देउराली , जेठ १३ गते। उत्तरी रामेछापको उच्चपहाडी भेग देउरालीमा पहिलो पटक स्थानीय -लोकल) जातका गाई र भैँसीको दूधबाटै चिज बनाउने कारखाना खुलेपछि यहाँका किसान दूध बिक्ने आशामा दङ्ग परेका छन्। दुई हजार पाँच्ा सय मिटर उचाइमा रहेको बाम्ती- ४, देउरालीमा भैँसीको तीन सय र गाईको चार सय गरी दैनिक सात सय लिटर दूध खपत हुने चिज, पनीर, दुर्खा र आइसक्रिम कारखाना खुलेपछि किसान मक्ख परेका हुन्।
चौरीगाईको दूधबाट मात्र चिज बन्छ भन्दै चिज कारखानाले चौरीगाई र चौरीको दूध मात्रै राम्रो मूल्य तिरेर किनेपछि लोकल गाईभैँसीको दूध खाएरै सक्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन्। लोकल गाईभैँसीको दूधको उपयोग गर्ने उपाय खोजी गर्दै जाँदा यसबाट पनि चिज, पनीर जस्ता खाद्य बन्ने भएपछि कारखाना खोलेको पर्यटन व्यवसायी एवम् कारखानाका लगानीकर्ता बाबुकाजी शेर्पाले बताउनुभयो।
उहाँले भन्नुभयो, 'सबैले चौरीगाई पाल्न र दूध दुहुन सक्दैनन्। लोकल गाईभैँसीको न दूध बिक्छ न घ्यू बिक्छ। यसबाट चाहिँ के-के बन्दोरहेछ भनेर ठाउँठाउँमा लगेर परीक्षण गराउँदा पनीर, आइसक्रिम, खुवा बन्ने रहेछ। गर्मी महिनामा फरक स्वादको चिज र मोहीबाट राम्रै दुर्खा पनि बन्छ भनेर प्राविधिकले बताएपछि कारखाना नै खोलेको हुँ। दिनमा सात सय किलो दूध खपत हुन्छ। गाउँलेसँग दूधको भाउ पनि फिक्स -निर्धारण) भइसक्यो, अब उत्पादन सुरु हुन्छ।
सगरमाथा चढ्न सोलु जाने मूल बाटो यही -देउराली) भएकाले विदेशीले पनीरको तरकारी, दुर्खा र आइसक्रिम खोजेको खोज्यै गरेकाले र गाउँमै केही गरौँ भन्ने भावनाले गर्दा पनि कारखाना खोल्न हौसला मिलेको बाबुकाजीले बताउनुभयो। उहाँले भन्नुभयो, 'यहाँ त हेर्नुस्, केही चाहियो भने किन्नलाई जिरी नै नपुगी उपाय छैन, त्यो पनि वषर्ामा गाडी चल्दैन। त्यसैले हुनेसम्म यहीँ उमार्नुपर्छ।
घरैपिच्छे सबैले गाईभैँसी पालेको तर हिमाली भेगमा दूध, दही नबिक्ने भएपछि पशुपालक किसान व्यावसायिक हुन नसकेकोमा दूध किनिदिने कारखाना खुलेपछि ज्यादै खुसी लागेको बाम्तीभण्डारका किसानले बताएका छन्।
कारखानामा बाम्ती वरिपरिका कुभुकास्थली, पि्रती, ठोसे र चुचुरे गरी छ वटा गाविसका एक सय घरधुरीसँग दूध किन्ने सम्झौता भएको बाबुकाजी शेर्पाले बताउनुभयो। उहाँले भन्नुभयो, 'हाललाई सबैको सल्लाहमा युनिट नापेर दूधको न्यूनतम मूल्य राख्या छौँ, अब राम्रै भयो भने भाउ बढाउँदै लान्छौँ। लोकलको चिज र दुर्खा भनेर जिरी र काठमाडौँमा भाउ फिक्स भइसकेको छ, हेरौँ के हुँदोर'छ।