काठमाडौ, जेठ १६ गते। जिउँदै जलाएर दुई युवकको हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई पक्राउ गरी मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले मङ्गलबार महान्यायाधिवक्ताको कार्यालय र प्रहरी समेतको नाममा यस्तो आदेश दिएको हो। हत्या अभियोग लागेका आलमसमेत पाँच जनालाई चार वर्षअघि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरी उन्मुक्ति
दिएको थियो।
मिसिल संलग्न कागजात प्रमाणहरूबाट मुद्दा चल्ने प्रशस्त आधार रहेको भन्दै इजलासले आलम समेतउपर ज्यान मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा खारेज गरेको छ। इजलासले आलमसमेतका अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउनसमेत आदेश दिएको सर्वाेच्चका सहायक प्रवक्ता हेमन्त
रावलले बताउनुभयो।
पूर्वमन्त्री आलम, उहाँका भाइ महताव आलम तथा सहयोगीहरू म्ाोविन आलम, शेख सेराज र शेख भदैलाई पक्राउ गरी ज्यान मुद्दातर्फ जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश भएको उहाँले बताउनुभयो। अब पाँचै जना अभियुक्तलाई पक्राउ गरी प्रहरीले सम्बन्धित अदालतमा मुद्दा दायर गर्ने उहाँले स्पष्ट गर्नुभयो।
चार वर्षअघि संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको क्षेत्र नम्बर दुई अन्तर्गतको राजपुर फरहदवा गाउँ विकास समितिमा बम बनाउँदै गर्दा बम विस्फोटमा परी घाइते भएका दुई युवक स्थानीय सरुअठा गाविसका २२ वषर्ीय पिन्टु भनिने त्रिलोकप्रताप सिंह र २४ वषर्ीय ओसी अख्तर मियाँलाई जलाएर हत्या गरेको अभियोग आलमउपर लगाइएको छ।
बम विस्फोटमा घाइते भएपछि सिंह र मियाँलाई आलमसमेतले नजिकैको इँटाभटट्ाको आगोमा फालेर हत्या गरेको अभियोग छ। मृतक दुवैका अभिभावकले मुद्दा दर्ता गर्न जाहेरी लिएर जाँदा प्रहरीले सुरुमा इन्कार गरेको र पछि सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको थियो। तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले पनि प्रमाणको अभाव भन्दै २०६५ असार ३० गते मुद्दा नचल्ने निर्णय गर्नुभएको थियो।
तत्कालीन महान्यायाधिवक्ता बञ्जाडेले त्यो निर्णय गर्नुभएपछि अन्याय भएको भन्दै मुद्दा चलाउन आदेशको मागसहित मृतका अभिभावकहरू रुखसना खातुन र नारायण सिंहले २०६५ साउन २१ गते सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो। उक्त रटको अन्तिम सुनुवाइ गर्दै मङ्गलबार इजलासले पाँचै अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाउन आदेश दिएको हो।
संविधानसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुभएका आलम यसअघि पनि पटक-पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले वन तथा भूसंरक्षण, स्थानीय विकास र श्रम तथा यातायात लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ।