युवा भनेका भविष्यका कर्णधार र नेतृत्वकर्ता हुन्। राष्ट्रका मेरुदण्ड हुन्। आजका भौतिक, भविष्यका बौद्धिक सम्पत्ति हुन्। युवा विनाको राष्ट्र रस विनाको फलसरह हो। युवा परिवर्तनका संवाहक हुन्। योजना कार्यान्वयनका गतिला शक्ति हुन्। आमाबाबुका लागि जसरी छोराछोरी जीवनका सहारा हुन्छन्, त्यसरी नै युवा राष्ट्रका सहारा हुन्।
सही समय, सही विचार र उपयुक्त वातावरणमा युवालाई प्रशिक्षित गरी परिचालन गर्न सक्नुपर्छ। अन्यथा युवा विनाशकारी सावित पनि हुन सक्छन्। कुलत, हत्या हिंसा, विकृति र विसङ्गतिमा फसेका युवालाई सही बाटोमा लगाउन निकै कठिन हुन्छ। युवालाई त्यता लाग्नै नदिनु र समयमै सही प्रशिक्षण र तालिम दिई राष्ट्रनिर्माणमा लगाउन सके मात्र युवा वर्ग राष्ट्रको भविष्य सावित हुनसक्छन्।
नेपालमा जति पटक नयाँ परिवर्तन सम्भव भएको छ त्यसको अग्रपङ्क्तिमा युवा नै देखिए। त्यसैले पनि युवालाई परिवर्तनका बाहक मानिएको हो। नेपालमा मात्रै हैन, विश्वमा भएको परिवर्तनको श्रेय पनि युवालाई छ। युवा यस्तो शक्तिको स्रोत हो जसले चाहेमा असम्भव भन्ने कुनै काम हुँदैन।
राजनीतिक दलका नेताहरूले युवालाई सडकका घोडामात्र बनाएका छन्। आन्दोलन, तोडफोड र चक्काजाम जस्ता काममा युवालाई परिचालन गरिएको छ। रोजगार र विभिन्न पदको लोभ देखाएर आफ्नो वरिपरि युवालाई घुमाइराख्ने प्रवृत्ति हावी छ। यसले युवालाई कामचोर र उत्पादनहीन बनाउँछ। यस्तो सोच र प्रवृत्ति युवाका लागि त राम्रो हुँदै होइन, राज्यका लागि पनि प्रत्युत्पादक हुन्छ।
अहिले नेपालमा राजनीतिकरणले सबै मुद्दा छायाँमा परेका छन्। युवाको मुद्दा पनि चरम राजनीतिक भासमा जकडिएको छ। त्यसैले पनि युवाको समस्या समाधानमा कठिनाइ भइरहेको छ। युवाशक्तिलाई 'फुटाऊ र राज गर' तथा 'प्रयोग गर र फाल' का रुपमा हेरिएको छ। बेरोजगारी, गरिबी र अशान्तिलाई सहन नसकी अधिकांश युवा विदेशी रहेका छन्। गुणात्मक शिक्षाको कमीले युवावर्ग शिक्षा आर्जनपछि पनि काम र रोजगार पाउन सकेका छैनन्। नेपालको शिक्षा नीति फितलो र बेकामे सावित भइरहेको छ। बेरोजगार उत्पादन गर्ने कारखाना सावित भइरहेका छन्।
नेपाली युवालाई अन्य मुलुकको युवासरह प्रतिस्पर्धी बनाउन सकिएको छैन। यसैैकारण नेपाली युवा स्वदेशमा बेकामे भई यताउता भड्किन बाध्य छन्। रोजीरोटीकै कारण उनीहरू विदेशिन बाध्य छन्। नेपालका युवाशक्ति धमाधम विदेशतिर लागेपछि यहाँको सृजनात्मक काम ओझेलमा परेको छ। गाउँबस्तीहरू युवाविहीन भएका छन्। यहाँका उर्वरभूमि बाँझो बनेका छन्।
युवाका तागत र मेहनतलाई स्वदेशकै भूमि उर्वर बनाउन खर्चिनु पर्छ। यहाँका डाँडाकाँडा र पाखापखेरा उर्वर बनाउन लगाइनुपर्छ। यहाँका बाँझो खेतबारी र खरियानलाई गुल्जार बनाउनुपर्छ। धन कमाउन विदेशकै भूमि ताक्नुभन्दा मेहनत गरेर स्वदेशकै भूमिमा सुन फलाउन सक्नुपर्छ। स्वदेशमा फलेका फल र फुलेका फूल आफ्नै लागि हुन्छ। विदेशमा गरेको परिश्रमको फल विदेशीकै लागि हुन्छ। स्वदेशी शक्तिलाई विदेशमा खर्चेर हाम्रो मुलुक समुन्नत बन्दैन। हामी र हाम्रो राष्ट्र समुन्नत बनाउन हामी युवाको शक्ति र स्रोत हाम्रै भूमिमा खर्चिन सक्नुपर्छ।
वि.सं. २०६६ साल माघ १४ गते नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय युवानीति २०६६ ले युवा भनेका १६ देखि ४० वर्षसम्मका महिला, पुरुष र तेस्रो लिङ्गीलाई उल्लेख गरेको छ। २०५८ को जनगणना अनुसार नेपालमा कुल जनसङ्ख्याको ३८.८ प्रतिशत युवा रहेका छन्। यद्यपि युवालाई उमेर समूहसँग मात्र दाँज्ने गरिएको छ। यिनलाई सोच, विचार र चिन्तनशैलीको क्रियाशीलतासँग पनि दाँज्नुपर्ने आवश्यकता छ।
युवाका समस्या समाधानका निम्ति व्यापक जनदबाब तथा बहसहरू हुन थालेपछि तत्कालीन सरकारले २०६५ भदौ १५ गते पहिलोचोटी युवा तथा खेलकुद मन्त्रालयको गठन गरेको थियो। यद्यपि युवाका समस्यालाई विभिन्न पञ्चवषर्ीय योजनामार्फत केही हदसम्म सम्बोधन गर्ने रणनीति राज्यले लिंदै आएको छ।
नेपालको अन्तरिम संविधानको धारा ३५ -२०) मा देशको विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नेछ भनी उल्लेख गरिएको छ। युवाको समस्या ठूलो भए पनि त्यसको सम्बोधन तथा व्यवस्थापनका लागि पर्याप्त नीति र ऐन छैनन्। पछिल्लोपटक विभिन्न नीति, नियमावली र साझेदारी कार्यक्रममार्फत युवाका समस्यालाई सम्बोधन गर्न खोजिएको छ।
जुन पार्टीको भागमा युवा मन्त्रालय पर्छ, त्यही पार्टीका कार्यकर्तालेे बढी लाभ लिने गलत परिपाटी सुरु भएको छ। यो राज्यका लागि विकृति हो, समस्याको समाधान होइन। यसलाई सरकारले तत्काल सुधार गर्नुपर्छ। राज्यले युवा शक्तिको सही परिचालन र सदुपयोगका लागि राम्रो नीति बनाउन नसक्दा र बनेका नीति पनि राम्रोसँग कार्यान्वयन गर्न नसक्दा युवावर्गको ठूलो हिस्सा विदेशी भूमिमा रोजीरोटीका लागि भौंतारिनुपरेको छ।
श्रम तथा यातायात मन्त्रालयको तथ्याङ्क अनुसार हाल करिब २२ लाख ३७ हजार ७६७ नेपाली युवा विदेशमा कार्यरत छन्। दैनिक १५ सयको सङ्ख्यामा युवा विदेश पलायन भइरहेका छन्। रेमिट्यान्सको लोभले सरकारले युवालाई विदेशिनबाट रोकेको छैन। स्वदेशमा रोकेर रोजगारको व्यवस्था गर्न नसकेर पनि राज्य लाचार बनेको छ। सृजनात्मक काममा युवालाई लगाउन सरकारले उचित नीति तथा योजना अख्तियार गर्न सकेको छैन।
नेपालमा युवा भनेर १६ देखि ४० वर्ष उमेर समूहलाई मान्ने गरे पनि संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेको छ। बालबालिकासम्बन्धी महासन्धि १९८९ र अन्तर्राष्ट्रिय श्रमसङ्गठनले १८ वर्षभन्दा माथिकालाई युवा मानेको छ। विश्व युवा प्रतिवेदन सन् २००५ अनुसार २० करोड युवा गरिबीको रेखामुनि रहेको देखाएको छ। ५१ करोड ५० लाख युवाको प्रतिदिन आम्दानी दुई अमेरिकी डलरभन्दा कम छ। विश्वमा १३ करोड युवा अशिक्षित छन्। आठ करोड ८० लाख युवा बेरोजगार छन्। जसमध्ये आधाभन्दा बढी युवाको जनसङ्ख्या एसिया र अपि|mकामा मात्र देखिन्छ।
गरिबी, बेरोजगारी र न्यून आम्दानीले हत्या, हिंसा, अपहरण र अराजकताका घटना बढाएको छ। 'मर्ता क्या नहीं कर्ता' भनेझैं भोको पेटका लागि मानिस जे पनि गर्न तयार हुन्छ। पेट पाल्ने समस्याले युवावर्ग चोरी, डकैती र अपहरणजस्ता डरलाग्दा घटनामा संलग्न हुने गरेका छन्। यसको न्यूनीकरणका लागि राज्यले युवालाई रोजगार, पहुँच र पर्याप्त अवसरको निर्माण गर्न सक्नैपर्छ।