राजधानीमा शनिबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल -राप्रपा-नेपाल) को "शक्ति प्रदर्शन"मा उपस्थित जनसङ्ख्याले सो पार्टी र पार्टीले उठाएका मागहरूका समर्थक निकै उत्साही देखिएका छन्। विगतमा सो पार्टीले गरेका यस्ता आभसभाको तुलनामा यसपटकको सहभागिता अन्य दलहरूका लागि पनि राजनीतिक विश्लेषणको विषय बनेको छ। यस्तो उपस्थितिलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ समर्थकहरूले यसलाई सो पार्टीले उठाएका मागप्रति जनताको बढ्दो समर्थन र आलोचकहरूले पार्टीले ल्याएको भीड मात्र भन्न्ा सक्दछन् तर सत्य यही हो यसपटक राप्रपा-नेपालको आमसभामा उल्लेख्य उपस्थिति थियो।
संविधासभाको निर्वाचनमार्फत देश चलाउने जिम्मेवारी पाएका खासगरी माओवादी काङ्ग्रेस, एमाले र मधेशी मार्चाको क्रियाकलाप, संविधानसभाको निष्फल अवशान, बढ्दो जातीय तनावका खतराबीच राप्रपा-नेपालले उठाएका मागलाई जनताले अनुभूत गरेको हो यो उपस्थिति। तर यसका पछाडि राप्रपा-नेपाल सफल भएको भन्दा पनि अन्यदलहरू असफल भएकाले असन्तुष्टिको सङ्ग्रह -एक्क्युमुलेशन) का रूपमा राप्रपा-नेपालले "शक्ति प्रदर्शन" गरेको हो। राप्रपा-नेपालले उठाएका कतिपय मागहरू जनता र नागरिक समाजले उठाएका मागहरू नै छन्। खासगरी महत्वपूर्ण निर्णयमा जनमत सङ्ग्रह गरौं भन्ने र राष्ट्रियताका सवालमा उसले उठाएका मागलाई कुनै पनि प्रजातन्त्रवादी वा राष्ट्रवादीले अस्वीकार गर्नसक्दैन। यसरी जनताका माग र चहानालाई केही हदसम्म भए पनि प्रतिनिधित्व गरेको राप्रपा-नेपालले यस्ता माग पूरा गराउन अवलम्बन गर्ने तरिका भने प्रजातान्त्रिक र परिवर्तनमूखी हुन आवश्यक छ। देशले एउटा राजनीतिक फड्को मारिसकेको छ। समय पर्काएर र्फकन सक्दैन। विद्वान्हरूले भनेका छन्-इतिहास दोहरिन्छ तर भिन्न शैलीमा। अब उही शैलीमा, उही स्वरूपको राजनीतिक मनोदशा र मनोविज्ञानलाई पुनर्स्थापित गर्न सम्भव छैन। किनभने मुस्किलले रेडियो नेपाल, अल इण्डिया रेडियो र बीबीसी सुनेका पुस्ताले वालस्टि्रटका आन्दोलनमा सहभागी, सञ्चार र प्रविधिले चुस्त पुस्तालाई पुरानै ठाँउमा फर्काउन सम्भवै छैन।
"राजाका वरिपरि असाध्यै राष्ट्रवादी पनि छन्" भनेर प्रचण्ड स्वयम्ले भन्नुभएकै हो। तत्कालीन नेकपा माओवादीले यथार्थ धरातालमा राजा, संसदवादी र आफूहरू नेपालका तीन शक्ति हौं भनेको थियो। यसरी हेर्दा सबै पक्षबीच समन्वय हुने किसिमका राजनीतिक समाधान निकालौं भन्ने प्रस्ताव राप्रपा-नेपाल वा जसले राखे पनि ठाडै अस्वीकार गर्न सकिने अवस्था छैन तर राप्रपा-नेपालले भनेझै राजा नै मात्र राष्ट्रियताका प्रतीक भन्ने भनाइलाई हालैका परिवर्तनले पनि विस्थापित गरिसकेकाले राष्ट्रियताका सवालमा पनि फराकिलो सोच राख्न आवश्यक छ। जबसम्म जनता बलिया हुदैनन् तबसम्म राष्ट्रियता बलियो हुँदैन भन्ने भनाइ त विश्वका तमाम राजनीततिक घटनाले पुष्टि गरिसकेका छन्। त्यसैले राप्रपा-नेपालले राष्ट्रियताको परम्पावादी पञ्चायती रुढग्रस्त सोचाइबाट माथि उठेर राष्ट्रियताका प्रतीक अरू होइनन् जनता हुन् भन्ने एक्काइशौं शताब्दीय सोच बनाउन सक्नुपर्दछ। जहाँसम्म्ा राष्ट्रियताको सम्बर्द्धन र संरक्षणमा पूर्वराजावादी तथा वर्तमान सबै शक्तिको एकता हुनपर्दछ भन्ने माग वा दृष्टिकोण छ राप्रपा-नेपालको यसमा असहमत हुन आवश्यक छैन। हो, हालका केही क्रियाकलाप र भनाइहरूले मुलुककमा जातीय तथा क्षेत्रीय असहिष्णुता झाँगिदै गएर भविष्यमा त्यसले राष्ट्रिय अखण्डता र राष्ट्रियतामा नै आँच आँउछ कि भन्ने आशङ्काहरू पैदा नभएका होइनन्। तर यस्ता आशङ्काहरूको उपचार पनि परिवर्तित राजनीतिक धरातलमा टेकेर गर्नुपर्दछ। क्षेत्रीय र जातीय सद्भावयुक्त राजनीतिक वातावरण बनाउने जिम्मा समयले यिनै राजनीतिक दलहरूलाई दिएका छन्। विगतमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रजातन्त्र र राष्ट्रियताका सन्दर्भमा "प्रजातन्त्रका लागि राजासँग झगडा, राष्ट्रियताका सवालमा राजासँग एकता" जस्तोे सर्वमान्य र सर्वकालीक विचार व्यक्त गर्नुभएको थियो जुन आज पर्यन्त उत्तिकै सान्दर्भिक छ। त्यसैले अहिले पनि सत्य त यही हो- राष्ट्रियताका सवालमा सबै नेपालीबीच एकता आवश्यक छ। केवल त्यस्तो एकतालाई आकृत गराउने प्रक्रिया र साधनमा विमति हुनसक्दछन्। परिवर्तनलाई आत्मसात गरेर समाधान खोजियो भने यस्ता तमाम दृष्टिकोणमा राष्ट्रिय एकता कायम गर्न सकिन्छ।