रूपन्देही, जेठ २७ गते। रुपन्देहीको मुख्य बजार बुटवलमा पेट्रोलियम पदार्थमा व्यपारीहरूले कालोबजारी सुरु गरेका छन्। व्यापारीहरूले तेल लुकाएर मात्र बेच्न थालेपछि उपभोक्ताहरू मर्कामा परेका छन्। मूल्य बढ्ने हल्लासँगै रुपन्देहीका पम्पहरूले पेट्रोलियम पदार्थ लुकाएका हुन्।
नेपाल आयल निगमले घाटामा तेलको आपूर्ति गर्दा बाँकी बक्यौता तिर्न नसकेको जनाउँदै मूल्य बढाउने तयारी गरेको भन्दै जिल्लाका १५९ पम्पहरूले तेल लुकाएर राख्ोका हुन्। पेट्रोलपम्पहरूले तेल नभएको सुचना टाँसेर राख्ने गरेका छन् तर भित्री रुपमा भने कालोबजारीमा तेल भने बिक्री गरेको पाइएको छ।
बजारमा पेट्रोलियम पदार्थको हाहाकार भए पनि स्टक नभएका तेल सकिएको जनाउँदै उपभोक्तालाई फर्काइदिने गरेका छन्। बुटवल क्षेत्रमा रहेका अधिकांश पेट्रोलपम्पहरूले रातिमा प्रतिलिटर १६० देखि १८० रुपैयाँसम्ममा तेल बेच्ने गरेका छन्।
उनीहरूले दिउँसोमा तेल नभएको सूचना टाँसेर पम्प नै बन्द गरे पनि बढि मूल्य तिर्न चाहने उपभोत्तालाई साँझमा बोलाएर तेल दिने गरेका हुन्। 'तेल
छ ? भनेर सोध्यो भने छैन भनेर पठाउँछन्', उपभोक्ता गणेश खरेलले भन्नुभयो- 'तर रातिमा बढि पैसा तिर्छु भन्यो भने पाइन्छ।'
बुटवल क्षेत्रका शिवशक्ति, दुर्गा, सपना, कालिका, गैरै, भारी, एम.के.शाह, ज्योती, भैरव व्यापार, डि.के.जी. लगायतका पेट्रोलपम्पहरूले तेल लुकाएर कालोबजारी गर्ने गरेका हुन्। उपभोक्ताहरूका अनुसार यी पेट्रोलपम्पहरूले कालोबजारीमा तेलको बिक्री वितरण गर्दै आएका छन्। यति मात्रै होइन अधिकांशले मूल्य वृद्धि भएपछि बेच्ने गरी तेल लुकाएर रखेका समाचार स्रोतको दावी छ।
नेपाल आयल निगम भलवारीले जनाए अनुसार दैनिक प्रत्येक पम्पलाई तीन हजार लिटर तेल वितरण गर्ने गरेको छ। एउटा डिपोमा तीन हजार लिटर पेट्रोल वितरण हुँदा बुटवल क्षेत्रमा रहेका करिब १६ वटा पम्पहरूमा ४८ हजार लिटर पेट्रोल जम्म्ाा हुने गर्दछ तर यहाका पेट्रोल पम्पहरूले भने तेल नै नभएको भन्दै उपभोक्तालाई रित्तै फर्काउने गरेका छन्।
पेट्रोलको हाहाकार मच्चिएपछि जिल्लाका भैरहवा र बुटवलका उपभोक्तले पाउनुसम्मको सास्ती पाएका छन्। तेल लुकाएर बेच्न थालेपछि उपभोक्ता ठगिएका छन् भने सामान्य उपभोक्ता तेल नपाएपछि मोटरसाइकल नै थन्काएर हिँडन थालेका छन्।
नेपाल आयल निगमले तेलको कटाती गरेको भन्दै पेट्रोलको अभाव भएको दावी गरे पनि ल्याइएका तेलसमेत व्यपारीहरूले लुकाएपछि बजारमा चरम अभाव देखिएको हो। पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव हिमाल गैरेले भने तेल नलुकाएको दावी गर्नुभयो।
आयल निगमको भलावडीबाट लुम्बिनी र राप्ती अञ्चलसम्म पेट्रोलियम पदार्थहरू ढुवानी गर्ने गर्दछ। शुक्रबार मात्रै पाँच ट्रक पेट्रोल भलवाडी डिपोमा आएको जनाइएको छ। उपभोक्ताहरूले भने खुलेआम उपभोक्ताको आँखा छलेर कालोबजारी र तेल स्टक राखेको गुनासो गरेका छन्।
पम्पको अगाडि तेलको गाडी राखिएको छ, एकजना उपभोक्ता कृष्ण पाण्डेले भन्नुभयो, 'अनि तेल छैन भनेर भन्न मिल्छ।' उहाँले पटक पटक पम्पमा जाँदा पनि तेल नदिएको तर बढि मूल्य दिन्छु भनेपछि तेल दिएकाले पम्पहरूले तेल लुकाएको प्रस्ट भएको आरोप लगाउनुभयो।
एक सातादेखि रुपन्देहीसहित पश्चिमाञ्चलमै पेट्रोलियम पदार्थको चरम अभाव भएको छ। क्षेत्रीय डिपो भलवाडीमा भारतबाट आउने पेट्रोलियम पदार्थको कटौती र व्यवसायीहरूको दुई नम्बरी प्रवृत्तिका कारण उपभोक्ताहरू मर्कामा परेका हुन् ।