काठमाडौँ, जेठ १३ गते। चीनको सान्दोङ प्रान्तको हाइयाङ सहरमा असार २ देखि ८ गतेसम्म हुने तेस्रो एसियाली बिच खेलकुदअन्तर्गत स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिप -लिड क्लाइम्बिङ)का लागि विशेष प्रशिक्षण सुरु भएको छ।
नेपाल माउन्टेनियरिङ एन्ड रक क्लाइम्बिङ सङ्घले एसियाली बिच खेलकुदमा सहभागी हुने नेपाली खेलाडीका लागि दुईहप्ते उक्त प्रशिक्षण कोर्स सुरु गरेको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र पासाङ ल्हामु पर्वतीय फाउन्डेसनका अध्यक्ष कृपासुर सेर्पाले खेलाडीलाई खेल सामग्री प्रदान गर्दै प्रशिक्षणको शुभारम्भ गरे। विशेष प्रशिक्षणमा मिङ्मा सेर्पा, हरिराम खड्का र निरज कार्की तथा प्रशिक्षकमा सङ्घका केन्द्रीय सदस्य लाक्पा सेर्पा रहेका छन्।
सो उद्घाटन समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष कृपासुर सेर्पाले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्लाइम्बिङ वाल रहेको र यसले नेपालको नाम राख्न र गौरव बढाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए। उनले थपे- यसका लागि परिषद्बाट समेत पूर्ण सहयोग प्राप्त हुनेमा विश्वस्त छु।
राखेप सदस्यसचिव युवराज लामाले नेपालको स्पोर्टस् अवधारणा अगाडि बढाउन नसिकिएकाले यो खेललाई अघि बढाउन नसकिएको जानकारी दिए। नेपालमा प्रकृतिले उपहारका रूपमा प्रदान गरेको प्राकृतिक वाललाई प्रयोग गर्दै यो खेललाई अघि बढाउनसके खेलको विकासका साथै आर्थिक विकासमा समेत सहयोग पुग्नेछ- सदस्यसचिव लामाले भने।