काठमाडौँ, जेठ २८ गते। राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्यमा सुधार आए पनि खतरामुक्त भने नरहेको अस्पतालले जनाएको छ।
नर्भिक इन्टरनेसनल अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी ८५ वषर्ीय अध्यक्ष थापाको शल्यक्रिया गरी पेसमेकर राख्ने काम सफल भएको जानकारी दिएको छ। तथापि अहिले पनि उहाँलाई भेन्टिलेटरमै राखिएको छ।
अस्पतालका डा. भरत रावतले श्ाल्यक्रिया गरी पेसमेकर जडान गरिएको बताउँदै अध्यक्ष थापाको स्वास्थ्यमा निरन्तर सुधार आएको, रक्तचाप र मुटुको गतिमा पनि सुधार आएको जानकारी दिनुभयो।
"थप सुधार भएपछि आइतबार साँझसम्म भेन्टिलेटर निकाल्ने प्रयास हुनेछ," डा. रावतले भन्नुभयो। राष्ट्रिय जनशक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण गर्नेसम्बन्धमा कार्यसम्पादन समितिको बैठकमा बोलिरहँदा शनिबार बिहान एकाएक बेहोस भएर ढल्नुभएपछि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।