काठमाडौँ, जेठ १९ गते। नेपाल क्रिकेट सङ्घ -क्यान)ले शुक्रबार एसीसी यु-१९ एसियाकप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेको छ। जसमा चार खेलाडी वैकल्पिकमा छन्।
गत महिनादेखि सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविरमा सामेल खेलाडीबाट टिम चयन गरिएको हो। गत वर्ष आयरल्यान्डमा भएको आईसीसी यु-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा सहभागी भएका १४ जना खेलाडीका साथ हालै काठमाडौँमा सम्पन्न यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट छानिएका दस खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए।
नेपाली टिमको कप्तानको जिम्मेवारी पृथु बाँस्कोटालाई नै दिइएको छ। उपकप्तानमा प्रदीप ऐरी छन्। चयन भएका अन्य खेलाडीमा हासिम अन्सारी, अविनाश कर्ण, भुवन कार्की, नरेश बुढाएर, राहुल विश्वकर्मा, राजेश पुलामी, सागर पुन, सुवास खकुरेल, फजलुर रहमान, गोपाल सिंह र सौरभ खनाल, कृष्ण कार्की र रामनरेश गिरी रहेका छन्।
वैकल्पिक खेलाडीमा निश्चल पाण्डे, पवन श्रेष्ठ, रुपेश श्रीवास्तव , प्रजेशबहादुर सिंह छन्। विनोद लामा, अभिशेष झा, विजय घालान, सुरेन्द्र चन्द, सुवेन्दु पाण्डे, शिव तण्डुकार र सुशील कँडेल टिमबाट बाहिरिएका छन्। एसीसी यु-१९ एसिया कप असार ९ देखि १७ गतेसम्म मलेसियामा हुँदैछ।
श्रीलङ्का जाने क्रिकेटरलाई गोल्डेनगेटको सहयोग
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १९ गते। श्रीलङ्काली यु-२३ क्लब स्तरीय लिग क्रिकेट प्रतियोगितामा सहभागी हुने क्रममा रहेका नेपालका तेज बलरद्वय अमृत भट्टराई र चन्द्र साउदलाई शुक्रबार गोल्डेनगेट इन्टरनेसनल कलेजले स्नातकोत्तरसम्मका लागि छात्रवृत्ति प्रदान गरेको छ। यसैगरी, गोल्डेनगेटले यी दुई क्रिकेटर श्रीलङ्का जाँदा आवतजावत गर्दा हवाई टिकट खर्च पनि बेहोर्ने छ।
आगामी साता श्रीलङ्कामा सुरु हुने प्रतियोगितामा दुवैले पोर्ट अथुरिटी क्लबबाट खेल्ने छन्। श्रीलङ्कामा अमृत र चन्द्रले छ हप्ता बिताउने छन्। यस क्रममा बलरद्वयले छ तीन एकदिवसीय र छ एकदिवसीय खेल खेल्नेछन्।
गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले नेपाली खेलाडीलाई विदेशी टिमबाट खेल्न वातावरण मिलाइदिएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसनायकेलाई धन्यवाद दिएका छन्। प्रशिक्षक दसनायकेकै पहलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पनि अहिले क्यानाडामा लिग क्रिकेट खेलिरहेका छन् भने शक्ति गौचनले इन्डियन पि्रमियर लिग -आईपीएल)मा ट्रायल दिन गएका थिए।
हाम्रा क्रिकेटर क्रिकेटको संस्कृति भएको विदेशी क्लबबाट खेल्दा राष्ट्रलाई फाइदा पुग्छ तर यो कुरा सरोकारवालाहरूले बुझेका छैनन्, खेलाडी बाहिर खेल्न जाँदा राष्ट्रिय खेलकुद परिषद् र क्यान मौन रहने गरेकोमा मेरो गुनासो छ, सिलवालले भने।
यसैगरी, नेपाली क्रिकेट टिमका प्रशिक्षक दसनायकेले नेपाली खेलाडीहरूमा अलौकिक क्षमता भएको बताए। यसो हुँदाहुँदै पनि आईसीसी एसोसिएट राष्ट्रमा नेपाल १७औँ स्थानमा छ, जुन वरीयताले मलाई दुःखी बनाउँछ, प्रशिक्षक दसनायकेले भने। उनले यसको प्रमुख कारण अनुभवको कमी मानेका छन्। त्यसैले पनि उनले नेपाली खेलाडीलाई विदेशमा खेल्ने वातावरण मिलाइदिएको हुँ, प्रशिक्षक दसनायकेले बताए।
यसैगरी, दुवै खेलाडीले पहिलोपटक देश बाहिरको क्लबबाट खेल्ने अवसर पाएकोमा प्रशिक्षक पुबुदुलाई धन्यवाद दिएका छन््। हामी उत्साहित छौँ, लक्ष्य पनि एउटै छ, प्रशिक्षकको विश्वासलाई सही सावित गर्ने, दुवैले एकै स्वरमा भने।