाका ल्याएपछि मात्र हस्ताक्षर गर्ने जवाफ दिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष शरत्सिंह भण्डारीले बताउनुभयो।
उहाँले यही अवस्थामा एमाओवादी र मधेसी मोर्चालाई चोख्याउनमात्र आफूहरूले हस्ताक्षर नगर्ने भनेका छौँ, आयोग र समितिले ल्याएको १० र १४ प्रदेशको प्रस्तावलाई आधार बनाएर खाका तयार गरेर ढुक्क हुने अवस्थामा आएमात्र आफूहरूले हस्ताक्षर गर्ने भनेर फर्काएको नेता भण्डारीले बताउनुभयो।