मुलुकको जेठो विश्वविद्यालय अन्तर्गतका आंशिक प्राध्यापकहरू म्हिनौंदेखि आन्दोलनमा छन्। आफ्नो मागप्रति त्रिवि पदाधिकारीको ध्यानाकर्षण गर्न उनीहरूले लामो समयदेखि आन्दोलन घोषणा गरे। जुलुस निकाले, उपकुलपति कार्यालयका ढोकामा धर्ना बसे।
पदाधिकारीबाट सम्बोधन हुने आशा र विश्वासको बत्ती बालेर विगत तीन सातादेखि उनीहरू त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयको ढोकामा धर्ना बसिरहेका छन्। स्नातकोत्तर तह उत्तीर्ण गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा स्नातक र स्नातकोत्तर तहसम्म प्राध्यापन गरेर आफ्नो घाँटी सुकाउने यी प्राध्यापकहरूको पीडा सुन्ने जो कोहीको पनि गह भरिन्छ।
त्रिभुवन विश्वविद्यालयका आधाभन्दा बढी हिस्साको कक्षाभार बहन गरेर प्राध्यापन कार्यमा संलग्न यी आंशिक प्रध्यापकहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दैगएको छ। महिनाको दुई हजारदेखि पाँचहज्ाार रुपियाँसम्म मात्र कमाइ हुने यी आंशिक प्राध्यापकहरूले आफ्नो कमाइले आधा पेटसमेत खान नपाउने स्थिति छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा विगत दुई वर्षदेखि ग्रामीण विकास विषय प्रध्यापन गर्दै आएका एक जना प्राध्यापकले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा भने "आंशिक प्राध्यापकहरूलाई विश्वविद्यालयले एक पिरियडको रु १०२ रुपियाँ दिन्छ ।
मुलुक यही हो, देशमा बारम्बार बन्द हडताल, चक्काजाम आदिका कारणबाट सधैंँ कक्षा पनि चल्दैन। त्यसले गर्दा एक महिनामा दसदेखि पन्ध्र दिन पढाइ भयो भने रु एक हजारदेखि रु पन्ध्रसयसम्म कमाइ हुने गर्दछ। त्यति पैसाले कोठाको भाडा कसरी तिर्नु, के खानु" भनेर गुनासो गर्दा ती प्राध्यापकका गह भरिएका थिए। अर्का एक आंशिक प्राध्यापकले भने "बाआमाले खाइ नखाई गरेर स्नातकोत्तरसम्म पढाए।
पढाइ सकेर क्याम्पसमा प्राध्यापन गर्दैछु भन्न पनि लाज लाग्छ। स्कुलमा भुरा पढाउनेहरूको भन्दा आधा पनि कमाइ हुँदैन। यसरी क्याम्पसमा आंशिक प्राध्यापन गर्ने प्राध्यापकहरूको विश्वविद्यालयले ठूलो शोषण गरेको छ। कैयौं समयदेखि पेटभरि खाएको छैन। " ती आंशिक प्राध्यापकले भावुक हुँदै प्रश्न गरे "त्रिविको यो शोषणबाट हामी आंशिक प्राध्यापकहरू खै कहिले मुक्त हुौंला ?"
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नेमध्ये कसैलाई माथैमाथ छ, कसैका पुर्पुरामा हात छ। आंगिक क्याम्पसमा काम गर्ने कतिपय प्राध्यापकहरू पढाउँदैनन्। राजनीतिकदलका सङ्गठित सदस्यसमेत हुनाले उनीहरूले पढाउनु पर्दैन। त्रिभुवन विश्वविद्यालयमा हाजिर गरेर टाप कस्ने 'हाटा प्राध्यापक' र हाजिर गरेर हिँडने हाहीं प्राध्यापक'को नै बोलबाला छ। हाटा गर्ने प्राध्यापक महोदय क्याम्पसमा टेकेर हाजिर गर्नासाथ बाटो तताउने गर्दछन् भने 'हाहीं वाला एकछिन् स्टाफरुममा बसेर आकाशपाताल कुरा जोतेर वरिपरिका श्रोताहरूलाई आफ्नो विद्धत्ताको परिचय दिएर बाटो लाग्ने गर्दछन्। ती हाटा र हाहीं प्राध्यापकहरूका ठाउँमा यी आंशिक प्राध्यापकहरूले पढाउने गर्दछन्।
एक महिनाभन्दा पहिलेदेखि उपकुलपति कार्यालयको ढोकामा धर्ना बसेका त्रिविका आंशिक प्राध्यापकहरू आफ्ना मागप्रति विश्वविद्यालयले कुनै चासो नदेखाएको भनेर आक्रोश व्यक्त गर्नथालेका छन्। उनीहरूको आक्रोश योभन्दा पनि बढ्दै जानु भनेको त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पाठ्यक्रममा पनि प्रतिकूल प्रभाव पर्न जानु हो भन्ने कुरालाई त्रिवि पदाधिकारीहरूले राम्ररी हेक्कामा राख्नुपर्दछ।
यस अघिका वर्षहरूमा आंशिक प्राध्यापकहरूले गरेको सङ्घर्षका क्रममा भएका सम्झौतामा आइन्दा आंशिक प्राध्यापक नियुक्त नगर्ने, भएका सबैलाई करारमा नियुक्त गर्ने सम्झौता भए पनि विश्वविद्यालयले त्यसलाई हेक्का राख्न नसक्नु पनि दुःखपूर्ण पक्ष हो।
त्रिभुवन विश्वविद्यालयजस्तो सरस्वतीको पवित्र मन्दिरमा विद्वान प्राध्यापकहरूमाथि विश्वविद्यालयको चर्को शोषण र दमन छ। विश्वविद्यालयमा प्राध्यापन क्षेत्रमा प्रवेश गराउँदा कक्षाभार पुर्याएर, सेवा निवृत्त भएका प्राध्यापकहरूका रिक्त दरबन्दीमा र नयाँ दरबन्दी सिर्जना गरेर भए पनि कार्यरत आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्त गर्न त्रिविले अविलम्ब पहल सुरु गर्नुपर्ने देखिन्छ।
आन्दोलनरत आंशिक प्राध्यापकहरूले पनि मेरा गोरुको बाह्र टक्का नगरी त्रिभुवन विश्वविद्यालयसित आफ्ना मागहरूप्रति लचिलो बन्न सक्नुपर्दछ भने त्रिभुवन विश्वविद्यालयले पनि आन्दोलनरत आंशिक प्राध्यापकहरूसित वार्ता गरेर समस्याको समाधान गरी यो समस्या बारम्बार नउठ्ने गरी समाधान गर्नेतर्फ पहलकदमी गर्न अब ढिलो गर्न नहुने देखिन्छ। नत्र यसको परिणाम निकै घातक हुन बेर नलाग्ने देखिन्छ। त्र