यसवर्ष राजधानीमा विगत आधा दशकयताकै बढी गर्मी भएको मौसम तथा जलवायु विज्ञान विभागले पुष्टि गरेको छ। जेठको करिब अन्त्यतिर आइसक्दा पनि पूर्वमनसुनको लक्षण देखिएको छैन। राजधानीमा खानेपानीको हाहाकार नै छ। घरघरमा खनिएका इनारहरू पनि लामो खडेरीका कारण सुक्न थालेपछि जनजीवन थप कष्टकर बन्दै गएको छ। मुलुकका अन्य कतिपय क्षेत्रमा खडेरीका कारण धानको व्याड राख्नसमेत नपाइएको अवस्था छ भने कतिपय स्थानमा पानी पार्ने "प्रयास"मा स्थानीयहरू लागेका छन्। कहंीँ महिलाले उल्टो हलो जोतेर पानी मागेका छन् भने कही जलधारा गरेका छन्। बाँकेमा सुनारी क्षेत्रका बासिन्दाले स्थानीय प्रथाअनुसार पानी पारिदेऊ भनेर राजाको पूजा प्रार्थना गरेका छन्। हेटौडाजस्तो घना आवादी क्षेत्रमा खानेपानीको गम्भीर समस्या आएकाले उपभोक्ताहरूले खानेपानी संस्थानसँग्ा पानी मागेका छन् र साङ्केतिक विरोधमा खानेपानी संस्थानमा ताला लगाइदिएका छन्। खडेरी र खानेपानीको समस्या मुलुकभर देखिदा केही क्षेत्रमा भने बर्खा नलाग्दै अनपेक्षित वषर्ाको कारण आएको बाढीपहिरोले अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ। यस वर्षको सुरुमै कास्कीमा सेती नदी थुनिएर एक्कासि फुट्दा भएको क्षति र सुदूरपश्चिमका केही जिल्लामा हालै आएको पहिरोले जनजीवन प्रभावित भएको छ। नेपाल जलवायु परिवर्तनको असर पर्ने उच्च जोखिममा रहेका विश्वका देशहरूको अग्रपङ्क्तिमा पर्दछ। हिमालहरूको पग्लदो कारण, वनजङ्गलको विनाश, तीव्र अव्यवस्थित शहरीकरणजस्ता कारणले यहाँको वातावरणलाईर् मात्र नभएर जलवायु परिवर्तनलाई पनि असर गरेको हो कि भन्ने सङ्केत देखिन थालेको छ। जलवायु परिवर्तनका असरलाई रोक्न वा न्यूनीकरण गर्न नेपालजस्ता अल्पविकसित राष्ट्रहरूको प्रयास अपुग्दो हुनसक्दछ साच्चै भन्ने हो भने विकसित मुलुकले खपत गरेका विद्युतीय र आणविक ऊर्जालगायतको प्रयोगबाट विश्व जलवायु परिवर्तनमा परेको तीव्र असरको पीडितहरू नेपालजस्ता अल्पविकसित देश र त्यहाँका नागरिक हुने भएका छन्। नेपाल आफ्नै आन्तरिक र विश्वव्यापी कारणबाट यस्ता समस्यासँग जुध्नुपर्ने मोडमा आइपुगेको छ।
खानेपानीको समस्या समाधानमा अर्कोको मुख ताकेर मात्र पनि नहुँदो रहेछ। ठूलठूला परियोजना तथा त्यसमा लाग्ने लागत र समयका कारण हाल दैनिक रूपमा भोगिएको खानेपनीको समस्या तत्कालै समाधान गर्न सम्भव देखिदैन। अर्कोतिर राजधानीमा कुनै एउटा परियोजनामार्फत समस्या समाधान गरियो भने त्योभन्दा बढी समस्या रहेका मोफसलमा त्यस्तै परियोजना सञ्चालन गर्न सकिएला भन्ने पनि छैन। राजधानीको समाधान नै सबैतिरको समाधान पनि होइन। त्यसैले स्थानीय स्रोतको उपयोगमा निजी सरकारी साझेदारीजस्ता अवधारणमा खानेपानीको सङ्कलन, वितरण गर्नुपर्ने आवश्यकता देखिएको छ। तीव्र रूपमा हुँदैगरेको शहरीकरणा र जनसङ्ख्याको असन्तुलित वितरणले प्राकृतिक साधनस्रोतको उपयोगमा समस्या आएका हुन्। गाउँठाउँमा खोलानाला छन् तर मानिसहरू त्यहाँबाट विस्थापित भएर शहर आउने क्रममा छन् यसले गर्दा पानी र मानिस मात्र होइन प्राकृतिक सम्पदा र मानिसको साइनो टाढिदै छ। खोलामा सित्तै बगेको पानी शहर आइपुग्दा मूल्यवान सम्पत्ति हुने गरेको छ। पानीमाथि मुलुकले लगानी गरेपछि यसको व्यवसायीकरण हुने भएको छ। पानीको व्यापार गरेर आम्दानी गर्न सकिने सम्भावना पुष्टि भइसकेको अवस्थामा खानेपानीको व्यवस्थापनमा निजी लगानीको खोजी गर्नुपर्ने भएको छ। तत्कालको अवस्थालाई हेर्दा खानेपानी समस्याको समाधान भनेको यसको उत्पादन र वितरण मात्र देखिए पनि छाँगाछहरा र खोलाखेल्सा छाडेर शहर प्रवेश गर्ने बसाइँसराइ मनोविज्ञान र परिणामसँग यो समस्यालाई जोडेर हेर्नुपर्दछ। गाउँघरमा सेवा र सुविधा पुर्याएर जहाँ पानीलगायत प्रकृतिका सम्पदा प्रचुर मात्रामा छन् त्यहाँ नै बसौंबसौं लाग्ने बनाउन सकियो भने बसाइँसराइँले ल्याउने पानीलगायतका सम्पदाको उपयोगलाई सहज गर्न सकिन्छ। खानेपनी, वनलगायतका प्राकृतिक सम्पदाको संरक्षण, सदुपयोगमा आक्रामक नीति लिएर अघि बढेन भने आगामी दिन खानेपानीको समस्या अझ विकराल हुनेछ। जुन देशमा खानेपानीको समस्या हुन्छ त्यहाँ अन्य के कुराको सुविधा हुनसक्दछ अनुमान लगाउन सकिन्छ।