सप्तरी, जेठ १६ गते। सप्तरीमा मासिक एक अर्ब रुपियाँभन्दा बढी रुपियाँ वैदेशिक रोजगारबाट प्राप्त हुने गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा रेमिट्यान्सको भुक्तानी दिने आइडियल सहकारी संस्था, प्रभु मनि ट्रान्सर्फमर, आई एमई, श्रृजना फाइनान्स, एम हार्डवेयर, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्कसहित अन्य संस्थाले मासिक रूपमा रु. ५० करोडभन्दा बढी भुक्तानी दिने स्रोतले जनाएको छ ।
त्यसैगरी सदरमुकामबाहेक जिल्लाको फत्तेपुर, कञ्चनपुर, रुपनगर, महुली, रुपनी, कल्याणपुर, वादे बर्साइन, कुशाहा, भारदह, हनुमाननगरसहितका स्थानमा खुलेका विभिन्न सङ्घ, संस्था तथा बैङ्कले पनि ५० करोडाभन्दा बढी मासिक रूपमा भुक्तानी गर्ने गरेको सम्बद्धहरू बताउँछन् ।
विदेशमा रोजगारीका लागि युवाहरू विदेशिने क्रम एक दशकभन्दा अघिदेखि जारी रहेको र करिब एक दशकदेखि युवा वैदेशिक रोजगारमा कमाएका रकम रूपमा विभिन्न रेमिट्यान्समार्फत आफन्तलाई पठाउने गरेका छन् । वैदेशिक रोजगारमा गएका युवा आफन्तहरूले पायक पर्ने नजिकको भुक्तानी केन्द्रबाट सहज रूपमा भुक्तानी लिने गरेको र यसलाई आधार मानेर हेर्दा सप्तरी जिल्लाभरिमा मासिक रु. एक अर्ब भुक्तानी आफ्न्तले लिने गरेको विचार रेमिट्यान्सको भुक्तानी दिने आईडियल सहकारी संस्था राजविराजका अध्यक्ष गणेश कुमारको रहेको छ ।
रेमिट्यान्स रकम सुन, चाँदी खरिदसँगै घर जग्गा खरिदमा बढी लगानी हुने गरेको पाइएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि जिल्लाको विभिन्न बजार र ग्रामीण क्षेत्रमो जग्गाको मूल्य पनि यसै कारण आकाशिएको घर जग्गा खरिद बिक्रीमा संलग्न सञ्जय दासले बताउँदै वैदेशिक रोजगारमा गएकाहरू महँगो मूल्यमा घर, घडेरी किन्ने गरेको तथ्यलाई पुष्टिसमेत गरेका छन् ।