काठमाडौँ, जेठ १६ गते। विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिनातयारी संविधानसभा विघटन भएकाले मुलुक ठूलो सङ्कटतिर उन्मुख भएको बताउनुभएको छ।
सिंहदरबारस्थित आफ्नै सचिवालयमा मङ्गलबार पत्रकारहरूसँगको भेटघाटमा अध्यक्ष नेम्वाङले त्यस्तो बताउनुभएको हो। मुलुकलाई सङ्कटबाट उन्मुक्ति दिन राजनीतिक दलका नेताहरूको एकता र सहमति अपरिहार्य रहेको धारणा व्यक्त गर्दै उहाँले "नेताहरूबीच यस्तो सङ्कटको अवस्थामा बेमेल कायम रहनु मुलुकलाई थप जटिलतामा पुर्याउनु हो" भन्नुभयो।
संविधानको मस्यौदा तयारी अवस्थामा रहेको चर्चा गर्दै नेम्वाङले राजनीतिक दलका नेताहरूको सहमति हुन नसकेपछि त्यसलाई जारी गर्न नसकिएको बताउनुभयो। "बिहानसम्म प्रधानमन्त्रीले तयारी अवस्थामा रहनूस्'' भनेर मलाई तीनपटक फोन गर्नुभएको थियो तर दलहरूबीच सहमति हुन नसकेपछि अन्तिम अवस्थामा जारी गर्न सकिएन" उहाँले भन्नुभयो।
राजनीतिक दलका नेताहरूबीच सहमति बन्न नसकेकै कारण ११ बजे बोलाइएको व्यवस्थापिका संसद् तथा संविधानसभाको बैठक सुचारु गर्न नसकिएको उहाँले स्वीकार्नुभयो। "अन्तिमपटक भए पनि सभासद्हरूको अनुहार हेर्ने इच्छा मेरो पनि थियो तर त्यो वातावरण दलको असहमतिले बन्न दिएन" उहाँले भन्नुभयो।
संवैधानिक सङ्कट आए मुलुक अराजक स्थितिमा जाने दलका नेताहरूलाई सुझाव दिए पनि त्यसको सुनुवाइ नहुँदा अहिलेको अवस्था सिर्जना भएको उहाँले प्रष्ट्याउनुभयो। संविधानको मस्यौदा छपाइका लागि गोरखापत्र संस्थान, जनकशिक्षा सामग्री लिमिटेडलगायतका सरकारी निकायलाई तैनाथी अवस्थामा राखेको जानकारी दिँदै उहाँले अन्तिम घडीमा आएर दलका नेताहरूले धोखा दिएको बताउनुभयो।
"संविधानसभा विघटन हुने कुराको कल्पनासम्म गरिएको थिएन, मकहाँबाट मन्त्रिपरिषद् बैठकका लागि निस्कनुभएका प्रधानमन्त्री, मन्त्रीहरू छ महिनाका लागि सङ्कटकाल लगाउने निर्णय गर्ने भनेर जानुभएको थियो तर र्फकंदा विघटन गर्ने भनेर र्फकनुभयो" उहाँले जानकारी दिनुभयो।
संविधानसभा विघटन भए पनि मुलुकलाई निकास दिने कुनै विकल्प दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै नेम्वाङले अबको विकल्प दलीय सहमतिबाहेक अन्य
नरहेको बताउनुभयो। राजनीतिक जटिलता, अराजकताको लक्षण देखापर्न थालिसकेको पनि उहाँले उल्लेख गर्नुभयो।