काठमाडौँ, जेठ १६ गते। झम्सीखेल युवा क्लब मङ्गलबार बुद्धिविकास खेल मण्डललाई १-० गोलले पराजित गर्दै सहिद स्मारक रेडबुल 'सी' डिभिजन लिग छनोट चरण फुटबल प्रतियोगिता-२०६९ अन्तर्गत समूह 'ख'को सेमिफाइनलमा प्रवेश गरेको छ। झम्सीखेलका लागि सरोज थापाले खेलको ४०औँ मिनेटमा गरेको गोल निणर्ायक बनेको थियो।
यसैगरी आज दक्षिणकाली खेलकुद विकास समिति र नर्थस्टार क्लब पनि समूह 'ख'को अन्तिम आठमा पुगे। यसअघि पैनाचल युवा क्लब पनि सेमिफाइनलमा पुगिसकेको छ। सेमिफाइनलमा बुधबार झम्सीखेल युवा क्लब र दक्षिणकाली खेलकुद विकास समिति तथा नर्थस्टार क्लब र पैनाचल युवा क्लबबीच खेल हुनेछन्।
दक्षिणकाली खेलकुद विकास समितिले सीतापाखा युवा क्लबलाई १-० गोलले हरायो। दक्षिणकालीका लागि नवीन कर्माचार्यले खेलको ६९औँ मिनेटमा निणर्ायक गोल गरेका थिए।
नर्थस्टार क्लबले शान्ति गोरेटो युवा क्लबलाई ५-१ गोलले पराजित गर्यो। नर्थस्टारका लागि अमित राई र नवीन लिम्बूले दुई/दुई गोल गरे। विजयी टिमका लागि अतुल गौतमले पनि एक गोल गरे। शान्तिगोरेटोका लागि कुशलजङ थापाले ५३औँ मिनेटमा सान्त्वना गोल गरेका थिए।