जतिखेर मुलुकलाई अन्तरदलीय एकता र सहमतिको आवश्यकता परेको छ त्यतिखेर मुलुकका प्रमुख दलहरूमा आन्तरिक विवाद र विभाजोनमुख अवस्था देखिन थाल्दछ जसले अन्तरदलीय एकतालाई असम्भव बनाउदै लग्न पनि मद्दत पुर्याउँदछ । यसैले गर्दा सर्वसाधरणले उठाउन सक्ने एउटा टड्कारो प्रश्न छ- दलहरूमै आन्तरिक एकता छैन भने विभिन्न दलहरूमा कसरी एकता सम्भव हुन्छ ? यो प्रश्नमा सत्यता र चिन्ता दुबै छन्। बहुदलीय व्यवस्था बहुलवादमा आधारित शासन पद्दति भएकाले यसले बहुपार्टीलाई मात्र नभएर बहुल विचार पनि स्वीकार गर्दछ ।
त्यसकारण एउटा पार्टीभित्र बहुविचार हुनुलाई बहुलवादको स्वरूप मान्न सकिन्छ । नेपालमा बहुदल मान्दछु तर बहुलवाद मान्दिन भन्ने वहस अद्यापि छदैछ जुन समकालीन राजनीतिशास्त्रीय दृष्टिकोणबाट निराकरण हुन बाँकी नै छ । बहुदलीयता मानिसकेपछि बहुलवाद मान्दिन भनियो भने अवस्थामा विरोधाभाष देखिन सक्दछ । नेपाली राजनीतिक दलहरूमा देखिएका कतिपय विवादलाई यसै दृष्टिकोणबाट व्याख्या गर्नसकिने भए पनि धेरैजसो विवाद कुर्ची, पद वा यस्तै शुभलाभकारी सन्दर्भमा हुनेगरेका छन्। खासगरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी) र एमालेमा देखिएका केही विवाद सैद्धान्तिक र बहुलवादको दृष्टिकोणबाट व्याख्या गर्न सकिए पनि काङ्ग्रेस र मधेसवादी दल वा मोर्चामा देखिएका विवादहरू नितान्त पदीय प्रकारका छन्। माओवादीमा आन्तरिक लेनादेना जे जस्तो भए पनि बाहिर देखिदा वर्तमान -संसदीय) अभ्यासमार्फत अघि बढ्ने कि यसलाई माध्यम बनाएर तत्कालै जनवादितामा जाने भन्ने विवाद छ । एमालेमा खासगरी राज्यपुनसर्ंरचनाका सन्दर्भमा आदिवासी जनजाति र मधेसी सभासद्ले सैदान्तिक रूपमा असहमति/सहमति व्यक्त गरे यस्ता विवादलाई उचितसँग व्यस्थापन गर्न सकिन्छ । तर पद र प्राप्तिका लागि काङ्ग्रेस वा मधेसीमा देखिएको विवादलाई व्यवस्थापन गर्न विचारले होइन पदले मात्र सकिन्छ । नेपाली राजनीतिक शक्तिहरू सत्तामा पुग्ने वित्तिकै फुट्छन् भन्ने तथ्य अब सिद्धान्त बन्ने अवस्थामा पुगेको छ । दलमा दलदल र पार्टीमा पार्टपार्टका विवाद र विभाजन सर्वत्र देखिएकाले सहमतीय समाधान खोज्नेहरू अलि चिन्तित हुने अवस्था देखिएको छ । जीवन्त, क्रियाशील राजनीतिक पार्टीमा वहस र विवाद हुनु अस्वाभाविक होइन । तर नेपाली सन्दर्भमा दलहरूमा विवाद गर्नु भनेको विभाजनको विउ रोपियो भन्ने बुझ्नु पर्ने
हुन्छ । संविधानसभाको अवशानपछि सबैदलहरू आगामी निकासका बारेमा एकताबद्ध हुनुपर्ने अवस्थामा उनीहरूभित्रको विभिन्नखाले विवादले समाधानका प्रस्तावनाहरूलाई पनि झन्झन् पछाडि धकेल्दै लगेका छन्। कुनै पनि प्रकारका समाधानमा अन्तर र आन्तरिक दलीय एकता खोज्नु असम्भव जस्तो देखिएको छ । यसले सामाजिक जीवनका अन्य पक्षलाई निराश तुल्याएको छ । दलहरूलाई अझै पनि अवसर छ । अझै पनि जनताहरू राजनीतिक समस्याको समाधान दलहरूले खोज्ने हो भन्ने विश्वास र प्रतीक्षामा छन्। यी विश्वास प्रतीक्षा मेटिन सक्दछन् जनमानसबाट र उनीहरू राजनीतिक दलहरूभन्दा अन्य कुनै शक्तिलाई राजनीतिक समाधान दिने शक्ति वा स्रोत मान्न पुग्नेछन्। त्यस अवस्थामा राजनीतिक दलहरूको भूमिका के हुनसक्दछ सबैले चिसिएर सोच्नुपर्ने बेला आएको छ, खासगरी, ठूलादलहरूले। नेपालको राजनीतिमा देखिएको विडम्बना नै हो कुनै पनि नेताले जनतालाई आफ्नो विश्वासमा बाँध्न नसक्नु, जनताको दृष्टिमा नेताहरू अलोकपि्रय र दलअरू असक्षम हुनुले अन्तत्वोगत्वा त्यसको असर व्यवस्थामा पर्दोरहेछ । अहिले नेता र दलहरू असफल हुनु भनेको हामीले थालनी गरेको वर्तमान राजनीतिक अभ्यास नै असफल हुनु हो। नेपालको संसदीय व्यस्थाको अभ्यासका क्रममा नेता वा दलहरूले देखाएका अराजनीतिक प्रवृत्तिको कारण जनताको केही हिस्साले संसदीय व्यवस्था नै नराम्रो हो कि भन्ने निष्कर्ष निकालेका थिए भने त्यसलाई अन्यथा मान्नुपर्ने स्थिति पनि छैन । "संसदीय व्यवस्था अति राम्रो हो भन्ने होइन तर योभन्दा राम्रो अरू व्यवस्था छैन कि" त्यसै भनिएको हैन । दलहरूका विवादले मुलुकलाई पुर्याएको हानिका बारेमा निष्पक्ष अध्ययन गर्ने हो भने भयावह चित्र प्रस्तुत हुन सक्दछ । त्यसैले एउटा सीमाभित्र रहेर देश र जनतालाई सर्वोपरि ठानी रचनात्मक वहस र विवाद गरियो भने इएम फोष्टरले भनेजस्तै प्रजातन्त्र त विविधता र आलोचनालाई सहने व्यवस्था हो यसमा सबै अटाउँछन्। अन्यथा दलहरूको विवादले राजनीति त विग्रन्छ नै मुलुक पनि विग्रन पुग्दछ । दलहरूले जनताको विश्वास गुमाउँदा आउने परिणामले देश, जनता वा दल कसैको हित नगर्न सक्दछ ।