काठमाडौँ, जेठ १५ गते। साठी वर्षभन्दा लामो समयदेखि संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको उत्कट अभिलाषा जेठ १४ गते राति १२ : ०० बजेबाट चकनाचुर भएको छ।
हजारौँ जनताको बलिदान र रगतबाट जन्मेको संविधानसभा संविधान नै जारी नगरी अवशान भएको छ। यतिसम्म कि आइतबार निश्चित संविधानसभाको अन्तिम बैठक नै नबसी संविधानसभालाई मृत्युवरण गर्न बाध्य बनाइयो।
६०१ सदस्यीय संविधानसभा विघटन हुनुको प्रमुख कारण राज्य पुनःसंरचनामा 'एकल जातीय पहिचान कि बहुपहिचान' नै बन्न पुग्यो। संविधानसभाको विघटन हुनुका साथै ६०१ सदस्यहरू पनि पदबाट मुक्त हुनुभएको छ। यस्तो बेला संविधानसभाको विघटन भयो, जति बेला देश पाँचौँ गणतन्त्र दिवस भव्य बनाउन लागिरहेको थियो। जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ।
नेपाली काँग्रेसले २००७ सालको क्रान्तिमा उठान गरेको संविधानसभाको चुनाव २०१५ सालमा पुग्दा प्रतिनिधिसभाको निर्वाचनमा परिणत भयो। २०५२ सालमा जनयुद्ध घोषणा गरेर सशस्त्र विद्रोहमा गएको तत्कालीन नेकपा -माओवादी)ले पुनः संविधानसभाको उठान गरायो।
दसवर्षे जनयुद्ध र २०६२/०६३ सालको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनबाट संविधानसभाको मुद्दामा सबै दल एक ठाउँमा उभिए। शान्तिप्रक्रियाका नायकहरू गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल -प्रचण्ड) हुन्। एक नायक कोइरालाको नेतृत्वमा वि.सं. २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भएको थियो।
संविधानसभाको पहिलो बैठक २०६५ साल जेठ १५ गते बसेको थियो। सो ऐतिहासिक बैठकले नेपाल गणतन्त्रात्मक मुलुक भएको घोषणा गरेको थियो। संविधानसभाले १० वटा विषयगत समिति, तीनवटा प्रक्रियागत र एउटा संवैधानिक संविधानसभा गरी १४ समिति गठन गरेको थियो। ती सबै समितिले आˆनो सबै कार्य प्रायः पूरा गरेका थिए। संवैधानिक समितिले नयाँ संविधानको मस्यौदा नै तयार पार्ने अवसर पाएन। पटक-पटक म्याद थप गरी दुईवर्षे संविधानसभाको अवधि चार वर्ष पुग्यो। जुन संविधानसभाको अवधि चार वर्ष पुग्यो, त्यही दिन अर्थात् २०६९ साल जेठ १४ गते राति १२ बजेबाट संविधानसभाको अवशान भयो।