काठमाडौँ, जेठ १६ गते। संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले नेपालमा नयाँ संविधान जारी नभई संविधानसभा विघटन भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।महासचिव वानका प्रवक्ताद्वारा मङ्गलबार जारी विज्ञप्तिमा महासचिव वानले जनताले लामो समयदेखि प्रतीक्षा गरेको नयाँ संविधान जारी गर्ने समयमा संविधानसभाको विघटनले नेपाली जनतामा छाएको निराशाप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। उहाँले नेपाली जनताको आशाको केन्द्रबिन्दुका रूपमा रहेको संविधानसभा विघटनसँगै नेपालमा संवैधानिक तथा राजनीतिक अनिश्चितता छाएको बताउनुभयो।
'नेपाल संवैधानिक तथा राजनीतिक अनिश्चितामा प्रवेश गरेको छ। यसका लागि देशका सबै राजनीतिक शक्तिका बीच आमसहमति आवश्यक छ,' महासचिव वानले भन्नुभयो।
महासचिव वानका प्रवक्ता मार्टिन नेसर्कीका अनुसार वानले सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूलाई बृहत् शान्ति सम्झौताको प्रतिबद्धता पूरा गर्न र विगतमा भए-गरेका प्रतिबद्धता पूरा गर्न तथा अहिलेसम्मका उपलब्धिलाई सुरक्षित गर्न आग्रह गर्नुभएको छ। उहाँले नेपालको संविधानसभाले नयाँ संविधान निर्माण गर्न नसकी भङ्ग भएकाले राजनीतिक अस्थिरता पैदा हुनसक्ने भन्दै वर्तमान चुनौतीलाई सामना गर्न राजनीतिक दलहरूले सुझबुझ, हिम्मत र विवेक देखाउनुपर्ने सुझाव दिनुभएको छ।
'वर्तमान अस्थिर परिस्थितिमा राजनीतिक दलहरूबीच आमसहमति नै प्रमुख प्राथमिकता रहन्छ। संविधान निर्माणकार्य छिट्टै पुनः आरम्भ हुनुपर्छ, हालसम्म हासिल भएका उपलब्धिहरूलाई संस्थागत गर्न बृहत् सहमति र राष्ट्रिय स्वार्थमा सबै केन्दि्रत हुनपर्छ' महासचिव वानले उल्लेख गर्नुभएको छ।